तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सर्लाही-१ बाट २०७० को संविधान सभा निर्वाचनमा पराजित भए। खनाल एनेकपा माओवादीका शम्भुलाल श्रेष्ठसँग हारेका थिए।
नेपाली कांग्रेसबाट माओवादीमा प्रवेश गरेर खनालसँग चुनाव लडेका श्रेष्ठले ९ हजार ४७६ मत ल्याउँदा खनालले ८ हजार ७९० मत पाएका थिए।
खनाल इलाम-२ बाट पनि विजयी भएकाले सर्लाहीको पराजयले उनलाई संसदमा प्रवेश गर्न रोकेन।
तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुर गत चुनावमा सर्लाही-६ मा नेपाली कांग्रेसका अमरेश कुमार सिंहसँग हारे।
सिंहले १७ हजार ४ सय मत ल्याउँदा ठाकुरको जम्मा ७ हजार ३२ मत आयो। २०६४ चैत २८ गतेको पहिलो संविधानसभा चुनावमा पनि ठाकुर त्यही क्षेत्रबाट पराजित भएका थिए।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि सर्लाहीबाटै चुनाव हार्ने अर्का अध्यक्ष हुन्। २०७० को संविधान सभा चुनावमा सर्लाही-४ बाट उम्मेदवार बनेका उनी तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महिन्द्र राय यादवसँग हारे।
यादवले ११ हजार ५ सय ३४ मत ल्याउँदा महतोले ८ हजार ७ सय ९० मत मात्र पाए।
बहालवाला अध्यक्षदेखि राम्रा र प्रभावशाली नेतालाई अप्रत्याशित हार खुवाएर सर्लाही जिल्लाले झट्का दिएको उतिबेलै देखि हो। अहिले मधेस प्रदेशमा पर्ने सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनको लागि ४ क्षेत्र छ।
मंसिर ४ का लागि तय भएको चुनावमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सर्लाही लाने प्रयास भइरहेको छ। उनी जाने-नजाने निश्चित छैन तर, चर्चित र प्रभावशाली नेताहरुलाई फेरि सर्लाही उतार्ने तयारी छ।
चुनावको मिति घोषणा भइसकेकोले सर्लाहीबाट को को लड्छन्, निश्चित छैन, तर, चुनाव लड्नका लागि केही नेताले तयारी तीव्र पारेका छन्।
पहिला २०७४ को चुनावमा सर्लाहीका ४ वटा निर्वाचन क्षेत्रको आँकडा हेरौँ।
पाँच वर्ष अघिको चुनावमा एमाले-माओवादी केन्द्रबीच गठबन्धन थियो। तर, गठबन्धन उम्मेदवार हराएर सर्लाही-१ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमोद साह विजयी भए।
उनले २२ हजार ३६ मत ल्याएर जित्दा एमाले-माओवादी केन्द्रको वामगठबन्धनका ध्रुवप्रसाद गौतमले २१ हजार ४ सय ६५ मत ल्याए।
यस्तै सर्लाही-२ मा पनि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले जिते।
उनले कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको अन्तरले हराए। महिन्द्रले २९ हजार १ सय ९१ मत ल्याई विजयी हुँदा जंगीलालले १८ हजार ९ सय ७६ मत पाए।
यहाँ बुझ्नुपर्ने तथ्य छ-तत्कालिन राजपामा रहेका प्रमोद साह अहिले लोसपामा छन्। यस्तै महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष छन्।
सर्लाही- ३ मा माओवादी केन्द्रले जित्यो। कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका रामेश्वर राय यादव विजयी भए। उनी २२ हजार ३ सय ६७ मत ल्याई विजयी हुँदा कांग्रेसका हरेशकुमार महतोले १४ हजार ९ सय २९ मत पाए।
उता सर्लाही-४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंहले जिते। राजपाका राकेशकुमार मिश्रलाई १५ सय ६९ मतान्तरले हराउँदै अमरेश प्रतिनिधि सभा पुगेका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा मिश्रले २८ हजार १ सय ३६ पाए।
यस्तो छ, स्थानीय तहको अवस्था
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सर्लाहीमा कांग्रेस बलियो बनेको देखिन्छ। सर्लाहीका २० मध्ये १२ पालिका प्रमुख कांग्रेस एक्लैले जितेको छ। माओवादी केन्द्रले चार पालिका जितेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले दुई स्थानीय तहको प्रमुख जित्दा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक-एक स्थानीय तह जितेका छन्।
स्थानीय निर्वाचन परिणामले तत्कालीन राजपा अहिलेको लोसपा कमजोर देखिन्छ। सर्लाही १ र २ क्षेत्रमा पर्ने बहुमत पालिका प्रमुख कांग्रेसले जितेको छ।
यस्तै क्षेत्र नम्बर ३ र ४ मा माओवादी केन्द्र बलियो देखिन्छ। स्थानीय तह निर्वाचनमा सर्लाही ३ को कुनै पालिका कांग्रेसले जित्न सकेन।
उता क्षेत्र नम्बर ४ को धनकौल गाउँपालिका प्रमुख मात्रै कांग्रेसले जितेकोले त्यहाँ पनि कमजोर छ। २० पालिका मध्ये गैडेटा नगरपालिका मात्र लोसपाले जितेको छ।
यस्तै चक्रघट्टा र बसबरिया गाउँपालिका प्रमुख जसपाले जितेको छ। नेकपा एमालेले बरहथवा नगरपालिका प्रमुख जितेको छ। स्थानीय तहको मतपरिणामलाई विश्लेषण गर्दा सर्लाहीमा कांग्रेस र माओवादी केन्द्र बलियो अवस्थामा देखिन्छन् ।
को को होलान् उम्मेदवार
२०७४ मा उम्मेदवार बनेका मध्ये सबैले सर्लाहीबाटै उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसले क्षेत्र नम्बर ४ जितेको थियो।
अहिले पनि उसले त्यो क्षेत्र राख्ने निश्चित छ। त्यसबाहेक पहिला राजपाले जितेको क्षेत्रमा पनि उसले दाबी गरेको छ। पाँच वर्षअघि राजपाले १ र २ जितेको थियो।
तत्कालीन राजपा अहिलेको लोसपाले पहिला उठाएका उम्मेदवारलाई फेरि उठाउन सक्ने अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले जनाएको छ।
क्षेत्र नम्बर १ मा प्रमोद साह र क्षेत्र नम्बर ४ मा राकेशकुमार मिश्रलाई उम्मेदवार बनाउने छलफल भइरहेको स्रोतको दाबी छ।
क्षेत्र नम्बर २ मा नेसपाका महिन्द्र राय यादव उम्मेदवार बन्ने तयारीमा छन्। पाँच दलीय गठबन्धनमा सहभागी हुन खोज्नुको मुख्य कारण त्यही हो।
यादवले आफ्नो उम्मेदवारी हुने बताए। ‘म सर्लाही २ बाट चुनाव लड्छ,’ यादवले नेपालखबरसँग भने, ‘मेरो उम्मेदवारीको विषयमा छलफल गर्छु।’
क्षेत्र नम्बर ३ र ४ मा बलियो भएको भन्दै माओवादी केन्द्रले उम्मेदवारी दिने तयारी गरेको छ।
२०७४ मा क्षेत्र नम्बर ३ माओवादी केन्द्रले जितेको थियो। तर, ४ मा कांग्रेसका अमरेश सिंहले जितेका छन्।
सर्लाहीका सो क्षेत्रमा पर्ने स्थानीय तह जितेको र जनमत बढेको माओवादी केन्द्रको दाबी छ। माओवादीले उठाउने नेताहरुको नाम खुलाउन चाहेको छैन।
गठबन्धनबीच सिट बाँडफाँटको कुरा मिलेपछि मात्र नाम निश्चित गर्ने माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले जानकारी दिए।
‘हामीले सर्लाही मात्र होइन, देशभरको उम्मेदवार चयन थाल्छौ, पहिला गठबन्धनमा सिट बाँडफाँट सकियोस्,’ ती नेताले नेपालखबरसँग भने, ‘जित्ने उम्मेदवार उठाउँछौँ।’
उता नेकपा एमालेले पनि आफ्नो प्रभाव क्षेत्र राम्रो रहेको दाबी गरेको छ। अहिलेसम्म क-कसलाई उम्मेदवार बनाउने? यसबारेमा एमालेले धारणा सार्वजनिक गर्न चाहेको छैन। शम्भुलाल श्रेष्ठ उठ्ने लगभग निश्चित जस्तै छ।
पहिला जनमत हेरेर उम्मेदवारी छनौट गर्ने उसको तयारी छ। मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठ छन्। यस्तै प्रभु साह सह-इन्चार्ज छन्, उनीहरु दुई जनाले उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउनेछन्।
जसपाले पनि सर्लाहीमा आफ्नो दाबी गरेको छ। स्थानीय तह चुनावमा दुईवटा पालिका प्रमुख जिताएका जसपाले कम्तीमा एउटा क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको छ।
युवा संविधानविद् एवं प्रदेश १ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई जसपाले सर्लाहीबाटै प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ ।
के गर्लान् महन्थ र राजेन्द्र?
लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले यसपटक पनि सर्लाहीको कुनै निर्वाचन क्षेत्रमा नउठ्ने ठाकुर निकट एक नेताले बताए।
ठाकुर महोत्तरी ३ र महतो धनुषा ४ बाट २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
‘महन्थ ठाकुरजी महोत्तरी-३ मै उठ्नुहुन्छ, त्यसबेला परिस्थिति फेरियो भनेपनि उहाँ सर्लाहीमा उठ्नुहुन्न,’ ती नेताले नेपालखबरसँग भने, ‘राजेन्द्र महतोले पनि धनुषाको पहिला जितेकै क्षेत्रबाट उम्मेदवारी दिनुहुन्छ।’
२०७० मा हारेपछि २०७४ को चुनावमा दुबै नेताले आफ्नो क्षेत्र परिवर्तन गरेका हुन्।
Shares
प्रतिक्रिया