नेकपा माओवादी केन्द्रले स्थानीय तहमा माओेवादी मोडल बनाउने उदेश्यसहित निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ।
बुधबार उद्घाटन भएको कार्यक्रममा राजनीतिक र प्राविधिक विषयमा प्रशिक्षण दिइएको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले जानकारी दिए।
‘माओवादी मोडलको स्थानीय तह बनाउनुपर्छ भनेर राजनीतिक र प्राविधिक प्रशिक्षण दिइएको हो,’ पौडेलले प्रचण्डको भनाइ उधृत गर्दै नेपालखबरसँग भने, ‘अध्यक्षले हामीले नयाँ, छुट्टै र जनतासँग जोडिने गरी काम गर्नुपर्छ, त्यो भनेको माओवादी मोडल हो भन्नुभयो।’
अघिल्लो पटक माओवादीबाट निर्वाचित तीन जना जनप्रतिनिधिले उत्कृष्ट काम गरेको भन्दै प्रचण्डले अहिले जित्ने १ सय २२ जना नै उत्कृष्ट ठहरिनुपर्ने बताएका थिए।
‘मैले तपाईंहरुलाई भन्नैपर्छ, १ सय २२ तह जित्ने सबै जनप्रतिनिधिको प्रयत्न भनेको आफ्नै पहिचान बनाउने हुनुपर्छ, माओवादीहरुले जनताकै सेवा गर्छन्, विकास निर्माण र संविधान कार्यान्वयन गर्छन् भनेर देखाउनुपर्छ,’ प्रचण्डले प्रशिक्षणमा भने, ‘अहिले पहिचानको संकट पर्न थालेको छ। यसको अन्त्य गरेर जनतातर्फ फर्किनु पर्छ। हाम्रो ध्यान जनता, जनता र जनता हुनुपर्छ।’
प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक र समसायिक विषय राखेको गोरखाको सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए।
‘साना तर, जनताको मन छुने काम गर्नुपर्छ, चर्चामा आएर लोकप्रियता कमाउने दौडमा होइन, तल्लो तहका जनताले अनुभव गर्ने कार्यक्रम बनाउनुहोला, शिक्षा, स्वास्थ्य, विकास, शिक्षामा गर्न सकिने परिवर्तनको कार्यक्रम बनाउनुहोला,’ नेताहरुको सम्बोधनको सार उधृत गर्दै थापा मगरले भने, ‘नीति र कार्यक्रम तथा बजेट बनाउँदा त्यही अनुसार गर्नुहोला।’
प्रशिक्षण तालिमबाट नयाँ पालिका प्रमुख, उपप्रमुखलाई कार्यसञ्चालन गर्न सहज भएको थापाले विश्वास लिए।
‘अत्यन्त उपयोगी भयो यो प्रशिक्षण, अन्यौलमा रहेका साथीहरुले पालिका चलाउने, कानुनी जटिलता, कार्यक्रम बनाउँदा ख्याल गर्नुपर्ने कुरा जान्न पाएका छन्,’ थापाले थपे।
बुधबार सुरु भएको प्रशिक्षण बिहीबारसम्म चल्नेछ। बुधबार राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटा, कानुनविद मुक्तिनारायण श्रेष्ठ, सूचना प्रविधिमा शैलेन्द्र गिरी, सुशासन र प्रशासन सञ्चालनबारे लीलामणि पौडेलले प्रशिक्षण दिएका थिए।
माओवादी केन्द्रले स्थानीय सरकार सञ्चालनको लागि कार्यक्रम पनि बनाएर पठाउने भएको छ।
‘कुन विषयमा कसरी केन्द्रित हुने, कार्यक्रम कसरी बनाउने, कुन कार्यक्रमले जनतालाई प्रत्यक्ष फाइदा पुग्छ, कस्ता कार्यक्रम दीर्घकालीन हुन्छन् ती सबै कार्यक्रम बनाएर कार्यालयले पठाउनेछ,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने।
समाजवादी अर्थतन्त्र, राजनीतिक अर्थतन्त्र, कानुन निर्माणका विषयमा बढी ध्यान दिने माओवादीको जोड छ।
केन्द्रीय तहमा रहेका नेताहरु र विषय विज्ञलाई सम्पर्कमा राख्न पनि माओवादी केन्द्रले आफ्ना जनप्रतिनिधिलाई भनेको छ।
प्रशिक्षणमा माओवादीले जितेका १ सय २२ स्थानीय तहका प्रमुख र १ सय ३० उपप्रमुखहरु सहभागी छन्।
‘पार्टीको कमान्डमा पालिका चलाउने, पार्टीका नीति र कार्यक्रम कार्यान्वयन गराउने, नेताहरुबीच दुरी नहोस् भन्न तालिम सञ्चालन भएको हो,’ जितपुर सिमराका प्रमुख पौडेलले भने, ‘मुख्य कुरा त पार्टीको कमान्डमा स्थानीय तहका जनप्रतिनिधि हुनुपर्यो भन्ने हो।’
स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई सरकार सञ्चालनको तालिम दिने माओवादी पहिलो पार्टी हो।
Shares
प्रतिक्रिया