ad ad

राजनीति


जसलाई जिताउन हिँडे उनैसँग भिड्दै ऐन

‘भेट्रान’ भानुभक्त फेरि मैदानमा
जसलाई जिताउन हिँडे उनैसँग भिड्दै ऐन

फाइल तस्बिर


गोकुल जोशी
असोज २६, २०७९ बुधबार ७:३७, कञ्चनपुर

प्रतिनिधिसभा सदस्यका लागि बझाङमा नेकपा एमाले र पूर्व–एमाले नेताबीच प्रतिस्पर्धा हुने भएको छ।

सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता पूर्वमन्त्री भानुभक्त जोशी प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

उता एमालेले अनेरास्ववियुका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य ऐन महरलाई जोशीविरुद्ध चुनावी मैदानमा उतारेको छ।

जोशी एमाले बझाङका संस्थापक नेता थिए। उनी रहँदासम्म बझाङ एमालेको राजनीति उनकै वरिपरी घुम्थ्यो।

एमाले विभाजनमा १० बुँदे सहमतिसँगै एमालेमै बसेका जोशी केही समयपछि  सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीतिर लागेका थिए।

उनै जोशी नेपाली कांग्रेस र नेकपा माओवादी केन्दको समर्थनमा यसपटक नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको उम्मेदवार छन्। 

यसपटक बझाङमा जोशीले एमालेको राजनीतिमा आफ्नै छत्रछायामा हुर्किएका ऐन महरसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। महर विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा आएका हुन।

एमालेका पाका नेता जोशी समाजवादीतिर लाग्नु र अध्यक्ष केपी शर्मा ओलीसँग नजिकको सम्बन्धका कारण महरले बझाङका पाका नेताहरुलाई पछि पार्दै  टिकट लिन सफल भएका छन्।

पहिलो संविधानसभा चुनावमा एमालेबाट उम्मेदवार बनेका जोशीलाई जिताउन मत मागेका महर उनैविरुद्ध चुनावमा होमिएका हुन।

विगतमा नेता कार्यकर्ताको सम्बन्धमा रहेका जोशी र महर अहिले मुख्य प्रतिस्पर्धीका रुपमा खडा भएका छन्। 

‘एमालेमा हुँदा उहाँ (भानुभक्त) अभिभावक, हामी सबैले मानेको नेता हुनुहुन्थ्यो, तर बाटो बिराउनु भयो, बुवाको उमेरको उहाँ अहिले पनि चुनाव लड्दै हुनुहुन्छ,’ महरले भने, ‘नयाँलाई अवसर दिनु भएन, आफँैले मरिहत्ते गरे, बझाङले परिवर्तन खोजेकाले मेरो जित निश्चित छ।’

एकीकृत समाजवादी एक्लै बझाङमा कमजोर भए पनि सत्तारुढ दलको साथले प्रतिनिधि सभामा जोशीको जित सुनिश्चित रहेको समाजवादीका नेताहरुको तर्क छ।

‘सांगठनिक रुपमा हामी विद्रोह गरेर आएकाले एक्लै कमजोर होउला, तर सत्ता गठबन्धनबाट उहाँ (भानुभक्त) साझा उम्मेदवार हुनुहुन्छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँको व्यक्तित्व, अनुभवले पनि बढी मत ल्याउनुहुन्छ, जित निश्चित हो।’

सत्ता गठबन्धनबाट प्रदेश सभा (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंह र प्रदेश सभा २) मा माओवादी केन्द्रका भीम भण्डारीको उम्मेदवारी छ। 

यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (१) मा अफिलाल ओखेडा र प्रदेश सभा (२) मा एलबी रावल चुनावी मैदानमा छन्।

‘भेट्रान’ भानुभक्त
सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी बझाङमा वि.सं. २०४८ सालदेखि चुनाव लड्दै आएका छन्। 

जोशीले बझाङमा एमालेबाट तीन चुनाव लडिसकेका छन्। तीमध्ये एक पटक हार्दा दुई पटक जितेका छन्।

०४८ मा दुई निर्वाचन क्षेत्र रहेको बझाङमा १ बाट लडेका जोशी कांग्रेसका अर्जनजंग बहादुर सिंहसँग पराजित भए।

०५१ मा उनै सिंहलाई पराजित गर्दै जोशीले पहिलो पटक संसदीय यात्रा तय गरे।  त्यसपछि ०५६ मा एमालेबाट यो क्षेत्रमा अर्जुन थापा चुनाव लडे। तर कांग्रेसका अर्जुनजंग बहादुर सिंहसँग पराजित भए।

त्यसपछि ०६४ को पहिलो संविधान सभा चुनावमा लडेका जोशी कांग्रेसका अर्जुनजंग बहादुर सिंह पराजित भए। यसैबेला जोशीले वनमन्त्रीको जिम्मेवारी पाएका थिए।

०७० को दोस्रो संविधानसभा चुनावमा बझाङ १ मा एमालेबाट मानप्रसाद खत्री कांग्रेसका अर्जुनजंग बहादुर सिंहलाई पराजित गर्दै विजयी भए। 

एउटै निर्वाचन क्षेत्र भएको ०७४ को चुनावमा एमालेबाट भैरवबहादुर सिंह विजयी भएका थिए। त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंह पराजित भए।  

०६४ पछिका दुई चुनाव नलडेका जोशी अहिले संसदीय राजनीतिको चौथो निर्वाचनमा जितको ह्वाट्रिक गर्ने दाउसहित लड्दै छन्। यसपटक उनको पार्टी भने फेरिएको छ। विगतका प्रतिस्पर्धी दलको समर्थन उनलाई मिलेको छ। 

‘अनटेस्ट’ ऐन
एमालेले बझाङमा यसपटक ऐन महरलाई संसदीय चुनावमा ‘डेब्यू’ गराएको छ। वि.सं. २०५५ देखि उनले एमालेमा विद्यार्थी राजनीति थालेका थिए।

विद्यार्थी आन्दोलनमा सक्रिय महर अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य,  महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए।

एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपा बन्दा वि.सं. २०७६ जेठ २ गते उनी भ्रातृ संगठन अनेरास्ववियूको अध्यक्ष बनेका थिए। त्यसपछि उनी विद्यार्थी राजनीति छोडेर एमालेको मूल राजनीतिमा प्रवेश गरे। 

एमालेको १० औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए। अहिले उनी एमाले बझाङको सहइन्चार्ज समेत छन्।

पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरिरहेका महरलाई आफ्नै पार्टीका विद्रोही नेता जोशी चुनौतीको रुपमा रहेका छन्।

स्थानीयको परिणाम
एमालेको बलियो संगठन रहेको बझाङमा स्थानीय तहको मतपरिणाम हेर्दा सत्ता गठबन्धनविरुद्ध एमाले कमजोर स्थितमा छ। 

१२ स्थानीय तहका कूल ९४ वडामध्ये सत्ता गठबन्धनका दलहरुले कूल ५८ वडा जितेका छन्। एमालेले २८ वडा जित्दा ८ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कांग्रेसले ३१, माओवादी केन्द्रले १२ र एकीकृत समाजवादीले १५ वडा जितेको छ। 

१२ वटा स्थानीय तहमध्ये कांग्रेसले सूर्मा गाउँपालिका, वित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिका, बंगुल नगरपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरेर ६ पालिका प्रमुख जितेको छ।

एमालेले थलारा गाउँपालिका, तलकोट गाउँपालिका र साइपाल गाउँपालिका गरेर ३ पालिका प्रमुख जितेको छ। 

नेकपा माओवादी केन्द्रले दुर्गाथी गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिकाको प्रमुख जितेको छ।

स्थानीय तहको चुनावमा केही स्थानीय तहबाहेक बझाङमा सत्ता गठबन्धनले निरन्तरता पाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .