चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले बिहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडिओ वार्ता गरेका छन्।
बीआरआईअन्तर्गतका परियोजनाको कार्यान्वयन अघि बढाउन चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन सम्झौतामा अरुचि देखाएका मन्त्री खड्कासँग चिनियाँ नेताले बीआरआईका सम्बन्धमा विगतका प्रतिबद्धता स्मरण गराउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गत चैत दोश्रो साता नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर होस् भन्ने चीनले चाहे पनि परराष्ट्रमन्त्री खड्का त्यसमा अघि बढ्न नचाहेको जानकार अधिकारीहरु बताउँछन्।
मन्त्री खड्काले बीआरआई कार्यान्वयन सम्झौता नेपाल सरकारले अध्ययन गरिरहेको त्यससम्बन्धमा भ्रमणमा हस्ताक्षर गर्न नसकिने जवाफ चिनियाँ विदेश मन्त्री नेपाल आउनुअघि नै चिनियाँ पक्षलाई दिएका थिए।
वाङको भ्रमणपछि जारी वक्तव्यमा समेत परराष्ट्रमन्त्रालयले बीआरआई अन्तर्गत नेपालले प्रस्ताव गरेका ९ परियोजनाको कुरा उल्लेख गरेन।
त्यसबाट देउवा सरकारले बीआरआई अन्तर्गत प्रस्तावित रेल तथा सडक परियोजना अघि बढाउन नचाहेको आशंका गरिएको थियो।
चिनियाँ विदेशमन्त्री वाङसँग भएको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले चीनबाट नेपालले पूर्वाधार विकासमा अनुदान सहयोग खोजेको बताएका थिए। देउवाले चीनबाट बीआरआई अन्तर्गत ऋणमा परियोजना बनाउने पक्षमा नेपाल नरहेको सन्देश दिएका थिए।
नेपालले सन् २०१७ मे महिनामा बीआरआईमा आबद्ध हुन सहकार्य सम्झौतामा हस्ताक्षर गरेपनि अहिलेसम्म त्यसअन्तर्गत एउटा पनि परियोजना अघि बढाएको छैन।
अर्कोतिर देउवा सरकार बनेयता नेपालमा चीनविरोधी गतिविधि हुनसक्ने भन्दै चीनले शंकाको दृष्टिले हेर्दै आएको छ।
संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीपी) संगको सम्झौता पास भएसँगै अमेरिकाबाट निरन्तर भइरहेका भ्रमण, अमेरिकाद्वारा प्रस्ताव भई हाल रोकिएको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) सम्बन्धी सैन्य सम्झौता, युक्रेन संकटमा नेपालले लिएको पोजिसन र प्रधानमन्त्री देउवाको प्रस्तावित अमेरिका भ्रमण लगायतका कारणले चीन सशंकित बनेको टिप्पणी भइरहेको छ।
सत्ताको नेतृत्व गरेको कांग्रेससँग असन्तुष्ट रहेको चीन कम्युनिस्ट पार्टीसँग भने नियमित सम्पर्कमा देखिन्छ।
सत्तारुढ घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेसँग एक साताअघि भएको संवादमा पनि चिनियाँ नेताको जोड बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमै थियो।
माओवादी केन्द्र र एमालेका शीर्ष नेताले बीआरआई अन्तर्गत परियोजना अघि बढाउने प्रतिबद्धता जनाए पनि बिहीबार भएको कुराकानीमा कांग्रेस नेता समेत रहेका परराष्ट्रमन्त्री खड्का त्यसबारे फेरि पनि मौन देखिएका छन्।
उक्त भिडिओवार्ताबारे परराष्ट्र मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। तर, चिनियाँ कम्युनिस्ट पार्टी विदेश बिभागले आफ्नो वेवसाइटमा भिडियो संवादबारे तस्वीर र विवरण सार्वजनिक गरेको छ।
भिडियो संवादमा सीसीपीका विदेश विभाग प्रमुख लिउले चीन र नेपालबीच ६० वर्षअघि कुटनीतिक सम्बन्ध स्थापना भएयता दुवै पक्षले एक अर्कालाई बुझ्ने र समर्थन गर्दै आएको बताएका थिए।
‘दुई छिमेकीबीच समान व्यवहार, मैत्रीपूर्ण सहकार्य र पारस्परिक लाभ एउटा मोडलका रुपमा रहिआएको छ’ लिउको भनाई उद्घृत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले विवरणमा उल्लेख गरेको छ।
संवादमा चिनियाँ नेता लिउले चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले सन् २०१९ मा गरेको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सहकार्यका लागि नयाँ पाना खोलेको बताएका थिए।
त्यसक्रममा उनले चीनले नेपाली कांग्रेस लगायत सबै दलसँग अन्तरर्क्रिया बढाउन चाहेको बताएका थिए।
संसदीय चुनाव नजिकिँदै गर्दा नेपालका कम्युनिस्ट पार्टीलाई एकजुट पार्न चीनले भूमिका खेलेको टिप्पणी भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका नेताले कांग्रेस नेता समेत रहेका खड्कासँगको संवादले सबै दलसँग सम्बन्ध राख्ने पक्षमा चीन रहेको बताएका हुन्।
कुराकानीमा चिनियाँ नेताले चीन र नेपाल मन मिल्ने साथी, साझा विकासका लागि असल साझेदार, असल भाइभाइ र एकअर्काको सुख दुःखमा साथ दिने असल मित्र रहेको समेत बताए।
उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि सहकार्य आवश्यक रहेको जोड दिए।
उनले सीपीसीको यही वर्षको अन्त्यमा हुने २० औं राष्ट्रिय कंग्रेस चीन र चिनियाँ जनताका लागि बिशेष महत्वको रहेको उनले बताए।
सीपीसीको २० औं राष्ट्रिय कंग्रेसबाट नेपालसहित समग्र विश्वमा महत्वपूर्ण र सकारात्मक असर पर्ने बताएको त्यस पार्टीको वेबसाइटमा उल्लेख छ।
त्यसअवसरमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको एकसय वर्षगाँठ मनाएकोमा बधाई दिँदै पार्टीको गौरवमय इतिहासको प्रशंशा गरेको सिपीसिको वेबसाइटमा उल्लेख छ।
मन्त्री खड्काले नेपालको आर्थिक तथा सामाजिक विकासका अलावा कोरोना महामारीमा चीनले दिएको सहयोगका लागि धन्यवाद दिएका थिए।
त्यसक्रममा मन्त्री खड्काले चीनसँगको मित्रता सुदृढ गर्नुपर्नेमा कांग्रेस पार्टी प्रतिबद्ध रहेको बताएका थिए। उनले मुलुकको एक चीन नीति प्रति प्रतिबद्धता जनाउँदै स्वतन्त्र विदेश नीतिमा सरकार अडिग रहेको बताएका थिए।
त्यसैगरी कुनै पनि शक्तिलाई नेपालमार्फत चीन बिरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता उनले ब्यक्त गरेको सीपीसीको वेबसाइटमा उल्लेख छ।
कांग्रेसले सीपीसीसँगको संस्थागत अन्तरक्रिया सुदृढ गर्न चाहेको मन्त्री खड्काले बताएका थिए। खड्काले चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान आफ्नो पार्टीले चाहेको बताएका थिए। मन्त्री खड्काले सीपीसीको २० औँ राष्ट्रिय कांग्रेसको पूर्ण सफलताको कामना गरेका थिए।
825
Shares
प्रतिक्रिया