ad ad

राजनीति


दुई ‘कमान्डर’को भेट-डोटी छाडेका वीरलाई जित्ने चुनौती, लेखराजले गर्लान् ह्याट्रिक?

गठबन्धनको मोर्चाबन्दी चिर्न सजिलो छैन एमालेलाई
दुई ‘कमान्डर’को भेट-डोटी छाडेका वीरलाई जित्ने चुनौती, लेखराजले गर्लान् ह्याट्रिक?

गोकुल जोशी
असोज २४, २०७९ सोमबार २२:७, कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस र नेकपा एमालेका ‘हेभिवेट’ नेता आमनेसामने भएका छन्।

क्षेत्र नम्बर ४ मा कांग्रेसबाट पूर्वमन्त्रीसमेत रहेका सुदूरपश्चिम प्रदेश कार्य समिति सभापति वीरबहादुर बलायर उम्मेदवार छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले माओवादी केन्द्रबाट समाहित भएका सुदूरपश्चिम इन्चार्ज एवम् पूर्वमन्त्री लेखराज भट्टलाई चुनावी मैदानमा उतारेको छ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली ४ मा प्रमुख दुई पार्टी कांग्रेस र एमालेका सुदूरपश्चिम प्रदेशका कमाण्डरबीच प्रतिस्पर्धा हुन लागेको हो।

यसपटक प्रदेशमा छुट्टाछुट्टै पार्टी तर समान जिम्मेवारीमा रहेका नेताद्वय बलायर र भट्टको प्रतिस्पर्धा सत्ता गठबन्धनका कारण संयोगले जुरेको छ।

सत्ता गठबन्धनमा निर्वाचन लड्दै आएको डोटी एकीकृत समाजवादीका प्रेम आलेलाई छोडेर बलायर कैलाली ४ मा झरेका हुन्।

वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार कैलाली ४ मा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएको कांग्रेस स्थानीय तहको निर्वाचनको मतपरिणामले उत्साहित छ। 

सत्तारुढ गठबन्धनविरुद्ध एक्लै चुनावमा उत्रिएको एमालेलाई साख जोगाउने चुनौती छ।

वि.सं. २०७४ सालको चुनावमा डोटीमा वाम गठबन्धनका साझा उम्मेदवार आलेसँग झिनो मतान्तरले पराजित भएका बलायर कैलाली ४ मा जित निकाल्ने दाउमा छन्।

एमालेका भट्ट कांग्रेसका बलायरलाई रोकेर सत्तारुढ गठबन्धनविरुद्ध जित निकाल्दै एमालेकै निरन्तरता दिने रणनीतिमा छन्।

सत्ता गठबन्धनबाट कैलाली ४ को प्रदेश सभा १ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र २ मा कांग्रेसका प्रकाश बमको उम्मेदवारी परेको छ। 

एमालेबाट प्रदेश सभा (१) मा भीमबहादुर देउवा र प्रदेश सभा २ मा हरिसिंह साउद उम्मेदवार छन्।

जितको खोजीमा बलायर
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने बलायर नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका हुन्।

उनी २०६४ सालको पहिलो संविधान सभामा डोटी १ बाट चुनाव लडे। त्यसबेला डोटीमा दुई निर्वाचन क्षेत्र थिए। 

बलायरले ०६४ को पहिलो संविधान सभा चुनाव एमालेका हर्कबहादुर सिंहसँग हारे। त्यसपछि ०७० सालको निर्वाचन जितेका उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा यातायात मन्त्री बने।

०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेसँग १ हजार ६३२ मतले बलायर हारे। 

त्यसबेला आलेले ३२ हजार ५१० मत ल्याएका थिए भने बलायरले ३० हजार ८७८ मत मात्रै।

वि.सं. ०७४ को चुनावमा डोटीमा एउटै मात्रै निर्वाचन क्षेत्र थियो। ०७४ मा डोटीमा पराजित बलायर यसपटक कैलाली ४ मा जितेर संसदको यात्रा तय गर्ने दाउमा छन्।

‘ह्याट्रिक’ दाउमा लेखराज
कैलालीबाट भट्टले तीनवटा संसदीय निर्वाचन लडेका छन्। ०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट संसदीय चुनाव ‘फेस’ गरेका लेखराजले जित निकाल्दै संसदको यात्रा तय गरेका थिए।

०६४ र ०७० को चुनावमा कैलालीमा ६ वटा निर्वाचन क्षेत्र रहेका थिए। कैलाली ५ बाट चुनाव लडेका लेखराजले ०६४ मा कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका थिए।

भट्टले त्यसबेला १७ हजार ९७९ मत ल्याएका थिए। उनी प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक श्रममन्त्री बने। 

त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि भट्टले वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाए। 

०७० सालमा लेखराजले पराजय भोग्नु पर्यो। उनी ०६४ का प्रतिस्पर्धी कांग्रेसकै भाटसँग पराजित भएका थिए। 

त्यसबेला भाट १६ हजार ३४६ मत सहित विजयी भएका थिए। भट्ट ११ हजार ३४ मतमा खुम्चिए। 

०७४ को चुनावमा भने एमालेको समर्थनमा लेखराज कैलाली ४ बाट विजयी भएका थिए। ०७४ पछि कैलालीमा ५ वटा मात्रै निर्वाचन क्षेत्र रहेका थिए।

०७४ मा वामगठबन्धनका साझा उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत ल्याएका थिए।

तीन संसदीय चुनावमध्ये दुईमा जित र अर्कोमा हार व्यहोरेका लेखराज यसपटक जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। 

तर सत्तागठबन्धनविरुद्ध एमाले एक्लै चुनावमा होमिनु पर्दा उनले ‘ह्याट्रिक’ पाउन कठिन छ।

स्थानीयको नतिजा
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा गठबन्धनविरुद्ध एमालेलाई कैलाली ४ मा जित निकाल्न सहज छैन। 

पूर्वमाओवादीका लेखराज भट्ट एमालेबाट पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्दा अग्नि परीक्षामा छन्।

यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एक वडा गरी कूल ३० छन्।

स्थानीय तहको चुनावमा नेपाली कांग्रेस एक्लैले १५ वडा जितेको छ। माओवादी ४ र एकीकृत समाजवादी १ वडा जितेको छ। एक वडामा भने स्वतन्त्र विजयी भएका छन्।

नेकपा एमालेले ९ वडा जितेको छ। सत्तारुढ गठबन्धनले जितेको वडा संख्या २० हुन्छ, जुन एमालेको भन्दा दोब्बर हो। 

यी पालिकामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच प्रमुख उपप्रमुखमा मात्रै तालमेल भएको थियो। 

कांग्रेसले गोदावरी नगरपालिका, माओवादीले गौरीगंगा र एमालेले चुरे गाउँपालिकाको प्रमुख जितेको छ।

कांग्रेसले गौरीगंगा र चुरे गाउँपालिकाको उपप्रमुख जित्दा एमालेले गोदावरीको उपप्रमुख जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .