आसन्न निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीसहित नेकपा एमालेका १५ पदाधिकारी प्रत्यक्ष चुनाव लड्ने भएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत एमालेका अध्यक्ष केपी शर्मा ओली (झापा–५), वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (काठमाडौं–५), उपाध्यक्ष विष्णु पौडेल (रुपन्देही–२), उपाध्यक्ष सुवास नेम्वाङ (इलाम–२), उपाध्यक्ष सुरेन्द्र पाण्डे (चितवन–१), महासचिव शंकर पोखरेल (दाङ–२), उपमहासचिव प्रदीप ज्ञवाली (गुल्मी–१), उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (लमजुङ प्रदेश ख), सचिव टोपबहादुर रायमाझी (अर्घाखाँची), सचिव लेखराज भट्ट (कैलाली–४), सचिव गोकर्ण विष्ट (गुल्मी–२) , सचिव योगेश भट्टराई (ताप्लेजुङ), सचिव छविलाल विश्वकर्मा (रुपन्देही–१), सचिव रघुवीर महासेठ (धनुषा–४) र सचिव पद्मा अर्याल (स्याङ्जा–२) मा उम्मेदवार बन्ने भएका हुन्।
बिहीबार बालकोटमा अबेर रातिसम्म बसेको एमाले सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका नेताको उम्मेदवारी टुंगो लगाएको हो।
एमालेका १५ पदाधिकारीसहित ५७ जना उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भइसकेका छन्।
दुई/तीन दिनभित्र सबै उम्मेदवारको टुंगो लाग्ने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको भनाइ छ। ‘छलफलमै छौं’, शनिबार बिहान तामाङले नेपालखबरसँग भने, ‘अब दुई तीन दिनमा उम्मेदवारी टुंगो लाग्ला।’
Shares
प्रतिक्रिया