ad ad

राजनीति


सुदूरपश्चिमका १६ क्षेत्रमा गठबन्धन र एमालेबाट को को लड्दै छन् चुनाव?

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग को भिड्दै?
सुदूरपश्चिमका १६ क्षेत्रमा गठबन्धन र एमालेबाट को को लड्दै छन् चुनाव?

गोकुल जोशी
असोज १७, २०७९ सोमबार ९:१६, कञ्चनपुर

प्रतिनिधि सभा सिटको भागबन्डा टुंयाएको सत्ता गठबन्धनमा नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढी आफ्नो भागमा राखेको छ। 

गठबन्धनमा नेपाली कांग्रेसले ९ निर्वाचन क्षेत्र पाउँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीको भागमा ३ निर्वाचन क्षेत्र परेका छन्।

नेपाली कांग्रेसको भागमा तराइका दुई जिल्लाका पाँच निर्वाचन क्षेत्र कञ्चनपुर–२, ३, कैलाली–१, ४ र ५ परेका छन्। यस्तै पहाडी जिल्लाअन्तर्गत पर्ने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, दार्चुला, अछाम–२ र बाजुरा कांग्रेसले पाएको छ।

नेकपा माओवादी केन्द्रले कञ्चनपुर–१, कैलाली–२, ३ र बैतडी पाउने पक्कापक्की भएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले अछाम–१, बझाङ र डोटी पाउने निश्चित छ।

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको उम्मेदवारी दर्ता गर्न तोकिएको मिति नजिकिँदै जाँदा टिकटका लागि गठबन्धन र नेकपा एमालेमा नेताहरू लबिङ पनि बढाएका छन्।

सुदूरपश्चिमका केही क्षेत्रबाहेक अधिकतर ठाउँमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। निर्वाचन मिति नजिकिएसँगै प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा गठबन्धन र नेकपा एमालेबाट उम्मेदवार को बन्लान् भनेर चासोका साथ हेरिन थालिएको छ।

गठबन्धन र एमालेबाट को को भिड्दै छन्? जिल्लागत विवरण
दार्चुलामा ठगुन्ना र बडू

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेबाट पूर्वमन्त्री गणेश ठगुन्ना उम्मेदवार बन्ने निश्चित छ। उनी दार्चुलाबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिस भएका छन्।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका नेपाली कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना बढी रहेको नेताहरू बताउँछन्।

यद्यपि कांग्रेसबाट त्यहाँ ०७४ मा चुनाव हारेका विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरी पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्। 

बैतडी : एमालेबाट भण्डारी र माओवादीबाट कुँवर
नेकपा एमालेको सुदूरपश्चिम अध्यक्षसमेत रहेका दामोदर भण्डारी बैतडीमा यसपटकको प्रतिनिधि सभा चुनावमा पनि प्रतिस्पर्धा गर्दै छन्।

०७४ मा चुनाव जितेका भण्डारीलाई यसपटक पनि एमालेले सर्वसम्मत सिफारिस गरेको छ। यही आधारमा केन्द्रले टिकट वितरण गरेमा भण्डारी बैतडीमा गठबन्धनविरुद्ध एमाले उम्मेदवार बन्ने निश्चित छ।

गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको बैतडीमा नरेन्द्र कुँवर (विजय सुन्दर) उम्मेदवार बन्ने छन्।

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग को ?
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट यसपटकको चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्दै छन्। 

०४८ यता लडेका कुनै पनि निर्वाचनमा नहारेका देउवा यसपटक पनि सुरक्षित देखिन्छन्। देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरामा एमाले नेता पठानसिंह बोहरा सर्वसम्मत सिफारिस भएका छन्।

कांग्रेसबाट कारबाहीमा परेर कांग्रेस बीपीमा प्रवेश गरेका कर्णबहादुर मल्लले पनि देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन्। यद्यपि एमाले र कांग्रेस बीपीबीच चुनावी तालमले हुने चर्चा पनि व्यापक छ।

कञ्चनपुर : गठबन्धनको उम्मेदवार निश्चित, एमालेलाई सकस
तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा गठबन्धनका उम्मेदवार स्पष्ट छन्। गठबन्धनमा कांग्रेसले कञ्चनपुर–२ र ३ पाएको छ। प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिने नेता एनपी साउद २ नम्बर र रमेश लेखक ३ नम्बर क्षेत्रमा चुनाव लड्ने छन्।
माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर १ मा भने पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बिना मगर गठबन्धनको साझा उम्मेदवार बन्ने छिन्।

कञ्चनपुरमा नेकपा एमालेले भने उम्मेदवार टुंग्याउन सकेको छैन। आकांक्षी बढी हुँदा एमालेलाई उम्मेदवार छान्न सकस परेको छ।

०७४ मा जितेको कञ्चनपुर ३ मा इन्चार्ज निरुदेवी पाल र सांसद डा. दीपकप्रकाश भट्टबीच टिकटका लागि रस्साकस्सी छ। एमाले अध्यक्ष केपी शर्मा ओली टिकट मानिने पालले टिकट पाउने सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन्।

एमालेको आन्तरिक धुव्रीकरणमा पाल ओलीनिकट र भट्ट १० बुँदे पक्षधर मानिन्छन्।

नेकपा एमालेले समानुपातिकतर्फ सांसद बनेकालाई नदोहोर्याउने निर्णय गरेको छ। त्यसैले पाललाई प्रतिनिधि सभा छिर्न यसपटक प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यता छ।

‘उहाँ (निरु) को केन्द्रसम्म राम्रो पहुँच छ’, नेकपा एमालेका एक नेताले नेपालखबरसँग भने, ‘त्यसैले पार्टीमा व्यक्तिवादी सोच हावी भएर उहाँले टिकट पाउने सम्भावना बढी छ।’

सांगठनिक रूपमा भट्ट बलियो रहेकाले उनलाई फेरि चुनावमा उर्तानुपर्ने मत पनि एमालेमा छ। ‘०५१ सालपछि एमालेले जित्न सकेको थिएन, ०७४ मा उहाँ (भट्ट) ले कांग्रेसको किल्ला तोड्नुभयो,’ एमालेका अर्का नेताले भने, ‘त्यसैले फेरि एकपटक उहाँलाई टिकट दिनुपर्छ।’ 

कञ्चनपुर २ मा एमालेबाट ०७४ का विजेता नरबहादुर धामी र राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहको सशक्त दाबी छ। यस्तै कञ्चनपुर १ मा एमालेबाट तारा लामा तामाङ, खेम सुवेदी र बीरबहादुर थापा आकांक्षी छन्।

यी हुन् कैलालीका प्रतिस्पर्धी 
सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा गठबन्धनमा आकांक्षी बढी देखिएका छन्।

कांग्रेसको भागमा परेको कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना बढी छ।

उसो त कांग्रेसबाट चौधरीसँगै बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामीको नाम सिफारिसमा परेको छ।

एमालेबाट सोम थापा, तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) मध्ये एकजना उम्मेदवार बन्नेछन्। 

यहाँ नागरिक उन्मुक्ति पार्टीबाट केन्द्रीय अध्यक्षसमेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनावमा होमिँदै छन्।

माओवादी केन्द्रको भागमा परेको कैलाली २ मा संविधानसभा सदस्य भगत बडुवाल सम्भावना बढी छ। 

एमालेबाट कैलाली २ मा झपटबहादुर रावल, सूर्यबहादुर थापा र कमला वलीको दाबी छ। ०७४ मा जितेका रावलको सम्भावना बढी रहेको एक नेताको दाबी छ।

‘अरू उम्मेदवार भन्दा बलियो उहाँ (झपट) नै हो, तर गुटगत हिसाबले टिकट बाँडिए नपाउन सक्नुहुन्छ,’ ती नेताले भने, ‘क्षेत्र नम्बर २ मा एमालेमा उहाँको विकल्प अरू कोही छैन।’

यस्तै माओवादीकै भागमा परेको कैलाली ३ मा टिकटका लागि रस्साकस्सी छ। ०७४ मा यो क्षेत्र माओवादीले जितेको थियो।

त्यसबेला जितेका माओवादी केन्द्रका गौरीशंकर चौधरी अहिले एमालेमा छन्। एमालेले यहाँ उनैलाई अघि सार्ने सम्भावना बढी छ। यसो त कैलाली ३ का लागि एमालेले चुलुराम चौधरीको नाम पनि अघि सारेको छ।

क्षेत्र नम्बर ३ मा गठबन्धनको साझा उम्मेदवार बन्न माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी (उत्सव), नेताहरू वीरमान चौधरी र कृष्ण चौधरी ‘कुन्दन’ लबिङमा छन्।

कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर उम्मेदवार बन्दै छन्। उनी चुनाव लडिरहेको डोटी एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई छाडेर बलायर कैलाली ४ बाट चुनाव लड्ने तयारीमा छन्।

कैलाली ४ मा कांग्रेसलाई नेताहरू व्यवस्थापन गर्न चुनौती छ। यहाँबाट प्रतिनिधि सभामा चुनाव लड्न ०७४ मा हारेका सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकले पनि आकांक्षा देखाएका छन्।

एमालेले कैलाली ४ मा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई उम्मेदवारका रूपमा अघि सारेको छ।

गठबन्धनमा कांग्रेसको भागमा परेको कैलाली ५ मा एकल सिफारिस भएकी डा. आरजु राणा देउवा समानुपातिकमा लागेपछि उम्मेदवार टुंगिएको छैन। कैलाली ५ मा कांग्रेसबाट सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु, नेताहरू सुनिल भण्डारी र निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्तलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।

डोटीमा आले भर्सेस मल्ल
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको डोटीमा पूर्वमन्त्री प्रेमबहादुर आले साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने छन्। नेकपा एमालेले त्यहाँका अध्यक्ष चक्र मल्ललाई गठबन्धनविरुद्ध चुनावमा उतार्ने तयारी गरेको छ।

अछाममा को को भिड्लान ?
दुई निर्वाचन क्षेत्र रहेको अछाम १ मा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवैको दाबी छ। 

समाजवादीले यो क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार वर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर बनाउन चाहेको छ।

नेकपा एमाले जिल्ला कमिटीले पूर्वउपाध्यक्ष डा. भीम रावललाई एकल सिफारिस गरे पनि उनको टिकट निश्चित भएको छैन। १० बुँदे समझदारी गरी एमालेमै बसेका रावल र अध्यक्ष ओलीको सम्बन्ध सुमधुर छैन।

सर्वसम्मत सिफारिसमा परेका रावलको टिकट रोक्न पार्टीको नीति विपरीत चलेको आरोप लगाउँदै केही दिनअघि सुदूरपश्चिम प्रदेशका रावलविरोधी नेताहरूले ओलीलाई रावलको विकल्प  खोज्न आग्रह गरेका थिए। उनीहरूले अछाम १ मा कृष्ण जैसीलाई उम्मेदवार बनाउन सिफारिस गरेको स्रोतको दाबी छ।

अछाम निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसबाट त्यहाँका सभापति पुष्पबहादुर शाह उम्मेवार बन्ने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन्।

यद्यपि त्यहाँ कांग्रेस नेताहरू बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीले पनि दाबी गरेका छन्।

नेकपा एमालेबाट अछाम २ मा ०७४ का विजेता यज्ञ बोगटी एकल सिफारिस भएकाले उम्मेदवार बन्ने निश्चित छ।

यस्ता छन् बाजुराका उम्मेदवार
बाजुरामा गठबन्धन र नेकपा एमालेबाट अझै उम्मेदवार स्पष्ट भइसकेको छैन। गठबन्धनबाट कांग्रेस सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार बन्ने सम्भावना बढी छ। 

पाण्डेसँगै खम्बबहादुर खाती, अंगराज तिमिल्सिना, रामसिंह रावल, जनकराज गिरी, कविराज पण्डित र मनबहादुर रावलको कांग्रेसबाट दाबी छ।

यस्तै नेकपा एमालेबाट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह र लोकेन्द्र शाही आकांक्षी छन्।

थापाले टिकट पाउने सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ। 

बझाङ : गठबन्धनबाट जोशी पक्का
गठबन्धनबाट बझाङमा नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी उम्मेदवार बन्ने निश्चित छ। नेकपा एमालेले अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरलाई उम्मेदवार बनाउने सम्भावना छ।

एमालेले बझाङबाट उम्मेदवारका लागि महरसहित महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .