चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको धनुषाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ।
सबैलाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो।
चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा काेठा भाडामा लिई अघोषित कार्यालय राखेका थिए।
प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन गरिएको थियो।
नगरपालिकामा हुनुपर्ने महत्त्वपूर्ण कागजात, अभिलेख ठूलो मात्रामा यसै डेरामा राखेको पाइएको छ।
अघोषित कार्यालय खाली गराएर सबै कागजात, फर्निचर, प्रिन्टरलगायत सबै सामान मेयर यादवको निर्देशनमा नगरपालिका कार्यालय लगिएको छ।
संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार भनिए पनि कतिपय पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मिलेर सहरमा अघोषित कार्यालय सञ्चालन गर्ने गरेको पाइएको छ।
मोटो कमिसनको सेटिङ गरेर गोप्य तरिकाबाट कागजात मिलाएर यस्तै अघोषित कार्यालयबाट कामकाजसहित चेक काटेर भुक्तानी दिने गरिन्छ। कार्यालयमा सेवाग्राही पुग्दा कागजात अभिलेखको कारण कर्मचारीले काममा आलटाल गर्ने प्रवृत्ति बढेको छ।
सो परम्परालाई सबैलाका नवनिर्वाचित मेयर यादवले तोडेका हुन्।
जनताको बहुमूल्य महत्त्वपूर्ण कागजात, अभिलेख, फर्निचरजस्ता सार्वजनिक सम्पती नगरपालिका कार्यालयमै हुनुपर्ने भएकाले अघोषित कार्यालय खाली गरेको मेयर यादवले बताए।
सरकारी कागजात अवैध रुपमा बाहिर राख्ने र कार्यालयमा आएका सेवाग्राहीलाई हिजाेआज आउनु भन्दै काम नगरी कर्मचारीले दु:ख दिने गरेकाले अघोषित कार्यालय नगरपालिकामा सारिएको मेयर यादवको भनाइ छ।
Shares
प्रतिक्रिया