नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओलाई स्वागत गर्न नेपालका तीनवटै ठूला दलका प्रतिनिधि विमानस्थल पुगे।
चिनियाँ नेताको स्वागतमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई उपस्थित थिए।
प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट विदेश विभाग प्रमुख डा. राजन भट्टराई स्वागतमा गएका थिए भने सत्ताको अर्को घटक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम कार्की उपस्थित थिए।
प्रमुख दलका नेताका अलावा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल (उपसचिव तहका कर्मचारी) रेवतीरमण पौडेल र काठमाडौँस्थित चिनियाँ दूतावासका प्रतिनिधि पनि चिनियाँ नेताको स्वागतमा सहभागी भए।
उत्तरी छिमेकी चीनका मन्त्री तहका नेताको स्वागतमा नेपालका तीनवटै ठूला दलका प्रतिनिधि विमानस्थल गएका हुन्।
६ सदस्यीय टोलीको नेतृत्व गरी यहाँ आएका चिनियाँ नेतालाई कांग्रेस केन्द्रीय सदस्य समेत रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आइतबार (२६ असार) होटल मेरियटमा रात्रीभोज दिँदैछन्।
देउवाका पूर्व विदेश मामिला सल्लाहकार डा. भट्टराईका भनाइमा, परराष्ट्रमन्त्रीका रुपमा नभई खड्काले पार्टीको केन्द्रीय समितिका तर्फबाट रात्रीभोज दिन लागेका हुन्।
चिनियाँ नेताले आफ्नो औपचारिक भेटघाट परराष्ट्रमन्त्री खड्काबाट थाले। उनले आइतबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटिसकेका छन्।
आइतबार कांग्रेस नेतासँग मात्र भेटेका चिनियाँ नेताले सोमबार (२७ असार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र मंगलबार (२८ असार) एमाले अध्यक्ष केपी ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेट्दैछन्।
भ्रमणको अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी जियान्चाओ स्वदेश फर्कने कार्यक्रम छ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भएका पछिल्ला अन्तक्र्रिया हेर्दा उसले नेपाली कांग्रेस र दुई ठूला वाम दलसँग समान सम्बन्ध राख्न चाहेको सन्देश दिइरहेको छ।
जियान्चाओले ९ असार (०७९) मा प्रचण्ड र १० असारमा ओलीसँग भिडियो संवाद गरेका थिए। वाम दलसँगको भिडियो कुराकानीपछि यी चिनियाँ नेताले कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडियो संवाद गरे।
खड्कासँगको कुराकानीमा चिनियाँ नेता लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै दलसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताएका थिए।
गत चैत दोश्रो साता नेपाल आएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि सत्तारुढ कांग्रेस–माओवादी तथा प्रमुख प्रतिपक्षी एमालेसँग भेटवार्ता गरेका थिए। परराष्ट्रमन्त्री वाङले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका थिए।
विगतमा चिनियाँ कम्युनिस्ट पार्टीले विचार र सिद्धान्तका दृष्टिले नजिक रहेका नेपालका कम्युनिस्ट पार्टीसँग मात्रै सम्बन्ध राख्न खोजेको टिप्पणी नेपालमा हुने गरेको थियो। यद्यपि कांग्रेसको चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध वीपी कोइरालाकै पालादेखि विकसित हुँदै आएको हो।
नेपाल भ्रमणका बेला अधिकांश चिनियाँ नेता र उच्च अधिकारीहरुले बीपीले कांग्रेस र चीनबीच सम्बन्धको आधार खडा गरेको स्मरण गराउँदै आएका छन्।
अर्कोतिर भारत र अमेरिकासँग सिद्धान्त र विचारका आधारमा बढी निकट रहेकाले कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टीसँग सघन सम्बन्ध राख्न नचाहेको टिप्पणी वाम वृत्तबाट हुने गरेको छ।
तथापि चीन र नेपालका दलबीच औपचारिक सम्बन्ध स्थापना भएयता चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध नेपालका कांग्रेस र वामपन्थी दुवैसँग रहँदै आएको छ।
नेपालका ठूला वामपन्थी दलमध्येका एमाले र माओवादीबीच २०७४ को संसदीय चुनावमा गठबन्धनमार्फत झण्डै दुईतिहाइ बहुमत हासिल गरेपछि चीनले कांग्रेसलाई भन्दा बढी यी दुई पार्टीलाई महत्व दिएको आरोप थियो।
त्यहीकारण उनीहरुसँग सम्बन्ध बढाएको टिप्पणी नेपालमा सुनिन थाल्यो। यी दुई पार्टीबीच २०७५ जेठमा एकिकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि चीनले अधिक महत्व दिएको ठानियो।
त्यसबीचमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सी चिनफिङ विचारधाराबारे नेपालमा संयुक्त गोष्ठी आयोजनाका साथै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भ्रमण आदान–प्रदान बाक्लिएपछि नेपालमा यस्तो धारणा अझ प्रबल बन्न पुग्यो।
तथापि नेकपाको सरकारका पालामा चीनका तर्फबाट नेपालमा भएका सानाठूला भेटवार्तामा कांग्रेससँग अन्तरक्रिया नभएको भने होइन।
चिनियाँ राष्ट्रपति सी चिनफिङको २६–२६ असोज (२०७६) मा नेपाल आउँदा उनले विपक्षमा रहेका कांग्रेस सभापति देउवालाई होटल सोल्टीमा भिन्नै भेटघाट गरेका थिए।
Shares
प्रतिक्रिया