नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अबका कुनै पनि प्रधानमन्त्रीले खड्गप्रसाद ओलीको बाटो हिँड्न नसक्ने बताएका छन्।
‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयमा ललितपुरको जावलाखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सोमबार दिउँसो बोल्दै खनालले यस्तो बताएका हुन्।
‘अब कुनै प्रधानमन्त्री पनि खड्ग प्रसाद ओलीको बाटो हिँड्न सक्दैन। हामीले संविधान बचायौँ,’ उनले भने, ‘कम्युनिस्ट सरकारले पनि नयाँ उद्योग खोल्न सकेन, उद्योग निजीकरण गरिदियौँ, राजा महेन्द्रको पालामा जति पनि गर्न सकेनौँ, के हुन् त हाम्रा राष्ट्रिय उद्योग? राष्ट्रिय उद्योग कल्पना गर्न सकेनौँ, बनाउन त परै जाओस्।’
समाजवादका लागि मिलेर जाने खण्डमा फरक विचारको कांग्रेसलाई पनि स्वागत गर्न सकिने उनले बताए।
‘कहिलेसम्म त कांग्रेस पनि समाजवादकै लागि मिलेर जाने हो भने त स्वगत छौँ,’ उनले भने, ‘नत्र जो जो तयार छौँ मिलेर जानुपर्यो। समाजवाद युगले मागेको हो।’
गठबन्धन सरकार बनेदेखि नै राष्ट्रियता समस्यामा परेको उनले बताए। ‘गठबन्धन सरकार बनेदेखि राष्ट्रियता समस्यामा पर्यो,’ उनले भने, ‘राजदूत नियुक्ति, फटाफट प्रधानमन्त्रीले तीनवटा देशको गर्नु भयो तर चीनको त छैन भारत र चीनको बीचमा हामी छौँ,’
युक्रेन घटनाबारे गठबन्धनमा छलफल नभएको भन्दै उनले आपत्ति जनाए। ‘गठबन्धनतिर छलफल छैन, हामी पछुवामात्र भयौँ, वक्तब्य कसरी दिने, संयुक्त सरकारमा छलफल भएन,’ खनालले भने, ‘अमेरिकीले युक्रेन घटनामा भोट हाल्न लगायो दनादन भोट हाल्यौँ।’
Shares
प्रतिक्रिया