ad ad

राजनीति


नेपाल-अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल-अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपालखबर
भदौ १३, २०७९ सोमबार १४:९, काठमाडौँ

नेपाल र अस्ट्रेलियाबीच सोमबार जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि समझदारीपत्रमा  हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको दूतावासले जनाएको छ। 

नेपाल-अस्ट्रेलिया परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त परामर्श संयन्त्रको दोस्राे बैठकमा भाग लिने क्रममा सचिव पौड्याल नेतृत्वको नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ। संयन्त्रको बैठक भोलि मंगलबार आयोजना हुँदै छ।

सन् २०१७ जुलाईमा उक्त संयन्त्र स्थापना भएको थियो। द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना गरिएको हाे। 

परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत प्रतिनिधिमण्डलमा सहभागी छन्।

अस्ट्रेलिया नेपालको एक विकास साझेदार हाे। 

अस्ट्रेलिया-नेपाल द्विपक्षीय सहकार्य 
सन् १९६० फेब्रुअरीमा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हाे। 

गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मानव संशाधन विकास, संघीयता सुदृढीकरण र शान्ति प्रक्रियामा नेपाल सरकारका विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय दातृ निकायको च्यानलबाट अस्ट्रेलियाले सहयोग गरिरहेको छ। भूकम्पपछिको पुर्निर्माण र कोरोना महामारीमा पनि उसले नेपाललाई सहायता प्रदान गरेको थियो।

नेपाल आउने पर्यटक घटे 
अस्ट्रेलियाबाट नेपालमा उल्लेख्य संख्यामा पर्यटक पनि आउने गरेका छन्। कोरोना महामारीका कारण अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ। 

सन् २०१८ मा ३८ हजार ४२९ पर्यटक नेपाल आएकामा सन् २०२१ मा २ हजार ४७७ पर्यटक मात्रै आएको सरकारी तथ्यांक छ। अस्ट्रेलियामा प्रवासी नेपालीको संख्या ठूलो छ। जसमा विद्यार्थी बढी छन्। 

अस्ट्रेलियामा डेढ लाख नेपाली 
सन् २०२१ को गणनाअनुसार अस्ट्रेलियामा नेपाली मूलका नागरिक १ लाख २२ हजार ५१५ जना बसोबास गर्छन्। अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल तेस्राे स्थानमा पर्छ। 

नेपालको व्यापार घाटा बढ्यो 
नेपालको अस्ट्रेलियासँग ठूलो व्यापार घाटा छ। नेपालले सन् २०२१ मा अस्ट्रेलियन डलर ११ मिलियन बराबरको सामान निर्यात गरेको थियो भने १८६ मिलियन डलर बराबरको सामान आयात गरेको थियो। 

कार्पेट, कटनका कपडा, चिया, कफी, पास्ता, चाउचाउ, सल र ह्यान्डिक्र्याफ्ट नेपालबाट निर्यात हुने गरेका छन्। नेपालले अस्ट्रेलियाबाट प्रशाेधित पेट्रोलियम पदार्थ, फलफूल र घ्यूलगायत वस्तु आयात गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .