काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आफ्नै क्षेत्र तीनकुनेको समस्या बारम्बार सम्झौता गरेर पनि समाधान नगरेकाले अब कुन मुखले जनतासँग भोट माग्न जानुहुन्छ भनेर प्रश्न गरेका छन्।
चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न उनले अध्यक्ष नेपाललाई सुझाव दिएका छन्।
‘आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्री बन्नुभयो राष्ट्रपति बन्नुभयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन’, तीनकुनेको तस्बिरसहित मेयर शाहले लेखेका छन्, ‘अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’
तीनकुनेको कुन समस्या भनेर चाहिँ शाहले खुलाएका छैनन्। सम्भवतः उनले अतिक्रमणको कुरा गरेको हुनुपर्छ।
Shares
प्रतिक्रिया