ad ad

राजनीति


चिनियाँमूलका अमेरिकी मन्त्री लुले यसरी सुनाए ३० वर्षअघि नेपालमै फस्टाएको प्रेम–कथा (भिडिओ)

तराईको गर्मी सम्झिँदै भन्छन् : बसको छतमा बसेर यात्रा गरेका थियौँ
चिनियाँमूलका अमेरिकी मन्त्री लुले यसरी सुनाए ३० वर्षअघि नेपालमै फस्टाएको प्रेम–कथा (भिडिओ)

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १७:५२, काठमाडौँ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबारदेखि नेपाल भ्रमणमा छन्। 

पछिल्लो समय नेपालमा केन्द्रित भइरहेका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन्।

राजनीतिक उद्देश्यसहित नेपाल यात्रामा निस्किएका लुले भेटघाट बढाइरहेका बेला काठमाडौंस्थित अमेरिकी दूतावासले उनको जीवनसँग सम्बन्धित एउटा भिडिओ सार्वजनिक गरेको छ। 

लु नेपालमा व्यस्त रहेका बेला अमेरिकी दूतावासले शुक्रबार उनको भिडिओ सन्देश सार्वजनिक गरेको हो। भिडिओमा लुले नेपालसँगको आफ्नो पुरानो नाता रहेको उल्लेख गरेका छन्। 

आफ्नो वैवाहिक जीवनको शुरुवात नै नेपालबाट भएको उनले उल्लेख गरे छन्। 

‘पब्लिक डिप्लोमेसी’ मा माहिर लुले भिडिओमा प्रेम प्रसंग जोड्दै नेपालप्रति आफ्नो ब्यक्तिगत निकटता देखाउने प्रयत्न गरेका छन्। 

३० वर्षअघि आफू पहिलोपटक नेपाल आएको उल्लेख गरेका उनले त्यही बेला प्रेम पनि बसेको जनाएका छन्। 

‘नमस्ते! नेपाल। म डोनाल्ड लु हुँ। पहिलोपटक सन् १९९३ मा नेपाल आएको थिएँ', उनले भनेका छन्, 'आज म यस क्षेत्रका लागि अमेरिकी सहायक विदेश मन्त्रीका रुपमा यहाँ आएको छु।’

लुले भिडिओमा आफ्नो प्रेम जीवनको सुरुवात पनि नेपाल घुम्दाघुम्दै भएको बताएका छन्। 

‘झन्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परेँ जो आज मेरी श्रीमती छिन्', उनले भनेका छन्, 'हामी विवाहित भएको लगभग २६ वर्ष भयो। हाम्रा दुई सुन्दर केटाकेटी छन्। जसमध्ये दुवैको नाम दक्षिण एसियामा हामीले बिताएका समयबाट प्रेरित छन्-आलिया र किप्लिङ।’

श्रीमतीसँगै आफू भारत हुँदै नेपाल आएको प्रसंग पनि उनले भिडिओमा उल्लेख गरेका छन्। 

‘हामीले दार्जिलिङबाट यात्रा शुरु गरेका थियौँ। मोटर-रिक्सा चढेर बोर्डर पार गरी नेपाल आइपुग्यौँ', उनले प्रेमको सुरुवात त्यो बखत सम्झिँदै भनेका छन्, 'बोर्डरबाट हामी सार्वजनिक बस चढी तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौ आइपुग्यौँ।’

असाध्य गर्मीका कारण बसका छतमा बसेर यात्रा गरेका कुरा छोराछोरीलाई सुनाउँदा संकोच लागेको लुले उल्लेख गरेका छन्। 

‘चितवनमा राष्ट्रिय निकुञ्जभित्र हामी जीप चढेर देख्दै रहरलाग्दो अर्ना खोज्दै घुमेका थियौँ। जनकपुरमा हामी दीपावलीमा पुगेका थियौँ', उनले भनेका छन्, 'उक्त चाड मनाउँदा महिलाहरुले पानीमा दियो बगाउँदै गरेको हेर्दै जनकपुर नजिकको नदी पार गरेको कहिल्यै बिर्सने छैन। त्यो एकदम सुन्दर थियो।’

काठमाडौं आएर पाटनका अद्भूत सम्पदा घुमेको र खाना खाएको आज पनि उनको मानसपटलमा ताजै छ। ‘त्यसबेला विश्वकै सर्वोत्कृष्टमध्ये केही खाना हामीले चाख्यौँ’ उनले भनेका छन्। 

नेपाली खानाका पारखी 
कूटनीतिक भ्रमणका क्रममा नेपाल आएलगत्तै उनी बिहीबार साँझ पनि नेपाली खाना खान निस्किएका रहेछन्। ‘हिजो साँझ मैले गज्जबको शाकाहारी म:मः खाएँ,’ उनले भिडियोमा भनेका छन्। 

शुक्रबार साँझ काठमाडौँमा स्वादिला नेवारी परिकार खाने उनको योजना छ। 

नेपालसँगको लामो सम्बन्धबारे उनले भनेका छन्, ‘नेपाल सधैँ मेरो मुटुनजिक रहने ठाउँ हो। किनकी म पहिलोपटक प्रेममा परेको यहीँ हो’

को हुन् लु? 
अमेरिकी विदेशमन्त्रालयमा लु तेश्रो वरियताका कूटनीतिज्ञमा पर्छन्। पहिलो वरियतामा विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र दोश्रो वरियतामा उपविदेशमन्त्री वेन्डी आर सर्मन छन्। 

लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उच्चतम अधिकारी हुन्। 

अहिले उनले विदेश मन्त्रालयमा रही नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानसहित दक्षिण एसियाली मुलुक तथा मध्य एसियाका कीर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तान मामिला हेर्छन्। 

दक्षिण तथा मध्य एसियाली मुलुकसँगको अमेरिकी विदेशनीति कार्यान्वयनमा उनको भूमिका महत्वपूर्ण हुन्छ। अमेरिकी विदेश मन्त्रालयमा लु दक्षिण एसिया मामिला विज्ञ मानिन्छन्। 

सन् २०२१ को सेप्टेम्बर १३ मा सिनेटले उनको नियुक्ति अनुमोदन गरेको थियो। गत अप्रिलमा राष्ट्रपति बाइडेनले उनलाई सिनेटसमक्ष सहायक विदेशमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए। 

लुसँग अमेरिकी विदेश सेवामा विभिन्न हैसियतमा ३० बर्ष भन्दा बढी समय काम गरेको अनुभव छ। चिनियाँमूलका लु चिनियाँ र हिन्दी भाषा पनि बोल्छन्।

लुले थुप्रै वर्ष भारतमा काम गरेका छन्। सन् १९९६ देखि १९९७ सम्म नयाँ दिल्लीस्थित तत्कालीन अमेरिकी राजदूतको ‘स्पेसल असिस्टेन्ट’का रुपमा काम गरेका लु सन् १९९७ देखि २००० सम्म त्यही दूतावासमा पोलिटिकल अफेयर्स अफिसर थिए। 

उनी सन् २०१० देखि २०१३ सम्म नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका उपप्रमुख थिए। 

सहायक विदेशमन्त्री लु सन् २०१८ देखि २०२१ सम्म कीर्गिस्तानका लागि अमेरिकी राजदूत थिए। 

त्यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानियाका लागि अमेरिकी राजदूत थिए। सन् १९९० मा विदेश सेवा प्रवेश गर्नुअघि उनी पिसकोर भोलिन्टियर थिए। 

अमेरिकाको क्यालिफोर्नियामा जन्मेका सहायक विदेशमन्त्री लु चिनियाँ, हिन्दी, रुसी र उर्दू भाषामा पोख्त छन्। उनका बाबु चिनियाँमूलका हुन्। लुले प्रिन्स्टन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .