सत्ता गठबन्धनले तत्काल निर्णय नसच्चाए नेपका एकीकृत समाजवादी पार्टी सुर्खेतले स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ।
समाजवादी सुर्खेत जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
समाजवादीका सुर्खेत अध्यक्ष मोहन बडुवालले विभिन्न चार वटा निर्णय भएको जानकारी दिए।
अध्यक्ष बडुवालका अनुसार कर्णाली प्रदेशमा गठबन्धनदलहरुबीच सिट बाँडफाँडबारे सुर्खेतका २ प्रतिनिधि सभा र ४ प्रदेश सभा कुनै पनि समाजवादीलाई नपरेपछि पार्टीको केन्द्रीय कार्यालयलाई ध्यानआकर्षण गराउने निर्णय गरेको छ।
यस्तै, बैठकले आफ्नै पार्टीको तर्फबाट सुर्खेतका ६ वटै निर्वाचन क्षेत्रमा चुनाव चिह्न कलमबाट निर्वाचन लड्न टिकट उपलब्ध गराउन केन्द्रीय पार्टी कमिटीलाई आग्रह गरेको अध्यक्ष बडुवालले जानकारी दिए।
‘हाम्रो यो निर्णय केन्द्रीय पार्टी कमिटीले सुनेन भने र पार्टीले टिकट दिएन भने सुर्खेत जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाएर आफ्ना मतको रक्षा गर्ने निर्णय गरेका छौँ,’ उनले थपे, ‘यदि पार्टी तथा अन्य क्षेत्रबाट र गठबन्धनबाट पनि अवरोध सिर्जना भएमा सामूहिक राजीनामा दिएर ६ वटै सिटमा लड्नका लागि स्वतन्त्र उम्मेदवार समेत चुनिसकेका छौँ।’
अध्यक्ष बडुवालका अनुसार स्वतन्त्र उम्मेदवाहरुमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि यज्ञबहादुर रेग्मी, प्रदेश सभाका (क) मा अमृतप्रसाद जैसी र (ख) मा टुंगो लगाउन बाँकी छ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि कुलदीप भट्ट, प्रदेश सभा (क) मा शिव उपाध्याय र (ख) मा मोहन बडुवाल स्वतन्त्र उम्मेदवारका लागि छनौट समाजवादी सुर्खेतले गरेको छ।
सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन गरेर समाजवादीलाई आउट गरेपछि समाजवादीले यस्तो कदम चालेको हो।
स्थानीय तहको निर्वाचन–२०७९ मा पनि सुर्खेतका अधिकांश स्थानीय तहमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो भने समाजवादीलाई गठबन्धनमा मिसाएको थिएन।
गठबन्धनले सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ का प्रतिनिधि सभा दुबै सिट कांग्रेस र प्रदेश सभाका चार सिटमा दुई-दुई माओवादी र कांगेसले बाडेका छन्।
Shares
प्रतिक्रिया