नेपाली कांग्रेसले आशन्न निर्वाचनपछि गठन हुने सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासनको आधारशीलामा देशमा समृद्धि सिर्जना गर्ने बताएको छ।
सत्ता गठबन्धनमा रहेका दलहरुकै नेतृत्वमा आगामी सरकार बन्ने भन्दै कांग्रेसले उक्त सरकारले हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्याउने पनि बताएको छ।
‘लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासनको आधारशीलामा देशमा समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने,’ प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसको भावी योजनाबारे जानकारी दिँदै भने, ‘कुनै पनि वर्ग, समूह, क्षेत्र त्यो समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुने छैन। त्यो सुनिश्चितता हामी गर्न चाहन्छौं।’
उनले आर्थिक अभावका कारण कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने पनि जिकिर गरे।
आगामी सरकारले देशभित्रै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने युवालाई नेपालमै रोक्नेसमेत दाबी गरे।
‘कुनै पनि नेपाली नागरिक आर्थिक अभावका कारणले शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित हुने छैनन्,’ प्रवक्ता महतले भने, ‘कुनै पनि नेपाली युवा रोजगारी देशभित्र प्राप्त नभएको कारण विदेशिनु पर्ने अहिलेको जुन वास्तविकता छ त्यसलाई उल्टाएर एउटा स्थिर र जनताप्रति समर्पित सरकारमार्फत् देशभित्रै रोजगारी सिर्जना गर्ने।’
आगामी सरकारले लगानी लगानी वृद्धि गरेर उद्योग, व्यवसाय, पर्यटन, पूर्वाधारको विकास गर्ने, वातावरणमैत्री अर्थतन्त्रलाई अगाडि बढाउने, व्यापार घाटा कम गर्न पेट्रोलियम पदार्थको आयात घटाएर देशलाई हरित अर्थतन्त्रतर्फ लैजाने पनि बताए।
Shares
प्रतिक्रिया