सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ सप्तकोसी किनारामा छन्।
यी वडाहरु भारतीय सीमासँग पनि जोडिएका छन्। तत्कालीन श्रीपुर र हरिपुर गाविसमा पर्ने यी वडाको जनसंख्या करिब २० हजार छ।
सूर्यनारायण यादव पेसाले भेटेरिनरी डाक्टर हुन्। गाउँघरमा गाईवस्तु बिरामी हुँदा औषोपचार गर्न कुदिरहन्छन्।
उनी कोसी गाँउपालिका वडा नम्बर ६ मा बस्छन्। सप्तकोसी फाँटनजिक भएकाले धेरैले यो गाउँमा पुशपालन गरेका छन्। किसानहरु पशु बिरामी भए सूर्यनारायणलाई उनको मोबाइलमा सम्पर्क गर्छन्।
तर, उनको क्षेत्रमा नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्क नै टिप्दैन। उनी टावर टिप्ने ठाँउ खोजी खोजी बस्छन्।
सुनसरी देशकै सुगममध्ये एक जिल्ला हो। पूर्व–पश्चिम सडकखण्ड मै जोडिएका यी वडाका नागरिकलाई गाउँमा कोही बिरामी परे एम्बुलेन्सलाई सम्पर्क गर्दा फोन नलाग्ने समस्या छ।
श्रीपुरका छुदारु यादवले बिरामी भए एम्बुलेन्सलाई फोन गरेर पर्खिनुभन्दा चालकको घरमै पुग्दा छिटो हुने बताए।
‘बाटो सहज छ, राजमार्गबाट नजिकै पर्छ तर खोइ टावर ? उनी भन्छन्, ‘गाउँमा आपतविपत पर्दा सुरुमा प्रहरीलाई जानकारी गराउनु पर्ने हो। तर फोन नै नलागेपछि कसरी बोलाउनु?’
मोबाइल नेटवर्क नटिपेर हैरान यहाँका नागरिकको निर्वाचन क्षेत्र सुनसरी ४ हो। यही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा ३२ हजार ३ सय ४७ मत ल्याएर विजयी भए ज्ञानेन्द्र बहादुर कार्की। अहिले उनी नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधि र कानुन मन्त्रीसमेत छन्।
आसन्न निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेका छन्। उनले मतदाताकहाँ मत माग्न थालिसकेका छन्।
उनले अघिल्लो पटक जस्तै यस पटक पनि मोबाइलको टावर बनाउने आश्वासन दिइरहेका छन्।
आक्रोश
तर उनै कार्की सञ्चारमन्त्री भएको बेला मोबाइल टावरसमेत राख्न नसकेको भन्दै मतदाता आक्रोश पोख्छन्।
सुनसरी क्षेत्र नम्बर ४ मै पर्छ कोसी टप्पु वन्युजन्तु आरक्ष। यहाँबाट निस्कने हात्ती, अर्ना र बँदेल जस्ता जनावरले वर्षेनि २० जनाभन्दा बढीको ज्यान लिने गरेको तथ्यांक आरक्षसँग छ।
जंगली जनावारबाट हुने धनको क्षतिको तथ्यांक वर्षेनि बढिरहेको छ। जंगली जनावारले बाली खाइदिएर नष्ट गर्दा यो निर्वाचन क्षेत्रमा पर्ने बराहक्षेत्र नगरपालिका र कोसी गाँउपालिकाका नागरिक हैरानीमा छन्।
जंगली जनवारको आक्रमणबाट घाइते भए सरकारले उपचार खर्च दिने निर्णय गरेको छ। जसअनुसार कोसी टप्पु वन्यजन्तु आरक्षले अस्पतालको बिल हेरेर २ लाख रुपैयाँसम्म दिने गरेको छ।
२ लाख रुपैयाँभन्दा बढी खर्च भए मन्त्रालयले निर्णय गरेर क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउने गरेको छ।
कोसी गाउँपालिका जुधगञ्जका वसिर मन्सुरीलाई २०७७ माघ १ गते घरनजिकै हात्तीले आक्रमण गर्यो। उनलाई हात्तीले पछार्दा करङको हड्डी भाँच्चियो।
हात्तीको आक्रमणबाट घाइते भएका मन्सुरी विराटनगरको विराट नर्सिङ होममा २१ दिन उपचारका लागि बसे।
नर्सिङ होम बस्दा उनको ६ लाख रुपैयाँ सकियो। तर अहिलेसम्म २ लाख रुपैयाँ मात्रै पाएका छन्।
चुनौती
त्यही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट जगदीशप्रसाद कुसियैत कार्कीको
मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन्।
उनी शेरधन राईले प्रदेश १ सरकारको नेतृत्व गर्दा उद्योग पर्यटन पन तथा वातावरण मन्त्री पनि भएका थिए।
तर उनी मन्त्री हुँदा पनि आरक्षको समस्याको दिगो व्यवस्थापनमा काम नभएको गुनासो यस क्षेत्रका मतदाताको छ।
मतदाताले प्रधानमन्त्री र मन्त्री बनाए
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिका लागि महत्वपूर्ण मानिन्छ। यस क्षेत्रबाट गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बने।
गिरिजासँगै पटकपटक सत्तामा पुगेका उपेन्द्र यादव र ज्ञानेन्द्रबहादुर कार्की यहीँबाट विजयी भए।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ सालमा चुनाव जितेका थिए। कोइरालाले निर्वाचन जित्दा निर्वाचन क्षेत्र नम्बर फरक फरक भए पनि भूगोल त्यही हो।
मतदाताले जिताएर प्रधानमन्त्री र मन्त्री बनाए पनि सुनसरीको यो क्षेत्र विकास हिसाबले सबैभन्दा पछाडि छ। अझै पनि उच्च शिक्षा र स्वास्थ्य सेवाका लागि यहाँका नागरिकले धरान र विराटनगर धाउनुपर्ने बाध्यता उस्तै छ।
यो क्षेत्रमा एउटा राम्रो अस्पतालसम्म छैन। खानेपानीका लागि ट्युबेलको भर पर्नु पर्छ।
यो निर्वाचन क्षेत्रबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भए। पटकपटक प्रधानमन्त्री र मन्त्री पाए पनि यस क्षेत्रले अपेक्षाकृत विकासमा फड्को मार्न नसकेको स्थानीय बताउँछन्।
यो निर्वाचन क्षेत्रमा सप्तकोसीपीडितको समस्या जस्ताको तस्तै छ। हरेक साल बर्खायाममा सप्तकोसीले सताइरहन्छ।
सप्तकोसी बाढीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्की बाढीले पुरेको जग्गाको क्षतिपूर्ति र मुआब्जा समस्या वर्र्षौँ बित्दा पनि समाधान नभएको बताउँछन्।
‘तीन पुस्ता भयो हातमा जग्गा धनीपूर्जा बोकेर क्षतिपूर्ति र मुअब्जा माग्दै आन्दोलन गरेको’, उनले भने, ‘तर सरकारले न मुअब्जा दियो न त क्षतिपूर्ति नै। नम्बरी जग्गामा सप्तकोसी बगिरहेको छ।’
‘हरेक पटक सप्तकोसीपीडितको समस्या समाधान गरिने आश्वासा चुनावका बेला आउँछ’, उनले भने, ‘तर, अहिलेसम्म समस्या जस्ताको तस्तै छ।’
आफ्नैको डर
अघिल्लो निर्वाचन जितेपछि मन्त्री कार्कीले गुटबन्दी गरेको आरोप कांग्रेस कार्यकर्ताको छ। उनले केही नेतालाई मात्रै काखी च्यापेको आरोप लगाएका छन्।
दक्षिणतिरका नेताहरुलाई काखी च्यापेको भन्दै प्रकाशपुर बराहक्षेत्रका केही कांग्रेस कार्यकर्ता कार्कीसँग चिढिएका छन्। यसले मन्त्री कार्कीलाई आफ्नैको डर छ।
केही समयअघि कांग्रेस सुनसरीका सभापति केदार कार्कीले दाइहरुका कारण सुनसरी कांग्रेसमा समस्या भएको बताएका थिए।
धरानमा भएको कार्यक्रममा मन्त्री कार्कीको नाम नै तोकेर पार्टीभित्र चरम गुटबन्दी सुरु भएको आरोप उनले लगाएका थिए।
यसको असर अहिले पनि त्यस क्षेत्रका कांग्रेसीमा परेको देखिन्छ। टिकट वितरणलाई लिएर उनले यस्तो टिप्पणी गरेका थिए।
मतदाता
सुनसरी क्षेत्र नम्बर ४ मा ६० हजार ४३२ मतदाता छन्। कोसी र भोक्राह गाँउपालिकाका सबै वडा यस क्षेत्रमा पर्छन्।
यस्तै बराह नगरपालिकाका ६, ७, ८, ९, १०, ११ नम्बर, रामधुनी नगरपालिकाको ४ नम्बर, इनरुवा नगरपालिकाका ३, ४, ८ र हरिनगगर गाँउपालिकाको १, २, ४, ५, ६ र ७ नम्बर वडा यस क्षेत्रमा पर्छन्।
स्वतन्त्रको डर
अघिल्लो निर्वाचनमा प्रदेश सभामा विजयी भएका एमालेका जगदीश कुसियैत यस पटक प्रतिनिधि सभाका उम्मेदवार छन्।
मुस्लिम मतदाता उल्लेख्य भएको यस क्षेत्रमा डा. खलिद हुसेन स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी लामो समयदेखि मुस्लिम समुदायमा क्रियाशील छन्। उनले कांग्रेसको मत बढी काट्ने अनुमान गरिएको छ।
सुनसरीका मुस्लिम समुदायसँग कांग्रेससँगको सम्बन्ध बीपी कोइरालाको पालादेखि नै राम्रो छ। यसै कारण पनि मुस्लिम समुदाय कांग्रेसको भोट बैंकको रुपमा देखिन्छ।
कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुव अन्सारी यहाँ कांग्रेसलाई जित्न कुनै समस्या नभएको बताँउछन्।
‘हामी संगठनका हिसाबले बलियो छौँ’, उनले भने, ‘सानातिना समस्या देखिए पनि समाधान भइसकेको छ।’
प्रतिनिधिसभा मात्रै होइन, प्रदेश र स्थानीय तह निर्वाचनमासमेत उम्मेदवारका प्रतिबद्धता घोषणामै सीमित बन्ने गरेको मतदाताको गुनासो छ।
यसपटकको निर्वाचनमा पनि दलका उम्मेदवारहरुले पुरानै आश्वासन दोहार्याएका छन्।
वर्षौँदेखि सप्तकोसीको कटान र कोशीटप्पु वन्यजन्तु आरक्षका हात्तीले मच्चाउने आतंकबाट पीडित स्थानीयलाई उम्मेदवारहरुले जहिल्यै भोट बैंकका रुपमा प्रयोग गर्ने गरेका छन्।
वडागत मत
अंक गणितका हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो छ। स्थानीय तह निर्वाचनमा यो क्षेत्रका रामधुनीबाहेक सबै पालिका प्रमुख कांग्रेसले जितेको छ।
स्थानीय तहको मतको हिसाबले कांग्रेस बलियो हुँदा सञ्चारमन्त्री कार्की ‘सेफ जोन’मा देखिन्छन्। तर, उनलाई बाहिरबाट आएको पाहुनाको आरोप लाग्दै आएको छ।
कुसियैत स्थानीय भएका कारण कार्कीलाई बाहिरीया आरोप चिर्न समस्या छ। २३ वटा वडा रहेको यस बराहक्षेत्रअन्तर्गतका सबै वडामा कांग्रेस विजयी भएको छ।
कोसी गाँउपालिकाका ८ वडामध्ये ४ वटामा कांग्रेस विजयी भएको छ। २ वटामा एमाले विजयी भएको छ। २ वटामा जनता समाजवादी पार्टी विजयी भएको छ। एउटामा माओवादी विजयी हुँदा अर्कोमा स्वतन्त्रले जितेको छ।
यस क्षेत्रमा पर्ने रामधुनीको एउटा वडामा एमाले विजयी भएको छ। इनरुवा नगरपालिकाका ३ वडामध्ये २ वटामा एमाले विजयी भएको छ। एउटामा लोसपा विजयी भएको छ।
हरिनगर गाँउपालिकाका ६ वडामध्ये २ वटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। २ वटामा एमाले विजयी भएको छ।
एउटामा जसपाका उम्मेदवार विजयी हुँदा एउटा वडामा एकीकृत समाजवादी विजयी भयो।
त्यस क्षेत्रमा जसपाको वडातहमा आएको मत ५ हजार २४१ छ। जसपासँग तालमेल हुँदा एमालेको मत बढेको छ। यहाँ प्रदेशसभातर्फ एउटा क्षेत्र एमालेले जसपालाई दिएको छ।
यस निर्वाचन क्षेत्रमा कांगे्रसको २३ हजार ३६२ र एमालेको २१ हजार ३०० मत वडा अध्यक्षलाई आएको छ। माओवादीलाई २ हजार २५५ मत आएको छ।
Shares
प्रतिक्रिया