ad ad

राजनीति


राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन आदेशले निरन्तरता पाएन

राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन आदेशले निरन्तरता पाएन

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १७:४८, काठमाडौँ

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि गुरुङ सर्वोच्चमा गएका थिए। यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि राजुले अब उम्मेदवार हुने ढोका बन्द भएको हो।

न्यायाधीशहरु कुमार रेग्मी र ईश्वर प्रसाद खतिवडाको इजलासले राजुको पक्षमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सजिलो भएको छ।

यसअघि सर्वोच्चले रुपन्देही २ मा अर्का उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई पनि वैधानिकता दिएको थियो। 

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश जारी गरेको थियो। उक्त मुद्दामा कात्तिक २ गते अन्तरिम आदेश तयारी थियो। तर दुई दिन ढिला सर्वोच्चले आयोगकै निर्णयलाई सदर गरिदिएको हो।

बैंकिङ कसुरमा दोषी ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको थियो।

उक्त मुद्दामा गुरुङलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेर जरिवाना तोकेको थियो। तर उनले जरिवाना तिरेका थिएनन्। जरिवाना नतिरेका उनी उक्त फैसलाविरुद्ध पाटन उच्च अदालत पुगेका थिए। जहाँ यो मुद्दा विचाराधीन अवस्थामा छ। 

गुरुङ नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष हुन्। उनले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै २०७६ सालमा काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो। 

अदालतले २०७८ मंसिर २१ गते बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दायित्व तिर्नुपर्ने फैसला गरेको थियो। 

फैसलामा नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका ६ जनाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने उल्लेख थियो। 

उक्त रकम नतिरेकाले कालोसूचीमा परेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो। कालोसूचीमा परेकाले निर्वाचन अधिकृतको कार्यालयले राजुको मनोनयन दर्ता खारेज गरेको थियो। 

समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवसमेत रहेका राजुले लामो समयदेखि विष्णु पौडेलविरुद्ध चुनाव लड्ने तयारी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .