स्थानीय तह निर्वाचनमा दार्चुलाका स्थानीय तहको प्रमुखमा ‘क्लिन स्वीप’ भएको नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) को प्रमुख जितेको छ।
जिसस प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दार्चुलामा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। जिससमा एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनले बाजी मारेको हो।
खुला सदस्यमा गठबन्धनका खडक सिंह धामी, पुस्कर सिंह धामी र बलदेव सिंह ठगुन्ना विजयी भएका छन्। यस्तै, महिला सदस्यमा सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा तथा दलित सदस्यमा कमला सुनार विजयी भइन्।
९ स्थानीय तह रहेको दार्चुलामा सत्तारुढ गठबन्धनसँग १० मत थियो भने नेकपा एमालेसँग ८ मत थियो।
दार्चुलामा नेकपा एमालेले २ नगरपालिकामा प्रमुख उपप्रमुख दुवै, ३ मा प्रमुख मात्रै र १ मा उपप्रमुख जितेको थियो।
यस्तै, कांग्रेससँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले भागबण्डामा पाएका ४ पालिकामा प्रमुख र २ पालिकामा उपाध्यक्ष जितेको थियो।
नेपाली कांग्रेसले भने भागबण्डामा पाएका कुनै पनि पालिका प्रमुखमा जित्न सकेको थिएन। दार्चुलाका पालिकामा प्रमुखविहीन रहेको कांग्रेसले ४ पालिकाको उपप्रमुख मात्रै जितेको थियो।
Shares
प्रतिक्रिया