नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि बेला बेलामा आफूलाई छाडेका सहयात्रीहरुलाई सम्झन्छन्।
गत ५ पुस ०७७ मा संसद विघटनसँगै एमालेमा प्रवेश गरेकाहरुलाई उनी झन बढी स्मरण गरिरहन्छन्। त्यसमध्ये पनि सबैभन्दा बढी सार्वजनिक समारोहबाट मिस गरिरहेका हुन्छन्– रामबहादुर थापा बादललाई।
शुक्रबार (१७ भदौ) कर्णाली प्रदेशमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्ड त्यहाँ पनि थापाको प्रसंगबाट टाढा हुन पाएनन्।
मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको धमाधम घोषणा भइरहँदा चितवन–३ मा प्रचण्ड भर्सेस बादल हुनसक्ने चर्चा चलिरहेको छ।
सोही विषयलाई कोट्याउँदै सुर्खेत विमानस्थलमा एकजना संचारकर्मीले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट जिज्ञासा राखे।
‘मैले प्रष्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर ३ नै हो,’ प्रचण्डले संचारकर्मीको प्रश्नको जवाफमा भनेका छन्, ‘पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिलेपनि त्यहीँबाट लड्छु।’
त्यसपछि ती पत्रकारले थापासँग जोडेर प्रतिप्रश्न गरे। उनको प्रश्न थियो– भनेपछि बादलसँग प्रतिस्पर्धा हुने भयो?
तर, प्रचण्डले बादल र आफूबीच तुलना नै हुन नसक्ने बताए। ‘तुलना नहुने कुरालाई पत्रकार साथीहरुले नसोध्दा राम्रो हुन्छ।’ प्रचण्डको जवाफ थियो।
प्रचण्ड–बादल सम्बन्ध
प्रचण्ड र बादल सानैदेखिका दौँतरी हुन्।
सहपाठी समेत रहेका उनीहरु लामो समय एउटै विचारधारा बोकेर राजनीतिमा होमिएका थिए। ०५२ मा सशस्त्र जनयुद्धको सुरुवात गर्दैगर्दा प्रचण्ड र बादल सँगै थिए।
०६९ सम्म आइपुग्दा तत्कालीन माओवादी विभाजनको तहसम्म पुग्यो। मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो, पार्टी विभाजनको समयमा बादल प्रचण्डसँगै रहने धेरैको अनुमान थियो। तर, उनी वैद्यतिर लागे।
०६४ को निर्वाचनमा चितवनबाटै निर्वाचित भएका बादल ०७० को निर्वाचन बहिष्कार गरे।
मोहन वैद्य नेतृत्वको पार्टीको महासचिव बने बादल। वैद्यसँग पनि उनको यात्रा लामो समयसम्म टिक्न सकेन। उनी फेरि एक समूहसहित प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किए। प्रचण्डले उनलाई फेरि आफूपछिको दोस्रो नेता बनाएर अघि बढाए।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि ५ पुस ०७७ मा बादल एमालेतिरै लागेका थिए। अहिले उनी एमालेका उपाध्यक्ष छन्।
‘एकीकृत समाजवादीसँग एकता, घोषणापत्र एउटै’
प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयास भइरहेको खुलाएका छन्।
कर्णालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताए।
तर, आ–आफ्नो चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने पनि उनले बताए। ‘गठबन्धनभित्र आ–आफ्नो चुनाव चिन्हमा नै जाने तयारी भइरहेको छ।’ प्रचण्डले भने।
संघ र प्रदेशमा तालमेल गर्दा सन्तुलित ढंगले होस भनेर आफूहरु लागेको प्रचण्डको भनाई छ।
‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं। केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं,’ प्रचण्डले भने, ‘घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ। तरपनि चुनाव चिन्ह चाँही आ–आफ्नो हुन्छ।’
कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए। ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो। संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं,’ प्रचण्डले भने, ‘अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं। अहिले तयो मिस नगर्नेगरी सोचेका छौं।’
‘एमालेसँग चुनावमा गठबन्धन असंभव’
यस्तै प्रचण्डले नेकपा (एमाले)सँग चुनावमा गठबन्धन गराएर जाने विषय असम्भव भएको समेत बताए।
‘एमालेसँग हामीले भन्दै आएका कुरा के हो भने विगतका संसद विघटन देखि अन्य सबै कामको आत्मसमिक्षा गर्न आवश्यक छ,’ उनले भने, ‘त्यो नभएसम्म एमालेसँग कुनै सहकार्य हुने सम्भावना छैन।’
उनले गठबन्धन दलहरुबीचमा सिटको संख्यामात्र नभई प्रदेश र क्षेत्र समेत एकैपटक टुंगोमा पुर्याउने गरि अघि बढिएको बताए।
‘संघमा सिट पाउने दलले प्रदेशमा नलडने तथा प्रदेशमा लडने दलले संघमा दाबी नगर्ने गरि हामी अघि बढिरहेका छौं।’ उनले भने, ‘हिजो अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पुर्याएर अब एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज दिनभरी काम गरिँदैछ, प्रचण्डले भने, ‘आजको काम सकिएपछि भोलि बसेर क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौं।’
अध्यक्ष प्रचण्डले आगामी चुनावमा जाँदा सबै दलहरु आफ्नै दलको चुनाव चिन्हबाट लडने बताए । ‘वामदेव जी र बाबुराम जिले हसिया हतौडाबाटै चुनाव लडनु हुन्छ। नेकपा एससँग पार्टी एकता समेत हुन्छ। त्यसका लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढाइरहेका छौं।’
Shares
प्रतिक्रिया