ठमेलमा रातभर शान्ति सुरक्षाका लागि सिठी बजाउँदै तैनाथ रहने प्रहरी राजधानीकै अन्य ठाउँमा भने साँझ नै बन्द गराउँदै हिँड्छ।
प्रहरीकै सुरक्षा घेराभित्र ठमेल र दरबारमार्ग रातभर जागै रहन्छन्।
तर, तिनै प्रहरीको दबावमा अन्य ठाउँका बजार पसल भने साँझैबाट सुनसान बनाइन्छ।
बेलाबेला सरकारले राति पनि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गर्छ। तर, कार्यन्वयन गर्दैन। सरकारले पर्यटक नेपाल भित्र्याउने भन्छ, तर राजधानी समसाँझै बन्द गराइन्छ ।
सरकारले रात्रिकालीन व्यवसाय चलाउन पाउने व्यवस्था गरिदिए कोभिड महामारीले थलिएको अर्थतन्त्रमा सघाउ पुग्ने रेष्टुरेन्ट एण्ड बार एसोसियसनका अध्यक्ष अरनिको राजभण्डारी बताउँछन्। साँझमै व्यवसाय बन्द गराउँदा होटल तथा पर्यटन व्यवसायमा असर परेको उनको भनाइ छ।
सरकारले चाहे सम्भव छ भन्ने उदाहरण हो, ठमेल। अन्य ठाउँका बजार पसल बन्द हुँदा ठमेल राम्रोसँग खुलिसकेको हुँदैन। जब अन्तका सटर बन्द हुन थाल्छन् तब ठमेलका व्यवसायी सटर खोल्न थाल्छन्। अन्य ठाउँमा सुनसान हुँदै जाँदा ठमेलको चहलपहल बाक्लिँदै जान्छ। ठमेल छुट्टै रौनकमा हुन्छ।
अन्य ठाउँका बजार किन छिट्टै बन्द गराइन्छ भन्ने चित्तबुझ्दो जवाफ प्रहरीसँग पनि छैन। प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई शान्ति सुरक्षाका लागि १० बजेभित्र बजार पसल बन्द गराउनुपरेको बताउँछन्।
तर, यो निर्णय प्रहरीको नभएको उनको तर्क छ।
‘साँझबाट बजार बन्द गराउने निर्णय हाम्रो होइन। हामीले त रातभर व्यवसाय चलाउँछौं सुरक्षा व्यवस्था गरिदिनु भनेर माग भए गर्नैपर्छ। व्यवसायी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनको निर्णय हो साँझ नै बन्द गराउने’, डीआईजी राई भन्छन्, ‘हामीले निर्णय कार्यान्वयनमा सहयोग गरेको मात्रै हो। प्रहरी सिठी फुक्दै हिँडेकाले हामीले बन्द गराएजस्तो देखिन्छ, तर त्यसो होइन।’
राति कुनै पनि जघन्य घटना नघटोस् भनेर व्यवसाय बन्द गराइएको प्रशासनको भनाइ छ। के राति व्यवसाय बन्द गराइएका ठाउँमा कुनै घटना भएका छैनन् त ? अनि, राति व्यवसाय सञ्चालन भएको ठमेलमा किन दिनहुँ आपराधिक घटना भएका छैनन् ?
प्रहरी प्रवक्ता भन्छन्, ‘हामीले सुरक्षा दिएका छौं। उहाँहरुले पनि बाउन्सर राखेर भित्री सुरक्षाको व्यवस्था गर्नुभएको छ।’
ठमेलमा बजार खुल्ला गर्न जनप्रतिनिधि र प्रशासन पनि तयार छन्। त्यहाँ कुनै रोकतोक छैन। अन्य ठाउँका जनप्रतिनिधि र प्रशासन रात्रिकालीन व्यवसाय सञ्चालन गर्न तयार नभएको प्रहरी बताउँछ।
संविधानले २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउने रोजगारसम्बन्धी हक अधिकार दिएको छ। तर, युवा बिग्रने बहानामा यसलाई रोक लगाइएको छ। विदेशमा रात्रिकालीन व्यवसाय निर्वाध सञ्चालन भएका छन्। जहाँ ठूलो संख्यामा नेपालीहरु नै रमाउन पुग्छन्। त्यहाँ पुग्नेहरु नबिग्रने, आफ्नै देशमा बिग्रने ?
जवाफमा राई भन्छन्, ‘त्यहाँको जस्तो कल्चर यहाँ ल्याउन त यहाँका जनताले पनि स्वीकार गर्नुपर्यो नि। तपाई हामी त्यहाँ देखेर आएका छौं हामी त्यो कुरालाई स्वीकार गर्छौं। तर, यहाँ सम्पूर्ण जनताले स्वीकार गरेको अवस्था छैन। जुन दिन स्वीकार गर्छन् त्यसपछि बारहरु २४ घण्टा नै खुल्लान् ।’
व्यापार व्यवसाय सञ्चालन हुने समय बढ्यो भने रोजगारी पाउनेको संख्या पनि बढ्छ। आर्थिक गतिविधि बढ्ने नै भयो। तर आर्थिक कारणलाई हेरेर सामाजिक मान्यताहरु तोड्ने कि नतोड्ने भन्ने प्रश्न गर्छन् डीआईजी राई।
केही व्यवसायीले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भने पनि कतिपय राति बन्द गराउनुपर्छ भन्ने पक्षमै रहेको उनले दाबी गरे।
‘यो व्यवस्था हाम्रा कारण आएकै होइन। प्रहरी त अहिले पनि २४ घण्टा नै ड्युटी गरिरहेको हुन्छ। यति फरक हो रात्रिकालीन व्यवसाय सञ्चालन भएमा राति ड्युटी गर्नेको संख्या बढाउनु पर्ला, फरक त्यति हो’, डीआईजी राईले भने, ‘जनता तयार हुन्छन् भने हाम्रो काम नै सुरक्षा दिने हो, दिन्छौं।’
ठमेलमा सबै पक्ष तयार भएकै कारण रात्रिकालीन व्यवसाय सञ्चालन भएको र त्यसमा प्रहरीले पनि साथ दिएको उनको भनाइ छ।
‘राति व्यवसाय सञ्चालन भए केही न केही अपराध त बढ्छ नै, तर अपराध हुन्छ भनेर व्यवसाय नै बन्द गराउनुपर्छ भन्दैन प्रहरीले। अपराध हुन्छ भने हामी नियन्त्रण गर्छौं’, प्रवक्ता राईले भने।
राति मान्छे नसामा हुने भएकाले अपराध हुने प्रहरीको ठम्याइ छ। यसअघि ललितपुर प्रहरी प्रमुख हुँदा आफूले रातभर रेष्टुरेन्ट चलाउन प्रस्ताव गरेको डीआईजी राईले नै सुनाए। उनले भने, ‘तर, त्यहाँका स्थानीयहरु तयार भएनन्।’
‘स्थानीयले एकमत भएर खोल्ने निर्णय गर्ने हो भने हामी त तयार छँदैछौं। हामीले सुरक्षा व्यवस्था गर्छौं, सुरक्षा सामाग्रीहरु थप गर्नुपर्छ। कहीँ केही घटना भयो भने ट्याक्क ५ मिनेटमै प्रहरी पुग्नेगरी व्यवस्था गर्छौं’, राईले भने, ‘अहिले भएको जनशक्तिमा थप गर्नु पर्ला। त्यसो भयो भने जनताका छोराछोरीले रोजगारी पनि पाए। अनुशासनहीन केटाहरू प्रहरीमा आएपछि अनुशासित पनि हुने भए।’
Shares
प्रतिक्रिया