ad ad

राजनीति


अबको नेतृत्व कस्तो? योगेश, गगन र रवीन्द्र तीनै जनाले भने : म जस्तो !

अबको नेतृत्व कस्तो? योगेश, गगन र रवीन्द्र तीनै जनाले भने : म जस्तो !

वाशुदेव मिश्र
मंसिर २९, २०७६ आइतबार ८:२९,

पोखरा छाल गनेर बस्ने कि छाल श्रृजना गर्ने? सूत्रधार उमेश चौहानले पालैपालो पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री गगन थापा र साझा पार्टीका संयोजक तथा पूर्वपत्रकार रवीन्द्र मिश्रसामू यही प्रश्न तेस्र्याए।

पत्रकारिताको ‘ह्याङ’ बाँकी नै छ सायद, रवीन्द्रसँग। उनले राजनीतिक नेतृत्वको आचरण नसुध्रिएकाले वैकल्पिक शक्तिको आवश्यकता परेको मात्रै बताएनन्, आफ्ना पार्टी सशक्त एजेन्डा लिएर आएकाले आफ्नै नेतृत्व हुनुपर्ने जिकिर गरे।

‘हामीलाई अहिलेको राजनीतिक संरचनामा आपत्ति छैन, शैलीमा आपत्ति छ। राजनीतिक नेतृत्वको आचरणमा समस्या छ’, उनको जोड थियो। उनले अहिले अस्तित्वमा रहेका राजनीतिक दलहरुले हतियार बिनाको फौजी संरचना खडा गरेको र त्यो संरचनामा नबस्नेलाई अवसरबाटै बञ्चित गरिने गरेको जिकिर पनि गरे। ‘त्यो भनेको के हो भने, राजनीतिक सामन्तवादले अपहरण गरेर राखेको छ। श्रमिकहरुलाई शासकहरुले आफ्नो मातहतमा राखेको जस्तो भएको छ’, उनले भने, ‘राजनीतिक नेतृत्वको एउटा वर्गले यस्तो डोरी चुडियो भने व्यवसाय गर्न सक्दैन। युरोपमा राम्रो व्यवसाय गर्नेले प्रधानमन्त्रीदेखि तल्लो तहसम्म कमिसन छुट्याउनु पर्छ। त्यही प्राज्ञ हुनु प¥यो भने पनि भागबण्डा हुन्छ। प्रणाली कुन किसिमले चलेको छ भन्ने हाम्रो समस्या हो।’

उनले यहाँको नेतृत्व कसम खुवाउँदैमा सुध्रिने खालको नभएको बताउँदै अगाडि थपे, ‘गोकर्णको जग्गा प्रति रोपनी ५ सयको दरले ठेक्का दिएको छ, व्यापारिक घरानालाई। यो समाजको राजनीतिक सामन्तवाद नहटाएसम्म परिवर्तन हुँदैन र हामीले त्यही परिवर्तन खोजको हो।’ उनले राज्य कल्याणकारी र समाज परोपकारी हुनुपर्ने बताउँदै देश समृद्ध हुन राज्यको चरित्र कल्याणकारी हुनुपर्नेमा जोड दिए।

खान पुगोस् , दिन पुगोस् भन्ने वाक्याशं नै गलत भएको र यसले एउट वर्गलाई आशामा बाँच्ने वर्ग सोचेको भन्ने सूत्रधारको प्रश्नमा उनले भने, ‘दिन पुगोस् भन्ने कुरा पितापूर्खाबाट आएको हो।’ रवीन्द्रको कोट पनि फोहर नै देखियो नि भन्ने श्रोताको प्रश्नको उत्तर दिँदै उनले भने, ‘फोहर पोखरीमा मैलो सफा गर्न पसेको हो, मैलो भयो, सफा गरेपछि सफा नै हुन्छ।’

 कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले अर्कालाई खराब भनेर मात्रै समस्याको समाधान नहुने बताए। नेपालका संस्थाहरु कसरी बने भन्नेतिर ध्यान नदिई कसैलाई राक्षसीकरण वा देवत्वकरण गर्दैमा समस्याको समाधान नहुने बताउँदै उनले अब नयाँ नर्सरीबाट राजनीतिक नेतृत्व खोज्न पहल गर्नुपर्ने बताए।

‘पुराना नेता सबै गलत हुन् भन्ने हैन, उनीहरुका राम्रा कुरा सिक्ने हो, अहिले मैले अक्कुपाई टुँडिखेल अभियान पनि हेरिरहेको छु, सायद कांग्रेसलाई त्यही अभियानले मेयरको उम्मेदवार देला’, उनले भने, ‘हाम्रा राजनीतिक दलहरुको इन्ट्री प्वाइन्ट सानो छ, खुला बनाउनुपर्छ। अब नयाँ नर्सरीबाट आएकाहरुलाई पनि पार्टीमा छिराउनुपर्छ, चाहे, योगेश दाईको नेकपामा होस् वा हाम्रो पार्टीमा।’

Image may contain: 4 people

उनले यो समाज निर्जिव नभएको तर प्रश्नहरु जसरी सोधिनु पथ्र्यौ त्यसरी नसोधिएको स्वीकारे। ‘सयौँ मान्छेले सामाजिक सञ्जालमा कयौँ प्रश्न सोध्नुहुन्छ। कोलाहलमा मिसिँदै, भाँसिदै गयौँ होला’, उनले भने, ‘सायद जति साहस हामीले गर्नुपर्ने हो, जति हिम्मत गर्नुपर्ने हो सायद चुकेका छौँ होला। केही वर्षअघि ग¥यौँ। आफ्नैबारेमा बढी सोच्यौँ होला। केही खुम्चियौँ होला तर गलत गरेका छैनौँ।’

गगनले सिक्ने पनि प्रतिस्पर्धा गर्ने पनि राजनीतिक दलसँगै भएको बताउँदै अगाडि भने, ‘म योगेश दाइ, घनश्याम दाइलाई हेर्छु, सिक्ने पनि लड्ने पनि उहाँहरुसँगै हो।’ नेता थापाले आफू पनि मन्त्री भएको र सबै जानेको छु भन्ने भ्रम पालेर त्यहाँ जाँदा केही पनि गर्न नसक्ने अवस्था हुने पनि खुलासा गरे। वर्तमान पर्यटनमन्त्रीलाई संवोधन गर्दै उनले भने, ‘आइ नो आइ डन्ट नो भन्नेबाट सुरु ग¥यो भने केही थाहा होला, ट्रस्ट मि दाइ (योगेश भट्टराई) हामीलाई केही कम थाहा छ।’

उनले प्रतिपक्षको रुपमा कांग्रेसले कालापानी पनि नछोड्ने, गोकर्ण पनि नछोड्ने र बालुवाटारको लागि पनि लडिरहने नीति लिएको पनि जिकिर गरे।

गगनको यो भनाईमा सही थाप्दै पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले ल्याएको परिवर्तनकै कारण रवीन्द्र मिश्रहरुले अवसर पाएको जिकिर गरे। ‘नेपाली कांग्रेस र कम्युनिस्टले चलाएको डोजरले नसम्याएको (परिवर्तन नल्याएको) भए रवीन्द्र मिश्र बीबीसीमा समाचार फुकिरहेको हुनुहुन्थ्यो’, उनले भने, ‘साँझ गगनजी र म कफी खाएर क्या राम्रो समाचार दिनुभयो भनिन्थ्यो होला।’

पूर्वराजा ज्ञानेन्द्र कुनै डान्स क्लबमा गएर नाचेकोमा आपत्ति जनाउने वर्तमान नेतृत्वबारे प्रश्न उठाउँदै सूत्रधार चौहानले त्यसको प्रतिकार गर्न शेरबहादुर वा केपी ओलीलाई डेभाजुमा गएर नचाउनु पर्ने हो कि? भनी सोधेको प्रश्नमा पर्यटनमन्त्री योगेशले भने, ‘ पूर्वशासकहरु जसरी आउनु भएको छ, त्यो सामान्य विषय हो। सयौँ वर्ष सभ्रान्त संस्कृतिमा बसेकाहरु जनताको संस्कृतिमा रुपान्तरित हुँदैछन्। यो राम्रो हो।’

उनले छालहरुलाई निकास दिने काम नै दलहरुको भएको बताउँदे निकास दिए देशले पनि सही बाटो समाउने धारणा राखे। लोकतन्त्रले मात्र छालहरुलाई सही बाटो दिने उनको जिकिर थियो। उनले नेपाली जनताको परिवर्तनको धारणा, कम्युनिष्ट र लोकतान्त्रिक विचारधाराबाट देशमा परिवर्तन आएको र यसको जग बलियो भएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए। ‘जनताका प्रश्नहरुले सोसल मिडियामा आएका प्रश्नहरुले आत्तिनु पर्दैन। कुनै पनि देशमा एउटा राजनीतिक नेतृत्व सजिलै स्थापित हुँदैन। जनमत चाहिन्छ। अहिलेको नेतृत्वले बाढी पहिरोको सामना गरेका छन्’, उनले अहिलेको नेतृत्वको समर्थन गर्दै अगाडि भने, ‘अहिले मध्यमवर्गको छटपटी देखिन्छ, यो दुनियाँको कुरा हो। युवाहरुको जनसंख्या बढी छ, युवाहरुले अवसर खोजी गर्छन् र त्यो नपाए आक्रोस, निरासा र विद्रोह आउन सक्छ तर व्यवस्थापन गर्नुपर्छ।’

उनले आफू कर्मले नै भिन्नता देखाउन लागेको बताउँदै आफूले गल्ती गरे प्रश्न उठाउन आम नागरिकसँग आग्रह पनि गरे। उनले आफू मन्त्री भएका ४ महिना मात्रै भएको स्मरण गर्दै समस्याबाट छटपटिने नभई त्यसलाई बाहिर ल्याएर समाधान खोज्ने दिशामा अगाडि बढेको जिकिर गरे। उनले नेपालमा हाल रहेको विदेशीलाई बढी र नेपालीलाई कम हवाई भाडादर घटाएरै छाड्ने जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .