ad ad

राजनीति


सभामुखमा सुवास नेम्वाङ कि अग्नि सापकोटा?

सभामुखमा सुवास नेम्वाङ कि अग्नि सापकोटा?

सागर न्यौपाने
मंसिर २५, २०७६ बुधबार ६:४,

सभामुखको टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्तरिक छलफल तीव्र पारेको छ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाबीच सभामुख पदका लागि प्रतिस्पर्धा देखिएको छ। यद्यपि, यसपटक सभामुखमा सापकोटाकै सम्भावना बढी भएको नेकपा नेताहले बताएका छन्।

पुस ४ मा सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो बिजनेस सभामुख चयन राखिएको छ।

मंसिर २७ मा बस्ने सचिवालय बैठकले सभामुखका विषयमा निर्णय गर्ने नेकपा स्रोतले बतायो।

‘मंसिर २७ गते बस्ने सचिवालय बैठकबाट सभामुखको निर्णय गरेर र त्यसलाई २९ गतेदेखि बस्ने नेकपा स्थायी समिति बैठकबाट अनुमोदन गराइँदै छ,’ एक सचिवालय सदस्यले नेपालखबरसँग भने।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १४ गते सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त छ।

पद रिक्त भएसँगै सभामुख बन्न नेताहरुको दौडधुप चलेको छ। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सापकोटाको नाममा र त्यसो हुन नसके नेम्वाङको नाममा सहमति जुटाउने प्रयास गरिरहेका छन्। यसअघि पूर्वसभामुख ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाल र उपसभामुख शिवमाया तुम्बाहाङ्फेलगायतको नाम पनि चर्चामा थियो।

प्रचण्डको साथ सापकोटालाई
लामो समयको छलफल, परामर्शपछि पुर्वमाओवादी केन्द्रका नेता तथा सापकोटालाई नै सभामुख बनाउने अन्तिम तयारी भएको प्रचण्डनिकट एक स्थायी समिति सदस्यले नेपालखबरलाई जानकारी दिए। प्रचण्डले यसबारेमा केही पूर्वएमालेका प्रभावशाली नेताहरुसँग समेत छलफल गरिसकेका छन्। ‘साथीहरुले एकताको सबै प्रक्रिया नटुंगिएको भन्दै शक्ति सन्तुलनका लागि पनि सभामुख पुर्वमाओवादीकै भागमा राख्न जोड दिनुभएको छ, एक हिसाबले हेर्दा स्वभाविकै पनि हो, अब सहमति गरेर जाऊँ,’ प्रचण्डले पूर्वएमालेका नेताहरुसँग गरेको कुराकानी उधृत गर्दै ती नेताले भने।

त्यसो त सभामुखको अन्तिम निर्णय गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड सहमतिनजिक रहेको स्रोतको दाबी छ। यस विषयमा प्रधानमन्त्रीको सचिवालयले भने अनविज्ञता जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले त्यसबारेमा केही जानकारी नभएको बताए। ‘दुई अध्यक्षबीच निरन्तर भेट भइरहेको छ, आवश्यक परेको तत्काल निर्णय गर्नेगरी भेट पनि हुनसक्छ,’ उनले भने, ‘सभामुख चयनको विषयमा पार्टीले छिट्टै निर्णय गर्नसक्छ।’

शनिबार बिहान र आइतबार साँझ प्रचण्डले प्रधानमन्त्रीसँग भेट गर्दै सचिवालय बैठक, सभामुखमा पठाउने नेताहरुको विषयमा भइरहेको तयारीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसँगको सहमतिमै उनले सचिवालय बैठक र स्थायी समिति बैठक डाकेका छन्। प्रचण्डले सचिवालयमा रहेका नेता माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलसँग पनि परामर्श गरेका छन्। दुईजना अध्यक्षबीचमा सभामुखको सहमति जुटेपछि त्यसलाई सचिवालय बैठकबाट निर्णय गराउने प्रचण्डको तयारी छ।

उता, नेम्वाङका विषयमा पनि नेताहरुबीच परामर्श चलिरहेको छ। नेम्वाङ आफैँले पनि नेताहरुबीच सहमति जुटे सभामुखमा जान इच्छुक रहेको जनाउ दिएका छन्। तर, धेरैजसो नेताहरु नेम्वाङलाई दोहो¥याउनुभन्दा नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पक्षमा छन्।

त्यसमाथि पूर्वमाओवादीको भागमा परेको सभामुख पद नछाड्न नेताहरुले प्रचण्डसँग लविङ गरेका छन्। एकता नसकिएको अवस्थामा शक्ति सन्तुलनमा हिसाबले पनि सभामुख पूर्वमाओवादीबाटै बनाउनुपर्ने आवाज उठेपछि प्रचण्डले सापकोटाको नाममा सहमति जुटाउने पहल थालेका हुन्।

सभामुखको पदावधि अब ३९ महिना बाँकी छ।

उपसभामुखलाई राजीनामा गराइँदै
सभामुखको नाममा सहमति जुटेपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मंसिरभित्रै राजीनामा गराउने तयारी भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। सभामुख र उपसभामुख दुई फरक दलबाट चयन हुने संवैधानिक व्यवस्थाका कारण सभामुख पद गुम्न नदिन नेकपाले उपसभामुलाई राजीनामा गराउने तयार गरेको हो। तर, उपसभामुख तुम्बाहाङ्फेले भने महराको गल्तीमा आफूले पद छोड्नुपर्ने अवस्था अन्यायपूर्ण हुने बताउँदै आएकी छन्।

तर, सभामुखमा तुम्बाहाङ्फेको सम्भावना न्यून रहेको प्रेस सल्लाहकार थापाले बताए।

‘उपसभामुखलाई राखेर सभामुख गुमाउन नेकपा चाहँदैन। त्यही भएर उपसभामुखको राजीनामा गराउने तयारी भएको साँचो हो,’ थापाले नेपालखबरसँग भने।

तुम्बाहाङ्फेलाई अन्य जिम्मेवारीमा लैजाने योजना नेकपाले बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .