बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले पदभार ग्रहण गरेका छन्। सोमबार मध्यान्ह उपमहानगरको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै पाण्डेले बुटवल क्षेत्रमा रहेका सुकुम्बासीहरू तथा अव्यवस्थित बसोबास गरेकाहरूलाई बसोबासका आधारमा निस्सा उपलब्ध गराउने र नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
त्यस्तै उपमेयर सावित्रा अर्यालले उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णयमा हस्ताक्षर गरेकी छन्। सेवा प्रदायक तथा बिक्रेताको नियमन अनुगमन गरी आम उपभोक्ताको हित प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णयमा उल्लेख छ।
पदभार ग्रहण अघि विहान भैरहवामा जिल्ला न्यायाधीश समक्ष सपथ लिएर आएपछि नगरपालिका कार्यालय परिसरमा जनप्रतिनिधिहरूलाई सपथग्रहण गराएका थिए।
सपथग्रहण समारोहमा बोल्दै नवनिर्वाचित मेयर पाण्डेले सुकुम्बासी समस्या, बुटवलको सडक, पहिरो लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
भोलिको सबल आर्थिक केन्द्र बन्न लागेको बुटवललाई सबै पक्ष र विज्ञसँगको छलफल गरि काम गर्ने उल्लेख गरे।
Shares
प्रतिक्रिया