ad ad

राजनीति


भीम रावलको टिकट खोसिएपछि एमालेमा असन्तुष्टि, अछामका सबै कमिटीले राजीनामा दिँदै

ओलीले माओवादीबाट आएका बोहोरालाई बनाए उम्मेदवार
भीम रावलको टिकट खोसिएपछि एमालेमा असन्तुष्टि, अछामका सबै कमिटीले राजीनामा दिँदै

फाइल तस्बिर


गोकुल जोशी
असोज २२, २०७९ शनिबार १०:५६, कञ्चनपुर

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा असन्तुष्टि तीव्र भएको छ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ।  

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

त्यसका लागिग शनिबार दिउँसो १२ बजे भीम रावलनिकट नेताहरुले अछाममा भेला डाकेका छन्।

‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण अन्यायको विरोध गर्छौँ,’  अछामका एकजना एमाले नेताले भने, ‘क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ।’

जिल्ला कमिटी हुँदै प्रदेश कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपड बोहरालाई दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ। 

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए।

एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए। 

भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए।

एमालेमा ५ संकट : केपी सर्वज्ञानी, शंकर मनोगतवादी बनेको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .