ad ad

राजनीति


बैतडीमा गठबन्धनलाई चुनौती : कांग्रेसका बागीमाथि एकीकृत समाजवादीको उम्मेदवारी

बैतडीमा गठबन्धनलाई चुनौती : कांग्रेसका बागीमाथि एकीकृत समाजवादीको उम्मेदवारी

गोकुल जोशी
असोज २७, २०७९ बिहिबार ७:५५, कञ्चनपुर

बैतडीमा सत्ता गठबन्धनभित्र खटपट चुलिएको छ। एउटा प्रतिनिधि सभा क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रको भागमा परेको छ। 

बैतडीका दुई प्रदेश सभा क्षेत्र भने नेपाली कांग्रेसले पाएको छ। सिट विभाजनमा एउटा पनि क्षेत्र आफ्नो भागमा नपरेपछि नेकपा एकीकृत समाजवादी गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिएको छ।

उता तालमेल गरेको गठबन्धनको नेतृत्वकर्ता कांग्रेसभित्र पनि टिकट वितरणले असन्तुष्टि चर्किएको छ।

बैतडीमा प्रतिनिधि सभातर्फ कांग्रेसका पुराना नेता तथा पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन्।

गठबन्धनबाट बैतडीमा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) उम्मेदवार छन्। कुँवर विरुद्ध कांग्रेसका चन्दले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

कांग्रेसका नेताहरुले चन्दलाई उम्मेदवारी फिर्ता गराउन ठूलो दबाब दिए पनि उनले मानेनन्। प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार चन्दले बुधबार ‘पुतली’ चुनाव चिन्ह पाएका छन्।

कांग्रेसले बैतडी प्रतिनिधि सभा अरुको भागमा परेमा गठबन्धन नगर्ने निर्णय गरेको थियो। माओवादीको भागमा परेको प्रतिनिधि सभा आफ्नो भागमा पार्न दबाबका लागि बैतडीका नेताहरु काठमाडौँसम्म धाएका थिए। 

तर जिल्लाको निर्णय विपरीत पार्टी केन्द्रले दुई प्रदेश सभा आफूले राखेर प्रतिनिधि सभा माओवादीलाई छोडेको थियो।

कांग्रेसकै भागमा परेको प्रदेश सभामा पनि कांग्रेसकै बागी उम्मेदवार छन्। प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता हरिमोहन भण्डारीले उम्मेदवारी फिर्ता लिएनन्। उनले बुधबार ‘धारा’ चुनाव चिन्ह पाएका छन्।

प्रदेश सभा (१) मा अन्तिमसम्म दाबी गरेका भण्डारीले कांग्रेसबाट टिकट पाएनन्। कांग्रेसबाट प्रदेश सभा (१) मा वीरबहादुर विष्ट उम्मेदवार छन्। 

सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि क्षेत्र नपाएपछि नेता नरेन्द्र विष्टले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएका थिए। प्रदेशसभा (१) मा उनको उम्मेदवारी कायमै छ।

प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले भने उम्मेदवारी फिर्ता लिएका छन्।

स्वतन्त्रको हैसियतमा चुनाव चिन्ह पाएपछि चन्द र भण्डारीले प्रचारप्रसार अभियान सुरु गरेका छन्। निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो। 

नेकपा एमालेमाथि हाबी हुने मानिएको सत्ता गठबन्धनलाई बैतडीमा सत्तारुढ दल कांग्रेस र एकीकृत समाजवादीका बागी उम्मेदवारले चुनौती थपेको छ। नेकपा एमालेबाट प्रतिनिधि सभातर्फ सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .