ad ad

राजनीति


डोटीमा गठबन्धन पेचिलो : वीरबहादुर, त्रिलोचन र प्रेम आलेबीच तानातान

डोटीमा गठबन्धन पेचिलो :  वीरबहादुर, त्रिलोचन र प्रेम आलेबीच तानातान

गोकुल जोशी
भदौ ३, २०७९ शुक्रबार १२:६, काठमाडौँ

एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको डोटीमा सत्तारुढ गठबन्धनको भागबन्डा पेचिलो बनेको छ। आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेलका लागि गठबन्धनले कार्यदल बनाएर भाग मिलाइरहेको छ। 

गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ‘हेभिवेट’ नेताको गृहजिल्ला डोटीमा गठबन्धनलाई भाग मिलाउन सहज छैन।

कांग्रेस सुदूरपश्चिमका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने दाबी गरेका छन्।

गठबन्धनबाट टिकट हत्याउन उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। यी नेताहरूको जिल्ला डोटीमा गठबन्धनबाट यसपटकको प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउला भनेर चासोका साथ हेरिएको छ। 

हारको बदला चाहन्छन् बलायर
प्रधानमन्त्री एंवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने बलायर नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका हुन्।

उनी २०६४ सालको पहिलो संविधान सभामा डोटी १ बाट चुनाव लडे। त्यस बेला डोटीमा दुई निर्वाचन क्षेत्र थिए। 

बलायरले ०६४ को पहिलो संविधान सभा चुनाव एमालेका हर्कबहादुर सिंहसँग हारे। त्यसपछि ०७० सालको निर्वाचन जितेका उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा यातायात मन्त्री बने।

वि.सं. २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका प्रेमबहादुर आलेसँग १ हजार ६३२ मतले बलायर हारे। त्यसबेला आलेले ३२ हजार ५१० मत ल्याएका थिए भने बलायरले ३० हजार ८७८ मत मात्रै। 

वि.सं. ०७४ को चुनावमा डोटीमा एउटै मात्रै निर्वाचन क्षेत्र थियो। ०७४ को चुनावमा प्रतिस्पर्धा गरेका दुई पात्र अहिले गठबन्धनका कारण एउटै छाना मुनि पुगेका छन्। ०७४ मा बेहोरेको हारको बदला लिन बलायरले यसपटक चुनाव डोटीबाटै निर्वाचन लड्न चाहेका छन्।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन परिणामका आधारमा कांग्रेस जिल्लाको ठूलो शक्तिका रूपमा स्थापित भएकाले प्रतिनिधि सभा चुनाव लड्ने टिकट आफूले पाउनुपर्ने कांग्रेसको अडान छ। ‘९ पालिकामध्ये ७ पालिका जितेका छौँ, अरूभन्दा कांग्रेस बलियो छ’, एक नेताले नेपालखबरसँग भने, ‘कांग्रेसले डोटी छाड्दैन, यस्तो हुन दिदैनौँ।’

‘ह्याट्रिक’को​ दाउमा आले 
डोटीमा पूर्वमन्त्री आले गठबन्धनबाट साझा उम्मेदवार बनेर विजयी हुँदै तेस्रोपटक संसद छिर्ने प्रयासमा छन्। 

वि.सं. २०५४ अघि आले नेपाली कांग्रेसमा आबद्ध थिए। पछि नेकपा एमालेमा प्रवेश गरेका उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य बने। अनि डोटी क्षेत्र नम्बर २ मा एमालेबाट ०६४ को पहिलो संविधान सभा चुनाव लड्ने मौका पाए।  त्यसबेला उनी माओवादी केन्द्रका खेम बमसँग हारे। 

त्यसपछि आले दोस्रो संविधान सभा चुनावमा पनि डोटी–२ मा एमालेबाट उम्मेदवार बने। उनले नेपाली कांग्रेसका योगेन्द्र शाहीलाई हराउँदै पहिलोपटक संसदको यात्रा तय गरे। 

०७४ को चुनावमा डोटीमा एउटै निर्वाचन क्षेत्र कायम रह्यो। त्यसपछि आले र बलायर प्रतिस्पर्धी बनेका थिए।

वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका आलेले तत्कालीन सरकारमा यातायातमन्त्री रहेका कांग्रेसका बलायरलाई हराएर संसद छिरे। यो संसद यात्रा आलेका लागि महत्त्वपूर्ण छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाए। यस क्रममा उनी आफ्ना अभिव्यक्तिका कारण विवाद र आलोचनाका पात्र बने। 

सरकारमा हुँदा ओलीको प्रशंसा गरेर नथाक्ने आले एमाले विभाजनमा भने एक्कासि माधव कुमार नेपालको पक्षमा खुले। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमा उनी पनि एक थिए।

ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि बनेको वर्तमान सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।

उनलाई करिब ८ महिनापछि गत जेठमा पार्टीले सरकारबाट फिर्ता बोलायो। ओली सरकारका पालामा ‘भाइरल मन्त्री’को उपमा पाएका आलेले यसपटक केही कामले चर्चा बटुले। यस दौरानमा पनि अभिव्यक्तिका कारण उनी विवादबाट बच्न सकेनन्।

उनै आले गठबन्धनबाट साझा उम्मेदवार बनेर ‘ह्याट्रिक’सहित सिंहदरबार पस्ने दाउमा छन्। विगतमा जितेको क्षेत्र भएकाले यसपटक पनि यो क्षेत्र आफूले पाउनुपर्ने दाबी नेकपा एकीकृत समाजवादीको छ।  

‘विगतमा जितेको क्षेत्र कसरी छोड्ने’, एकीकृत समाजवादी डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी भन्छन्, ‘स्थानीय तह निर्वाचनको परिणामका आधारमा हुँदैन, जितेको क्षेत्र उसैले पाउनुपर्छ।’

मुख्यमन्त्री भट्टको संघीय संसद पस्ने दाउ
नेकपा माओवादी केन्द्रका नेता एवम् सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि यसपटक डोटीबाट प्रतिनिधि सभाको चुनाव लड्ने इच्छा देखाएका छन्।

०७४ सालको स्थानीय तह निर्वाचनमा डोटी १ (२) बाट प्रदेश सांसद हुँदै मुख्यमन्त्री बनेका भट्ट प्रतिनिधि सभा सांसद बनेर पुरानो हारको बदला लिएर संघीय संसद् पस्ने दाउमा छन्।

वि.सं. ०६४ मा नेकपा माओवादीका तर्फबाट डोटी क्षेत्र नं. १ र ०७० मा डोटी क्षेत्र नं.२ बाट चुनाव भिडेका भट्ट हारे। त्यसपछि ०७४ सालको चुनावमा उनी प्रदेशतिर झरे।

एमालेसँगको तालमेलमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भट्टले डोटी १ (२) मा कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५९६ मतले हराउँदै प्रदेश सांसद बने। 

भट्टले १६ हजार ९१ मत ल्याएका थिए भने शाहीले १३ हजार ४९५ मत। त्यसपछि भट्ट एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको पहिलो मुख्यमन्त्री बनेका हुन्।

स्थानीय तहको मतपरिणाम
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डोटीमा एक्लै चुनाव लडेको कांग्रेस त्यहाँ बलियो छ। 

कूल ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जितेको छ। ९ पालिकामध्ये ७ वटामा प्रमुख पद कांग्रेसले जितेको हो। 

शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका, केआई सिंह, पूर्वीचौकी, बढिकेदार र सायल गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको हो।

यस्तै, माओवादी केन्द्रले प्रमुख पद जितेको बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसले उपप्रमुख पद जितेको छ। 

नेकपा एमालेले एक पालिकामा प्रमुख र १८ वटा वडामा वडाध्यक्ष पद जितेको छ। नेकपा एमालेले जोरायल गाउँपालिकाको प्रमुख–उपप्रमुख दुवै पद जित्यो। 

मुख्यमन्त्री भट्टको पार्टी माओवादी केन्द्रले एक पालिका प्रमुख र ५ वटा वडामा मात्रै अध्यक्ष पद जितेको छ।

आले आबद्ध एकीकृत समाजवादीले एउटा वडामा मात्रै जितेको छ। डोटीमा स्थानीय तहको निर्वाचनमा राप्रपा र स्वतन्त्र उम्मेदवार एक/एक वडामा विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .