गत स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी जसपाले महोत्तरीका प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निकालेको छ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद यादवलाई पार्टीबाट जसपाले निष्काशन गरेको हो।
आइतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले बताएका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै सांसद यादवसँगै संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको जनाएका छन्।
यादव महोत्तरी क्षेत्र नं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी २०६४ को संविधानसभा सदस्य समेत हुन्।
यता सांसद यादवले आफूलाई एकाएक निष्काशन गरेको विषयमा समाजिक सञ्जालबाटै जानकारी भएको बताए। कहिल्यै कुनै स्पष्टीकरण समेत नसोधी आफूलाई केही नेताहरुले पूर्वाग्रही हिसाबले पहिलादेखि नै पार्टीबाट निष्काशन गर्न खोजेकोले यसलाई स्वभाविक रुपमा लिएको उनको भनाइ छ।
उनले आफ्नो राजनीतिक यात्रा जारी रहने र अब कसरी अघि बढ्ने विषयमा चाँडै निर्णय लिने उनले बताए।
Shares
प्रतिक्रिया