ad ad

राजनीति


संसदीय समितिका सदस्यले भेटे बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई

संसदीय समितिका सदस्यले भेटे बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १७:४६, काठमाडौँ

बंगलादेश भ्रमणमा रहेका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेका छन्। 

समितिकी सभापति पवित्रा खरेल निरौला नेतृत्वको आठ सदस्यीय टोलीले शुक्रबार ढाकामा त्यहाँकी प्रधानमन्त्रीसँग भेट गरेको हो। 

भेटवार्तामा नेपाल र बंगलादेशबीच द्विपक्षीय सहकार्य र आर्थिक सम्बन्ध बढाउने विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 

त्यस अवसरमा सांसद खरेलले दुई देशबीचको संसदीय आदानप्रदानलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। 

जलविद्युत, व्यापार र पर्यटन क्षेत्रमा स्थापित संयन्त्रमार्फत सहकार्यलाई तीव्रता दिन सकेको खण्डमा त्यसले दुवै देशलाई फाइदा पुग्ने उनले बताइन्। 

नेपाली सांसदसँगको भेटमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको योगदान र सहयोगको गरिन्। नेपाल र बंगलादेशबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेकोमा उनले सन्तोष व्यक्त गरिन्। 

हसिनाले दुई देशबीच व्यापार, ऊर्जा, पर्यटन, शिक्षा र जनता–जनता सम्पर्कका क्षेत्रमा हाल रहेका सम्भावनाको चर्चा गर्दै बीबीआईएन फ्रेमवर्क अन्तर्गत सहयोगको जोड दिइन्। 

नेपाली संसदीय टोलीले हिजो बिहीबार बंगलादेशको विदेश मामिलासम्बन्धी संसदीय स्थायी समितिसँग संसदीय प्रतिनिधिमण्डलले अन्तरक्रिया गरेको थियो। 

दुवै देशका संसदमा मित्रता समूहको स्थापनालगायत संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया केन्द्रित रहेको दूतावासले जनाएको छ। 

यसअघि नेपाली संसदीय टोलीलाई बंगलादेशका विदेश राज्यमन्त्री शहरयार आलमले रात्रिभोज दिएका थिए। 

प्रतिनिधिमण्डलले बंगलादेशका ‘राष्ट्रपिता’ लाई श्रद्धाञ्जली अर्पण गर्न ढाकास्थित बंगबन्धु मेमोरियल म्युजियमको समेत भ्रमण गरेको छ। 

टोलीमा सांसदहरु डा. चाँदतारा कुमारी, डा. दीपक प्रकाश भट्ट, देवप्रसाद तिमिल्सिना, लीलादेवी सिटौला, नारदमुनि राना, सरला कुमारी यादव र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल सहभागी थिए। संसदीय टोली ३ देखि ६ अगस्टसम्म बंगलादेश भ्रमणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .