प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमति जुटाउन पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु असफल भएका छन्।
बुधबार सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित बसेको बैठकमा सहमति जुट्न नसकेको हो।
कार्यदलले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि शीर्ष नेतासहित कार्यदलको बैठक बसेको थियो।
छलफल सकारात्मक रहेको तर, टुंगो लाग्न भने बाँकी रहेको बैठकमा सहभागी एक नेताले बताए।
‘दिउँसो ४ बजेदेखि बैठक बसेको थियो। छलफल निकै अघि बढिसेको छ’ ती नेताले भने, ‘तर, सहमति जुटिसकेको छैन।’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी थिए।
शीर्ष नेताबीचको छलफलमा आजै सिट संख्या बाँडफाँट टुंगो लगाउने गरी छलफल भएको थियो।
तर, पार्टीभित्र आन्तरिक छलफल नगरी सिट संख्या टुंगो नलगाउने भन्ने भएपछि बैठक भोलि (बिहीबार) ११ बजे बस्ने र टुंगो लगाउने सहमति भएको एक नेताले बताए।
‘आजको बैठकमा सबै दलहरुबाट सिटको बारेमा प्रस्ताव पेश भएका छन्। यसलाई आन्तरिक छलफल गरेर भोलि ११ बजे बैठक बसी सिट टुंगो लगाउने निर्णय भएको छ’ उनले भने।
Shares
प्रतिक्रिया