गत वैशाखको स्थानीय तह निर्वाचनमा मेयरको टिकट खोसिएका धर्मराज पोखरेल अहिले नेपाली कांग्रेसबाटै निकालिएका छन्।
नेपाली कांग्रेस प्रदेश नं. १ कार्य समितिले उनलाई त्यसबेला दिक्तेल रुपाकोट-मझुवागढीको मेयरको टिकट दिएको थियो। तर सभापति शेरबहादुर देउवाले खोसेर अर्कैलाई दिएका थिए।
टिकट पाएर उम्मेदवारी दर्ता गरिसकेपछि केन्द्रबाट तीर्थराज भट्टराईलाई टिकट दिइएको थियो। पछि निर्वाचन अधिकृतको कार्यालयले तीर्थराजलाई नै आधिकारिकता प्रदान गरेको थियो।
तीर्थराजलाई टिकट दिएपछि धर्मराजलाई पछि हेरौँला भन्दै त्यतिबेला उम्मेदवारी नै फिर्ता गराइएको थियो।
त्यसबेला प्रदेशबाट अन्तिम समयमा टिकट पाएका धर्मराज उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमा पुग्दा कांग्रेसकै कार्यकर्ताबाट कुटिएका थिए।
सुरक्षाकर्मीबीच उम्मेदवारी दिन सफल भएपनि पछि हट्नु परेको थियो।
तर तीनै धर्मराजलाई अहिले पार्टीबाट निकालिएको हो। केही वर्षअघि मात्रै राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेर उपसभापति भएका पोखरेलको अहिलेलाई नेपाली कांग्रेसको राजनीतिमा ब्रेक लागेको छ।
जिल्लाका नेताहरुले नै उनलाई अघि सारेका थिए। सँगै उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री सर्वधन राई र पूर्व पार्टी सभापति सुवासकुमार पोखरेलले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले चलाखीपूर्वक उम्मेदवारी फिर्ता लिएपनि धर्मराजलाई भने कांग्रेसबाटै ठेलिएको छ।
गठबन्धनविरुद्ध उम्मेदवारी दिएका सबैलाई कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निकाल्ने निर्णय गरेको छ। यही निर्णयका कारण धर्मराज पनि निकालिएका हुन्।
जिल्लामा बलियो अवस्थामा रहेको कांग्रेसले एउटा प्रदेशमा मात्रै टिकट पाएपछि चर्को असन्तुष्टि जनाएको थियो।
संघमा माओवादीलाई टिकट दिने हो भने दुवै प्रदेश आफूले पाउनु पर्ने कांग्रेस खोटाङको माग थियो। तर पार्टीले प्रदेश क नेकपा एकीकृत समाजवादीलाई दिएपछि त्यो क्षेत्रमा कांग्रेसले उम्मेदवार खडा गरेको हो।
पार्टीभित्र सरसल्लाहले नै आफ्नो उम्मेदवारी कायम गरिएको पोखरेलले नेपालखबरलाई बताए।
‘माओवादीसँग गठबन्धन बिग्रिन्छ भनेर हामीले संघमा फिर्ता लियौं, प्रदेश क मा सुवासजीले फिर्ता लिनुभयो। हाम्रो १७ हजार भोट ११ सय भोटलाई खल्याउन सक्दैनौं त्यही भएर यो क्षेत्रमा उम्मेदवारी कायम राख्यौँ’, पोखरेलले भने, ‘कार्यकर्ता जरजर रोइरहेका छन् कांग्रेसमा भोट हाल्ने ठाउँ नपाएर त्यही भएर मेरो उम्मेदवारी कायम रह्यो।’
गठबन्धन मात्रै सबै कुरा नभएको र कार्यकर्ता रहे मात्रै पार्टी रहने भएकाले पनि उम्मेदवारी दिनु परेको उनले बताए।
‘पार्टीले कारबाही गर्छ भन्ने हामीलाई थाहा थियो। हिजो स्थानीय तहमा पनि गठबन्धनका नाममा हामीले जिल्ला समन्वय समितिको प्रमुख जसपालाई दिएका थियौँ, आज उहाँ रहनु भयो पक भएन, गठबन्धन भनेको पुस १५ गतेसम्मका लागि मात्रै हो’, पोखरेलले भने।
दिक्तेलमा मेयरको उम्मदेवारबाट धर्मराजको नाम हटाउन देउवाको पत्र
नेताहरुको मनमौजी चलेको तर कार्यकर्ताको भवनामा ठेस लागेको नदेखेको भन्दै उनले दुखेसो गरे। जो स्थानीय तहको उदाहरण दिँदै उनले पार्टीले जहिले पनि कार्यकर्ताको घाँटी निचोरिरहेको बताए। पार्टी नीति र विधिविपरित चलेको उनको भनाई छ।
अब भोलिबाटै चुनावी कार्यक्रम अगाडी बढाउने उनले बताए। ‘यो धर्म पोखरेलको मात्रै उम्मेदवारी होइन। जिल्लाको सिंगै पार्टी लाग्छ, रुख चिन्ह मात्रै नपाएको हो’, पोखरेलले भने।
खोटाङ कांग्रेसलाई कसैले पनि हेप्न नपाउने उनले बताए। पोखरेललाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह धारो दिएको छ।
कांग्रेसले बिहीबार पार्टी कार्यालयमा चुनावी कार्यक्रम कसरी अगाडी बढाउने भने छलफल गर्न कार्यक्रम राखेको छ।
Shares
प्रतिक्रिया