पछिल्ला १७ वर्षमा चीनका अधिकारीहरुले सबैभन्दा बढी भ्रमण गर्ने देश नेपाल बनेको छ।
अमेरिकाको कलेज अफ विलियम एन्ड मेरीको रिसर्च ल्याव एडडेटाले गरेको एक अध्ययनअनुसार सन् २००० देखि २०१७ सम्म चिनियाँ अधिकारीहरुले दक्षिण एसियाका देशहरूमा १०३९ र मध्यएसियाका देशहरूमा ७२२ भ्रमण गरेका छन्।
‘तीमध्ये सबैभन्दा लोकप्रिय गन्तव्य नेपाल छ, जहाँ सोही अवधिमा १२९ औपचारिक भ्रमण भएका छन् भने १०२ भ्रमण गरिएको श्रीलंका दोश्रोमा रहेको छ,’ सो अध्ययनलाई उद्धृत गर्दै हङकङबाट सञ्चालिन साउथ चाइना मर्निङ पोष्ट अनलाइनले आइतबार जनाएको छ।
यो अध्ययन रिपोर्टले नेपालमा चीनको राजनीतिक र आर्थिक प्रभाव बढ्दै गएको भन्ने विश्लेषणहरूलाई थप पुष्टी गर्न खोजेको छ। २३ वर्षपछि मात्रै चीनका राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमण गरेपनि उच्च अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको देखिएको छ। राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा चिनियाँ पर्यटकको दक्षिण एसियामा पहिलो गन्तव्य नेपाल हुने बताएका थिए।
‘नेपालमा चिनियाँ अधिकारीहरुले अधिकांशः कम्युनिष्ट नेताहरुलाई भेट्ने गरेका छन्’, सो रिपोर्टमा दावी गरिएको छ, ‘चीनले थुप्रै नेपाली नेताहरुलाई चुनावी अभियानमा आर्थिक सहयोग दिएको थियो र चिनियाँ अधिकारीहरु उनीहरुको गृहक्षेत्रका भ्रमणमा सँगै जाने गरेका छन् जुन कुरा चीनमा नयाँ अभ्यास भने होइन।’
भारतको प्रभावक्षेत्र मानिने भुपरिवेष्ठित नेपालको शीर्ष तहमा सम्बन्ध गहिरो बनाउनु चीनको भूराजनीतिक महत्वाकांक्षाका लागि निकै महत्वपूर्ण रहेको रिपोर्टमा जनाइएको छ।
चीनको विदेश मन्त्रालयको बजेट प्रतिवर्ष ११ प्रतिशतले बढिरहेको र छिट्टै युरोपियन युनियनको खर्च बराबर हुने उल्लेख छ।
अध्येताहरुले चिनियाँ नेताहरूको ध्यान भने ती देशका सर्वसाधारणको हीतभन्दा राजनीतिक सभ्रान्त (एलिट) वर्गमा बढी रहेको जनाएका छन्।
चीनले आफ्नो सम्बन्ध विस्तारका लागि मध्य र दक्षिण एसियाली मुलुकहरुमा बढी जोड दिएको र ती देशहरुका चुनाव प्रभावित गर्ने गरेको सो अमेरिकी प्रतिवेदनले दावी गरेको छ।
त्यस्तो कुटनीतिक पहललाई ठूला बजेटहरु मार्फत् सघाइएको र यहि गति कायम रहेमा चीनले कुटनीतिक क्षेत्रमा गर्ने खर्च सन् २०२७ सम्ममा युरोपियन युनियनको बजेट बराबर हुने सो अध्ययनले जनाएको छ।
प्रतिक्रिया