ad ad

राजनीति


कार्यकर्ताको कालोझण्डा खाएका झपट बोहोराले पाउलान् एमालेको भोट?

कार्यकर्ताको कालोझण्डा खाएका झपट बोहोराले पाउलान् एमालेको भोट?

फाइल तस्बिर


गोकुल जोशी
असोज २९, २०७९ शनिबार ६:४७, कञ्चनपुर

अछाम निर्वाचन क्षेत्र नम्बर १ का लागि नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई सर्वसम्मत सिफरिस गरर्‍यो। 

वि.सं. २०४८ सालदेखि अछाममा उठ्दै आएका निवर्तमान सांसद रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक टिकट दिएनन्। 

रावलको टिकट खोसेर ओलीले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका झपट बोहरालाई उठाइदिए। 

अछाम १ मा रावललाई पाखा लगाउँदै बोहरालाई टिकट दिएपछि एमालेमा असन्तुष्टि चर्किएको छ। 

रावलले टिकट नपाएको विरोधमा जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्य, क्षेत्रीय निर्वाचन कमिटी, पालिका तथा वडा कमिटीका करिब तीन सय बढी नेता कार्यकर्ताले राजीनामा दिए।

त्यति मात्रै होइन्, मनोनयनका क्रममा बोहरालाई एमालेका असन्तुष्ट नेता कार्यकर्ताले कालो झण्डा देखाए। अध्यक्ष ओलीविरुद्ध चर्को नाराबाजी गरे।

टिकट खोसिएपछि असन्तुष्ट रावलले पनि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको गरेर ओलीमाथि अनेक आरोपको वर्षा गरे।

चुनावको मुखमा देखिएको असन्तुष्टिले एमाले अछामको नेतृत्व झस्किएको छ। सत्ता गठबन्धनविरुद्ध एकताबद्ध भएर चुनावमा जानुपर्ने एमाले आन्तरिक विवादमा नराम्ररी फसेको छ।

अछाम १ मा एमालेबाट उम्मेदवार बोहरालाई आगामी चुनावमा असन्तुष्ट रावलनिकट नेता कार्यकर्ताले असहयोग गर्न सक्ने डर छ। त्यसैले एमाले अछामको पार्टीपंक्ति अहिले असन्तुष्ट रिझाउन व्यस्त छ।

पार्टीको तल्लो कमिटीको निर्णयविपरीत केन्द्रले रावललाई टिकट नदिएर ठूलो गल्ती गरेको एमालेका एक नेताले बताए। 

‘लामो समयदेखि चुनाव लड्दै आएका अनुभवी, राष्ट्रवादी छवि बनाएका नेतालाई बाइपास गरियो, पार्टीको तल्लो कमिटीको निर्णयविपरीत सिफारिस नै नभएकालाई टिकट दिनु कतिको न्याय हो?,’ ती नेताले भने, ‘योगदानको मूल्याङ्कन नगरेर हिजो आएका आफू अनुकुलका मान्छेलाई टिकट बाड्ने निर्णयको हामी विरोधमा छौँ।’

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री अछाम १ का उम्मेदवार बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

मनोनयनका झपट बोहोरालाई क्रममा कालोझण्डा देखाउँदै एमाले कार्यकर्ता

नेकपा विघटन भएर एमाले र माओवादी ब्युँतिएपछि बोहरा एमालेमै रहेका थिए। त्यस क्रममा उनले सुदूरपश्चिम प्रदेश सभा सदस्य पद गुमाएका थिए।

बिहीबारको पत्रकार सम्मेलनमा रावलले अछाम १ मा बोहरालाई सहयोग गर्ने वा नगर्ने बारेमा स्पष्ट जवाफ दिएनन्। ‘अछाममा लामो समयदेखि पार्टी निर्माण गर्दै आएको हुँ, त्यहाँका जनता र कार्यकर्ताले सर्वसम्मत सिफारिस गरे, अब उनीहरुको भावलाई गम्भिर रुपमा हेर्छु,’ रावलले भनेका थिए।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ। 

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए।

एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए। 

रावलले ०५६ सालमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए।

रावलले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेता कार्यकर्ता पूर्ववत् भूमिकामा फर्किएको एमाले अछामका अध्यक्ष चन्द्र बोहरा बताउँछन्। 

टिकट खोसिएपछि असन्तुष्ट भीम रावल

‘राजीनामा दिएका साथीहरु जिल्ला कमिटी बैठकमा उपस्थित भएर पूर्ववत् भूमिका फर्किन सहमत भइसकेका छन्,’ उनले भने, ‘संस्थागत निर्णय मानेर एमालेलाई जिताउन घरदैलो अभियान गरिरहेका छौँ ।’

अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन्। 

प्रदेश सभा १(१) सत्ता कांग्रेसका मेघराज खड्का र प्रदेश सभा १(२) मा माओवादी केन्द्रका झपटबहादुर साउद उम्मेदवार छन्।

यस्तै, नेकपा एमालेबाट प्रदेश सभा १(१) मा देबबहादुर कुँवर र प्रदेश सभा १(२) मा कृष्णप्रसाद जैसी उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .