ad ad

राजनीति


ताप्लेजुङका लिम्बुलाई महाकाली पारी मेयरको जिम्मा

यस्ता छन् दोधारा चाँदनीका मेयर किशोरकुमार लिम्बुका योजना
ताप्लेजुङका लिम्बुलाई महाकाली पारी मेयरको जिम्मा

गोकुल जोशी
जेठ ११, २०७९ बुधबार ९:५६, महेन्द्रनगर

महाकाली पारीको नेपाली बस्ती हो, दोधारा चाँदनी। पूर्वबाट महाकाली र पश्चिमबाट जोगबुढा नदीले घेरिएको यो भूभाग काली पारीको टापुका रुपमा चिनिन्छ।

तत्काली दोधारा र चाँदनी गाविस समेटिएर बनेको दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा आएका छन्– किशोरकुमार लिम्बु।

नेपालमा लिम्बु समुदायको मुख्य थातथलो पूर्वी नेपाल र त्यसपछि काठमाडौं उपत्यकालाई मानिन्छ। मधेस प्रदेशमा पनि लिम्बु जातिको बसोबास छ। मध्य नेपालतिर यो समुदायका मानिसहरुको फाट्टफुट्ट बसोबास छ। नेपाल बाहिर भारतको सिक्किम, दार्जीलिङ, असाम र मणिपुरतिर लिम्बु जातिको उल्लेख्य बसोबास पाइन्छ। तर, नेपालको सुदूरपश्चिममा महाकाली पारि यसपटक लिम्बु समुदायको व्यक्ति मेयर पदमा निर्वाचित हुनु एउटा रोचक एवं सुखद परिघटना हो।   

५७ वर्षीय किशोरकुमार लिम्बु दोस्रो प्रयासमा दोधारा चाँदनीको मेयरमा निर्वाचित भएका हुन्। उनी ०७४ मा पनि चुनाव लडेका थिए तर हारे।

ताप्लेजुङदेखि महाकाली पारीसम्म
किशोरका बुवा भारतीय सेनामा जागिरे थिए। उनका तीन दाजुभाइ बुवाको ब्यारेक भारतको देहरादुनमै जन्मिए। विसं २०२८ सालमा जन्मिएका लिम्बु ०३२ सालदेखि दोधारा चाँदनीमा बसोबास गरिरहेका छन्।

उनका आमाबुवा दोधारा चाँदनी छोडेर बीचमा ताप्लेजुङ गए।

केही समयअघि बुवा गुमाएका किशोर सानैदेखि दोधारा चाँदनीमै हुर्के, यहीँ पढे। उनकी आमा भने अहिले ताप्लेजुङ (पहाड घर) बाट बसाइ सरेर झापामा बस्दै आएकी छन्। 

बुबाआमा दोधारा चाँदनी छोडेर गए पनि किशोर भने यहीँ जम्न थाले। उनले दोधारा चाँदनीबाटै विवाह पनि गरे। किशोर यही क्षेत्रबाट राजनीतिमा सक्रिय हुन थाले।

उनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिका यात्रा सुरु गरेका थिए। विसं २०४६ सालमा भानु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका लिम्बु त्यस पछि उच्च शिक्षाका लागि काठमाडौँ गए।

सरस्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्दादेखि नै उनी नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध भइसकेका थिए। उनी २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि सहभागी भए।

काठमाडौँमा स्नातकसम्मको अध्ययन पश्चात् उनले दोधारा चाँदनी आएर विद्यालय खोले। सँगै एमालेको राजनीतिमा झनै सक्रिय भए।

यसबीचमा उनको अध्ययनमा अवरोध आयो। केही वर्षपछि महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसबाट एक वर्षे बीएड गरे। उनले अंग्रेजीबाट एमएसम्मको अध्ययन गरेका छन्।

विसं। २०६१ सालमा एमालेको संगठिन सदस्य बनेका उनी गाउँ कमिटी अध्यक्ष हुँदै नगर कमिटी अध्यक्षसम्म भएका छन्। उनै लिम्बु अहिले दोधारा चाँदनी हाँक्ने ठाउँमा पुगेका छन्।

मेयर किशोरका सपना
दोधारा चाँदनीको प्रमुख समस्याको रुपमा रहेको नदी कटान र डुबानको समस्याको दीर्घकालीन समाधान र खुला सीमालाई व्यवस्थित गर्ने योजना रहेको मेयर लिम्बु बताउँछन्।

‘महाकाली र जोगबुढामा गरिएको पुरानो तटबन्ध जीर्ण भैसकेको छ। नदी कटान, बाढी र डुबानबाट दोधारा चाँदनीलाई जोगाउनु छ’ उनले भने, ‘भूमि जोगाउन सक्यो भने अरु विकास विस्तारै हुँदै जान्छ।’

संघीय सरकारसँग समन्वय गरेर बलियो तटबन्ध निर्माण गरेर महाकाली र जोगबुढा नदीले वर्षेनी दिने दुख हटाउने प्रमुख प्राथमिकता रहेको उनले सुनाए।

खुला सीमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरलाई नियन्त्रण गर्ने योजना पनि रहेको लिम्बु बताउँछन्।

‘दोधारा चाँदनीको अधिकांश भाग भारतसँग जोडिएको छ। ठाउँ–ठाउँमा सीमा विवाद पनि छ,’ उनले भने, ‘सीमा नाकालाई व्यवस्थित गर्नका लागि केन्द्र सरकार र प्रदेश सरकारसँग पहल गर्ने छौं।’

नदीको कटान, डुबान, बाढीको समस्या समाधानका साथै र खुला नाकालाई व्यवस्थित गर्ने विषय प्राथमिकतामा रहेको उनको भनाइ छ।

पिछडिएको दोधारा चाँदनीमा पर्यटन प्रवद्र्धन गरेर देशकै नमूना पर्यटकीय नगरी बनाउने योजना रहेको लिम्बुले सुनाए।

‘थुप्रै पर्यटकीय स्थलहरु छन्, तर प्रचार प्रसार हुन सकेको छैन,’ उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने योजना छ।’

नगरस्तरीय पुस्तकालय निर्माण, सूचना केन्द्र निर्माण गरी नगरवासीलाई सूचना प्रवाह गर्ने, आत्महत्याका घटना बढी रहेकाले रोकथामका लागि परामर्श केन्द्र निर्माण गर्ने लिम्बुको सोच छ।

छाडा चौपाया व्यवस्थापन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, प्रत्येक वडामा रहेका खेल मैदानको स्तरोन्नती, नगर स्तरीय खेल मैदान निर्माण, खेलाडी उत्पादन गर्ने उनको भनाई छ।

सुख्खा बन्दरगाह निर्माणका लागि संघ सरकारसंग पहल गर्ने उनको भनाइ छ।  ‘सुख्खा बन्दरगाह निर्माणमा पहल गर्छौँ,’ उनले भने, ‘त्यो चाडै निर्माण गरी युवालाई रोजगारी दिन्छौँ।’

युवालाई कृषिमा लगाएर आत्मनिर्भर बनाउने उनको सोच छ। ‘कृषिमा लगानी बढाउँछौँ, बिना व्याज ऋण दिन्छौँ,’ उनले भने, ‘कृषिमा लाग्नेलाई अनुदान समेत दिन्छौँ।’

आफ्नो ५ वर्षे कार्यकालमा उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै नगरको आयआर्जन वृद्धि गरेर दोधारा चाँदनीलाई समृद्ध बनाउने नगरप्रमुख लिम्बुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .