ad ad

राजनीति


देशको गिर्दो आर्थिक अवस्थाबारे शेखर कोइराला र विज्ञहरुबीच संवाद

आर्थिक अनुशासन उल्लंघन गर्नेमाथि कारवाही हुनुपर्ने धारणा
देशको गिर्दो आर्थिक अवस्थाबारे शेखर कोइराला र विज्ञहरुबीच संवाद

नेपालखबर
असार १३, २०७९ सोमबार १३:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे विज्ञहरुसँग छलफल गरेका छन्। 

सोमबार बिहान होटल मल्लमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्व मुख्य सचिव, विश्लेषक र व्यवसायीसँग पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल गरेका हुन्। 

छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, पूर्व मुख्य सचिव डा. विमल कोइराला, विश्लेषकहरू अच्युत वाग्ले, पुरञ्जन आचार्य र व्यवसायी नरेश श्रेष्ठ सहभागी थिए। 

छलफलमा सहभागीहरुले सत्ताको नेतृत्व गरिरहेका कांग्रेसका नेताहरुलाई पार्टीभन्दा पनि देशप्रति गम्भीर भइदिन आग्रह गरेका छन्। 

‘कांग्रेसका नेताहरु पार्टीभन्दा देशप्रति संवेदनशील भइदिनुस्। गठबन्धनको मात्र कुरा नगर्नुस्,’ बैठकमा सहभागीले राखेको कुरा उद्धृत गर्दै डा. पोखरेलले भने, ‘आर्थिक क्षेत्रमा गिर्दो अवस्थाको सिनारियो लिएर के एजेन्डा बोकेर चुनावमा जानुहुन्छ?’ 

आगामी निर्वाचन जित्नु मात्रै ठूलो कुरा नभएर पार्टी बचाउनका लागि आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्ति परिवर्तन गर्नु पर्नेमा उनीहरुको जोड थियो। 

‘जित्ने ठूलो कुरा होइन। पार्टी बचाउन न्यूनतम आर्थिक अनुशासन कायम भएको छैन। यसले केही व्यक्ति, व्यापारीलाई फाइदा होला, नेपाली कांग्रेसलाई हुँदैन,’ उनले भने, ‘आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्ति परिवर्तन गर्नु पर्नेमा सुझाव छलफलमा आयो।’

जवाफमा नेता डा. कोइरालाले छलफलमा आएका सुझावबारे केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेर बहस चलाउने प्रतिक्रिया दिएको डा. पोखरेलले जानकारी दिए। 

‘छलफलमा आएका सुझावहरु आगामी दिनमा केन्द्रीय समिति, कार्यसम्पादन समिति, विज्ञसमक्ष राखेर छलफल, बहस चलाउँछौँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनले भने, ‘सिरियस भएर जान माहोल सिर्जना गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .