ad ad

राजनीति


माओवादी छोडेर एमाले बनेका लेखराज भट्टको अग्निपरीक्षा

कैलाली ४ मा सजिलो छैन एमालेलाई
माओवादी छोडेर एमाले बनेका लेखराज भट्टको अग्निपरीक्षा

गोकुल जोशी
भदौ ९, २०७९ बिहिबार ६:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक रहेर लामो समय सक्रिय नेता हुन, लेखराज भट्ट। एक समय प्रचण्डका विश्वास पात्र भट्टले नै सुदूरपश्चिममा माओवादीको जग बसालेका थिए। 

सम्पन्न घरानाबाट प्रतिनिधित्व गर्ने उनले प्रचण्डलाई सुदूरपश्चिममा बलियो साथ दिए। माओवादी सशस्त्र युद्धताका सुदूरपश्चिमको नेतृत्व उनैले गरेका थिए।

त्यसबेला प्रचण्ड यस क्षेत्रमा आउँदा भट्टकै घरमा बस्ने, खाने गर्थे। त्यसैले उनीहरुको सम्बन्ध प्रगाढ थियो। भट्ट सुदूरपश्चिममा माओवादीको खम्बा नै थिए।

यो प्रदेशमा माओवादीको संगठन विस्तारमा भट्टको महत्वपूर्ण योगदान रहेको माओवादीका नेताहरु नै सम्झन्छन्। सुदूरपश्चिममा उनको बलियो पकड थियो। नेता कार्यकर्ताले माओवादी सुदूरपश्चिमको ‘कमाण्डर’ नै मान्दथे उनलाई।

राजनीतिक यात्रा
पढाइका शिलशिलामा वि.सं. २०२८ सालतिर काठमाडौँमा रहेका बेला राप्ती पश्चिम कर्णालीको उत्पीडन र गरिबी अन्त्यका लागि उनी राजनीतितर्फ तानिएका थिए।

भट्टले वि.सं. २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। उनी वि.सं. २०३६ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा जोडिए।

०३७ सालमा ‘प्रचण्ड’ अखिल नेपाल युवक संघको अध्यक्ष हुँदा भट्ट केन्द्रीय सदस्य थिए। त्यस पछि उनले प्रचण्डनिकट भएर काम गर्ने अवसर पाए।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल विभाजनताकाको धुव्रीकरणमा पनि भट्ट प्रचण्डसँगै थिए। माओवादी सशस्त्र जनयुद्धमा सुदूरपश्चिममा प्रचण्डका सारथि बनेर युद्धमा होमिए।

१० वर्ष लामो सशस्त्र युद्ध छोडेर माओवादी शान्तिमा आएपछि भट्टले वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशका इन्चार्जको जिम्मेवारी सम्हाले। 

वि.सं. २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा लामो समयदेखि माओवादीको प्रदेश इन्चार्ज रहेका नेता भट्ट पाखा पारिए। 

नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज डा. भीम रावललाई बनाइयो। भट्टलाई स्थायी कमिटी सदस्यमा सीमित राखियो।

इन्चार्ज खोसिएपछि लेखराजलाई चित्त बुझेन। उनले प्रचण्डलाई निर्णय सच्याएर आफूलाई इन्चार्ज बनाउन पहल गर्न आग्रह गरे।

लेखराजको आग्रह प्रचण्डले मानेनन् र रावललाई नै इन्चार्ज बनाउन सहमति जनाए। लेखराज आफूलाई इन्चार्ज बनाउन प्रचण्डले सहयोग नगरेपछि उनीबाट टाढिएर केपी शर्मा ओलीसँग नजिकिन थाले।

तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे। अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। 

बरु प्रचण्डसँगको लामो सम्बन्धमा पूर्णविराम लगाउँदै सांसद त्यागेरै भए पनि एमालेमै रहने निर्णय गरे। नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज रहेका रावल माधव नेपाल, प्रचण्डसँग नजिक थिए।

नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा रावल उनीसँग गएनन्। १० बुँदे सहमतिपछि एमालेमै बस्ने निर्णय गरेका तत्कालीन नेपाल समूहका रावल त्यसपछि चेपुवा परे। 

उनको इन्चार्ज पद खोसेर ओलीले माओवादी छोडेर आफूलाई साथ दिएका भट्टलाई इन्चार्ज बनाए। माओवादी ब्यूँतिएपछि पनि एमालेमै रहेका भट्टले भने सुदूरपश्चिममा माओवादी हुँदाको आफ्ना विश्वास पात्र गुमाए। 

जनयुद्धताका प्रचण्डसँग लेखराज भट्ट। तस्बिर : भोजराज भाट

एमालेमै रहने निर्णयमा भट्टलाई उनीनिकट सुदूरपश्चिमका माओवादी नेता/कार्यकर्ताले साथ दिएनन्।

सुदूरपश्चिम प्रदेशसभामा रहेका माओवादी केन्द्रका १४ प्रदेश सांसदमध्ये भट्टले एक जनामात्रै झपड बोहराको साथ पाए। 

भट्टकै सिफारिसमा सुदूरपश्चिमका मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले पनि उनको साथ छोडे। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्षमध्ये एकजना वीरबहादुर थापा (पातल) मात्रै एमालेमा आए। 

एमालेमै रहने निर्णयमा माओवादीमा हुँदा आफ्नै विश्वासपात्रले साथ नपाएर   एक्लिएका भट्ट अहिले एमालेको प्रदेश इन्चार्ज त छन् तर संगठनभित्र उनको माओवादीको जस्तो तल्लो तहसम्म बलियो प्रभाव छैन। 

चुनौती
उनै लेखराज मंसिर ४ गते तोकिएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावअन्तर्गत एमालेबाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्दै आएका भट्ट प्रदेश इन्चार्ज भएकाले पनि उनले सजिलै टिकट पाउँछन्। 
‘अहिलेसम्म अरु आकांक्षी कोही देखिनु भएको छैन, उहाँ नै चुनाव लड्ने सम्भावना बढि छ,’ भट्ट निकट स्रोतले भन्यो, ‘पार्टीले पठायो भने चुनाव लड्नु हुन्छ।’

ओलीको साथ पाएर एमालेको १० औँ महाधिवेशनमा सचिवमा जितेका भट्ट यसपटक एमालेबाट परीक्षणको घडीमा छन्। माओवादीबाट चुनाव लड्दै आएका उनी एमालेबाट सफल हुन्छन् वा हुँदैनन् चासोसाथ हेरिएको छ। 

‘ह्याट्रिक’  दाउ
कैलालीबाट भट्टले तीनवटा संसदीय निर्वाचन लडेका छन्। ०६४ सालको पहिलो संविधानसभामा संसदीय चुनाव ‘फेस’ गरेका लेखराजले जित निकाल्दै संसदको यात्रा तय गरेका थिए।

०६४ र ०७० को चुनावमा कैलालीमा ६ वटा निर्वाचन क्षेत्र रहेका थिए। कैलाली ५ बाट चुनाव लडेका लेखराजले ०६४ मा कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका थिए।

भट्टले त्यसबेला १७ हजार ९७९ मत ल्याएका थिए। उनी प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक श्रममन्त्री बने। त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि भट्टले वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाए। 

०७० सालको चुनावमा भने लेखराजले पराजय भोग्नु पर्यो। उनी ०६४ का प्रतिस्पर्धी कांग्रेसकै भाटसँग पराजित भएका थिए। त्यस बेला भाट १६ हजार ३४६ मत सहित विजयी भएका थिए। भट्ट ११ हजार ३४ मतमा खुम्चिए। 

०७४ को चुनावमा भने एमालेको समर्थनमा लेखराज कैलाली–४ बाट विजयी भएका थिए। ०७४ पछि कैलालीमा ५ वटा मात्रै निर्वाचन क्षेत्र रहेका थिए।

०७४ मा वामगठबन्धनका साझा उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत ल्याएका थिए।

०७४ को निर्वाचन पछि बनेको तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा भट्टले फेरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने मौका पाए।

तीन संसदीय चुनावमध्ये दुईमा जित र अर्कोमा हार व्यहोरेका लेखराज यसपटक जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। तर सत्तागठबन्धनविरुद्ध एमाले एक्लै चुनावमा होमिनु पर्दा उनको ‘ह्याट्रिक’ पाउन कठिन छ।

सहज छैन 
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा गठबन्धनविरुद्ध एमालेलाई कैलाली ४ मा जित निकाल्न सहज छैन। 
पूर्वमाओवादीका लेखराज भट्ट एमालेबाट पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्दा अग्नि परीक्षामा छन्।

यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एक वडा गरी कूल ३० छन्।

स्थानीय तहको चुनावमा नेपाली कांग्रेस एक्लैले १५ वडा जितेको छ। माओवादी ४ र एकीकृत समाजवादी १ वडा जितेको छ। एक वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

नेकपा एमालेले ९ वडा जितेको छ। सत्तारुढ गठबन्धनले कूल जितेको वडा संख्या २० हुन्छ, जुन एमालेले जितेको भन्दा दोब्बर हो। स्थानीय तहको निर्वाचनको आधारमा एमालेका लेखराज भट्ट कैलाली ४ मा असुरक्षित देखिन्छन्। 

यी पालिकामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच प्रमुख उपप्रमुखमा मात्रै तालमेल भएको थियो। कांग्रेसले गोदावरी नगरपालिका, माओवादीले गौरीगंगा र एमालेले चुरे गाउँपालिकाको प्रमुख जितेको छ।

कांग्रेसले गौरीगंगा र चुरे गाउँपालिकाको उपप्रमुख जित्दा एमालेले गोदावरीको उपप्रमुखमा बाजी मारेको छ। 

गठबन्धनमा हानथाप
कैलाली क्षेत्र नम्बर ४ मा गठबन्धनमा आवद्ध प्रमुख तीनै दलले दाबी गरेका छन्। नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले दाबी गर्दा गठबन्धनमा यो क्षेत्र भाग लगाउन सकस पर्ने देखिन्छ।

स्थानीय तहको चुनावको मतपरिणामका आधारमा कांग्रेस ठूलो दल भएकाले आफूले पाउनुपर्ने अडान कांग्रेसको छ।

यो क्षेत्र कांग्रेसले पाएमा ०७४ सालमा लेखराज भट्टसँग पराजित सुनिल भण्डारीले उठ्न सक्ने सम्भावना रहेको कांग्रेसका एक नेताको दाबी छ।

यहाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट दीर्घ सोडारीको नाम पनि चर्चामा छ। एकीकृत समाजवादी सुदूरपश्चिमको प्रभावशाली नेतामा गनिने उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री छन्।

उनी एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन।  यसपटक गठबन्धनबाट कैलाली ४ समाजवादीको भागमा पारेर उनले संघीय चुनाव लड्ने तयारीमा छन्। ०७० मा एमालेबाट संघीय चुनाव लडेका सोडारी चौथो स्थानमा खुम्चिएका थिए।

कैलाली ४ आफूले पाउनुपर्ने दाबी गरेको माओवादी केन्द्रमा तीन जना आकांक्षी छन्। माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरीराम चौधरी ‘उत्सव’, कृष्णकुमार चौधरी र लक्षीराम आचार्यको माओवादीबाट दाबी छ।

यीमध्ये माओवादीको भागमा परेमा प्रदेश अध्यक्ष चौधरीले टिकट पाउने सम्भावना बलियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .