सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो।
हामी निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली (बुधबार) बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।
उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिए। चाँडै सहमती गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि बताए।
मन्त्री कार्कीले भने, ‘अब हामी निष्कर्षको नजिकमा पुगेका छौं। र, त्यो निष्कर्षका निमित्त छलफल भइराखेको छ। भोलि फेरि ८ बजे बैठक जारी छ। करिब करिब १६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेका छौं। र, त्यो चाँडै नै सहमति गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौ।’
यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरे।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भने, ‘अब राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ। आज अन्तिम दिन हो, टाइम छ, हेरौं।’
Shares
प्रतिक्रिया