प्रधानसेनापतिले संयुक्त राष्टसंघको मुख्यालयको भ्रमण गरेका छन्।
अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमण गरेका छन्।
भ्रमणका क्रममा प्रधान सेनापति शर्माले राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गरेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुशार प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघका सैन्य सल्लाहकार जनरल बिराम दिओप तथा राष्ट्रसंघीय उप—महासचित्रय जँ पियर्रे ल्याक्रोइक्स, अतुल खरे र रोजम्यारी डिकार्लोसंग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्ध तथा राष्ट्रसंघीय शान्ति मिसनको विविध पक्षको बारेमा छलफल तथा विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भेटवार्तामा राष्ट्रसंघीय अधिकारीहरुले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाले पुर्याउँदै आएको योगदानको सराहना गरेका थिए। नेपाल अहिले शान्ति मिसनमा योगदान पुर्याउने विश्वका मुलुकमध्ये अग्रपंक्तिमा छ।
प्रधानसेनापति शर्माले राष्ट्रसंघीय शान्ति मिसनका उच्च पदमा नेपाली सेनाको प्रतिनिधित्वबारे समेत भेटवार्तामा कुराकानी गरेको बताइएको छ। नेपाली सेनाका तर्फबाट फौजीमा संख्या धेरै भएपनि शान्ति मिसनका नेतृत्वदायी पदमा खासै प्रतिनिधित्व छैन।
नेपाली सेना र सरकारले कुटनीतिक तहमा लामो समयदेखि शान्ति मिसनका नेतृत्वदायी पदमा नेपालको प्रतिनिधीत्व बढाउन लविङ् गर्दै आएका छन्।
यसअघि प्रधानसेनापति शर्माले अमेरिकाका सैन्य अधिकारीहरुसँग भेटवार्ता गरेका थिए। रक्षा मन्त्रालय पेन्टागनमा भएका भेटवार्तामा नेपाल-अमेरिका सैन्य सहकार्यबारे छलफल भएको थियो। सरकारले अमेरिकी सेनाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने र
त्यसबन्धि सैन्य सम्झौता अघि नबढाउने निर्णय गरेको एकसातापछि प्रधानसेनापति शर्माको अमेरिकी सैनिक अधिकारीहरुसँग कुराकानी भएको हो।
अमेरिका जानुअघि प्रधानसेनापति शर्माले आफ्नो भ्रमणमा कुनै पनि सैन्य सम्झौता नहुने बताएका थिए। उनले अमेरिकाको सैन्य गठबन्बधनमा सहभागी नहुने समेत स्पष्ट पारेका थिए।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै शर्माले नेपाल सेनाले अमेरिकी सैन्य रणनीति इन्डो प्यासाफिक स्ट्रयाटिजी अन्तर्गत कुनै सहकार्य नगर्ने बताएका थिए।
अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति शर्मा तथा भ्रमणदलका सदस्यहरु, भ्रमण सम्पन्न गरी मिति २०७९ असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
नेपाली सेनाले विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुने बताएको छ।
‘राष्ट्रसंघीय मिसनहरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सवल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’ सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ।
Shares
प्रतिक्रिया