सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शुक्रबार भेटवार्ता भएको छ।
उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए।
उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा राखे।
सापकोटाले २०७८ चैतमा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद–संसदबीच उच्चस्तरीय भ्रमण एवम् अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने बताए।
नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड-१९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहयोगबारे पनि सापकोटाले धन्यवाद दिए।
उनीहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउनेबारे पनि छलफल भएको छ। तर यसबारेमा सभामुखको सचिवालयले विस्तृत छलफलको विवरण उपलब्ध गराएको छैन।
न्यौपानेले भेटका क्रममा भुकम्पसहितका विपत्ति र कोभिड महामारीका सुचारु हुन नसकेका उत्तरी नाकाको विषयमा पनि छलफल भएको बताएका छन्।
उनले यसबारेमा विस्तृत जानकारी दिन चाहेनन्। 'नाकाको विषयमा कुरा भएको छ', उनले भने, 'विविध कारणले नाकामा देखिएको समस्याबारे दुई पक्षबीच छलफल भएको हो।'
तिब्बतमा कोभिड फैलिएपछि चीनले बुधबारदेखि नेपालसँग जोडिएका रसुवागढी, तातोपानी र हिल्सा नाका सूचना नदिई बन्द गरेको थियो।
२०७२ को भूकम्पका कारण क्षतिग्रस्त तातोपानी नाका लामो समयपछि आंशिक रुपमा खुलेको थियो। तर अहिले चीनले रसुवागढी नाकासमेत बन्द गरेको छ।
चीनले कोरोना नियन्त्रणका लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात् २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरिएको छ।
सभामुख सापकोटा २०७४ को संसदीय निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। चीनसँग जोडिएकामध्ये एक प्रमुख नाका तातोपानी उनकै गृहजिल्ला सिन्धुपाल्चोकमा पर्छ।
नेपालको प्रशंसा
शुक्रबारको भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको प्रशंसा गरिन्।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको उनले बताइन्।
राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाएकी छन्।
Shares
प्रतिक्रिया