दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) स्थापना दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई परास्त गर्न सबै सदस्य राष्ट्रले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
मोदीले ‘एकीकृत दक्षिण एसिया निर्माण गर्न’ सार्क स्थापना भएको उल्लेख गर्दै विविध क्षेत्रमा सहकार्यका लागि भएका पहललाई नयाँ दिल्लीले सघाउने जनाएका छन्।
‘सार्कले प्रगति गरेको छ। तर, अझै धेरै गर्न बाँकी छ। व्यापक सहकार्य गर्ने हाम्रो प्रयासलाई आतंकवादले बारम्बार चुनौती दिँदै आएको छ,’ उनले पाकिस्तानतर्फ संकेत गर्दै भनेका छन्, ‘यस्तो वातावरणले सार्कको पूर्ण सम्भावना हासिल गर्ने हाम्रो साझा उदेश्यमा बाधा पुर्याउँछ। त्यसैले यस क्षेत्रका सबै मुलुकले आतंकवाद र त्यसलाई समर्थन गर्ने शक्तिलाई पराजित गर्न प्रभावकारी कदम चाल्न अत्यन्त महत्वपूर्ण छ। यसले सार्कलाई अझ मजबुत बनाउने आत्मविश्वास र विश्वास पैदा गर्नेछ।'
भारतले अन्तर्राष्ट्रिय मञ्चहरुमा पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ।
पछिल्ला वर्षमा पाकिस्तानसँग एउटै मञ्चमा बस्न भारतले अस्वीकार गरेका कारण सार्क शिखर सम्मेलन समेत हुन सकेको छैन।
प्रतिक्रिया