हरेक निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ ले राजनीतिक पण्डित र विश्लेषकहरुलाई चकित पार्दै अनपेक्षित परिणाम दिने गरेको छ।
६९ हजार ३६७ मतदाता बसोबास गर्ने यस क्षेत्रमा नेकपा एमालेको पकड बलियो देखिन्छ। तर, चुनावी पासा पल्टाउने ‘बाजीगर’ को पदवी चाहिँ कांग्रेसले उछिट्याउने गरेको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं ४ मा वडाध्यक्षका उम्मेदवारहरुको मतअनुसार एमाले र कांग्रेसबीचको मतान्तर केवल २६३७ थियो। एमालेका वडाध्यक्षहरुले १६ हजार ८३७ र कांग्रेसका वडाध्यक्षहरुले १४ हजार २ सय मत पाएका थिए।
तर, त्यही वर्ष मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री गगनकुमार थापाले एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईलाई झण्डै साढे तीन हजार मतले हराए।
थापा २१ हजार ५५८ मतसहित प्रतिनिधिसभामा जाँदा भट्टराईले १८ हजार १४० पाएका थिए। जबकि त्यो चुनावी प्रतिष्पर्धामा एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको थियो।
विभाजनले कमजोर हुँदा पनि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले एमालेलाई कमजोर देखाएन। पार्टी फुट्दा पनि एमालेले पुरानो मतसंख्या भत्किन नदिएको देखाउँछ।
काठमाडौं–४ अन्तर्गत वडाध्यक्षका उम्मेदवारहरुको मतअनुसार एमाले र कांग्रेसबीच ७४४ को अन्तर छ।
वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं ४ मा एमालेको १६ हजार ५०७ र कांग्रेसको १५ हजार ७६३ मत देखिन्छ। जबकी कांग्रेस गठबन्धन बनाएर चुनावमा होमिएको थियो, उता एमाले एक्लै।
आफूले आस्था राख्ने दलका उम्मेदवारलाई समेत बाइपास गरी विपक्षी उम्मेदवारलाई संसदमा पठाउने क्षेत्र नम्बर ४ का मतदाताहरुको मुड परिवर्तनमा के–के कुराले प्रभाव पार्दो रहेछ?
एमालेले आफ्नो गढ ठान्ने ४ नम्बर क्षेत्रका मतदाताको मनोभाव बुझ्न नेपालखबर टिमले यस क्षेत्रका केही वडा घुमेर कुराकानी गरेको थियो। अन्तरक्रियामा तिनले व्यक्त गरेका विचार दलीय दृष्टिकोणबाट परीक्षण गर्दा साँच्चिकै अनौठा थिए।
मतदाताको मुड
स्थानीय निर्वाचनमा एमालेले सबै सिट जितेको बूढानीलकण्ठ नगरपालिका–८, गल्फुटारको ‘फुटबल ग्राउन्ड’ छेवैमा खाजाघर चलाइरहेका बबिन लामासँग कुरा गर्दै जाँदा थाहा भयो, उनी खासमा एमाले समर्थक रहेछन्।
उनका काका वडाध्यक्षमा निर्वाचित भएका छन्। तर, उनी ‘आफ्ना टोल–छिमेकमा सँगसँगै हुर्किएका र त्यस भेगका युवाका दुःख–सुखमा सहकार्य गर्न रमाउने’ भन्दै कांग्रेस उम्मेदवार गगन थापाको प्रशंसा गरिरहेका थिए।
‘गगन थापाका सहपाठीहरु यो क्षेत्रमा थुप्रै छन्। एमाले भए पनि उनीहरु साथीभाइ, चिनजानका आधारमा भोट दिन्छन्। फेरि उहाँ युवामाझ लोकप्रिय हुनुहुन्छ। मतदाताले चिन्छन् पनि,’ लामाले सुनाए, ‘पार्टीकै भए पनि नचिनेको मान्छेलाई भोट दिनुभन्दा चिनेकोलाई दिऊँ न भनेर गगनलाई सघाइहाल्छन्।’
लामाका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) मात्रै पानी आउने गल्फुटार क्षेत्रमा यो समस्या प्राथमिकताको शीर्षमा पर्दाे रहेछ। यी लगायत गाउँ–टोल र देशकै समस्या समाधान गर्ने गरी स्वतन्त्र उम्मेदवारले गरिरहेका वाचाबाट उनी प्रभावित देखिन्थे।
तर, स्वतन्त्र उम्मेदवारहरुले शीर्ष दलका प्रभावशाली नेताहरु हराउन नसक्ने लामाको आकलन थियो। उनी भन्छन्, ‘स्वतन्त्रलाई यहाँको मुद्दा थाहा हुनुपर्यो नि, यस पटक पनि पुरानै दलले लैजाने सम्भावना धेरै छ।’
स्थानीय क्लवहरु, युवा जमातसँगको सहकार्य र क्षेत्रका मतदातासँगका अन्तरक्रियाका कारण कांग्रेस महामन्त्री थापाले यो क्षेत्रबाट लगातार दुई पटक जितिसकेका छन्। उनी त्यसअघि एक कार्यकाल समानुपातिक सांसद भइसकेका छन्।
एमाले समर्थित बूढानीलकण्ठ–९ का अर्का मतदाता शिवकुमार कार्कीको बुझाइमा एमाले उम्मेदवारको मतदातासँग सोझो चिनजान नभएका कारण कांग्रेस महामन्त्री थापालाई सजिलो हुने गरेको छ।
‘आफैँ ब्राण्ड जस्तै भएकाले गगन थापा परिचित नाम हो’, उनले भने, ‘योग्य भए पनि एमालेका राजन भट्टराईको ‘पब्लिक रिलेसन’ छैन। यसको फाइदा गगनले लिन्छन्।’
यद्यपि, यसअघि लगातार दुई पटक प्रत्यक्ष निर्वाचन जितेका थापालाई यसपालि अवस्था सहज नरहेको उनको विश्लेषण थियो। अमेरिकी सहायता सम्झौता (एमसीसी) बारे उनले दिएको वक्तव्य र चर्को समर्थनबाट कार्की असन्तुष्ट रहेछन्।
‘एमसीसी जसरी पनि पास हुन्थ्यो। तर, गगनजीले बढी नै गर्नुभयो। चारपाटा मुडियोस्, थानकोट कटाइयोस् भन्नुभयो। त्यो बोल्न जरुरी नै थिएन,’ कार्कीले तर्क गरे, ‘प्रधानमन्त्री वा परराष्ट्रमन्त्री बोल्दा हुन्थ्यो, एमसीसीमा उहाँले बढी नै बोल्नुभयो।’
थापामा केही अवगुण रहेको पनि उनले टिप्पणी गरे।
‘गगनजीले आफू वरीपरी हिँड्नेलाई बढी हेर्छन् भन्ने छ। गुटको राजनीति बढी गर्नुहुन्छ’, उनले थपे, ‘राष्ट्रिय व्यक्तित्वले गुटको राजनीति गर्नुहुन्न। प्रधानमन्त्रीको स्वघोषण गर्नुभएको छ। यसले उहाँमा अलिक घमण्ड बढेको देखियो।’
एमालेका प्रभावशाली एवम् महामन्त्री थापाका समकालीन प्रतिस्पर्धी भट्टराईलाई कार्कीलेझैँ योग्य उम्मेदवार ठान्ने अरु पनि देखिन्थे। उम्मेदवारबीच गतिलो चुनावी नारा बनिरहेको बूढानीलकण्ठ–१० कपनको मिलन चोक र काठमाडौं महानगर–६ को बीचमा बग्ने खहरे खोलो यस पटक पनि एजेन्डामा छ।
त्यहीँका एक मतदाताले स्थानीय, प्रदेश र केन्द्रमा एमाले सरकार भएकोले खहरे खोला ब्यवस्थापनका निम्ति बजेट ल्याउन सहज भएको सुनाए।
‘खहरे व्यवस्थापनको काम राजनले गरे पनि जनतासँग प्रत्यक्ष संवाद गर्न नपुग्ने उनको स्वभावका कारण जस लिन सकेनन्’, उनले भने।
गगनले यो क्षेत्रबाट तीन पटक संसदमा प्रतिनिधित्व गरिसकेका छन्। आफैँ भावी प्रधानमन्त्रीका रुपमा अघि सरेका कांग्रेस महामन्त्री थापा ३१ वर्षको उमेरमै २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक सांसद भएका थिए।
तर उनले २०७० को दोस्रो संविधानसभामा एमालेका निर्मल लुइँटेल र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकै डा. भट्टराईलाई पराजित गरेका थिए।
दलभित्र संस्थापनइतरको कित्तामा उभिएका उनै थापा मंसिर ४ गते हुने संघीय निर्वाचनमा फेरि एमालेका प्रभावशाली नेता डा. भट्टराईसँग प्रतिष्पर्धा गर्दैछन्।
यस पटक कांग्रेस महामन्त्री थापालाई गठबन्धन दलहरुकोसमेत साथ छ भने एमाले विदेश विभाग प्रमुख डा. भट्टराई एक्लै मैदानमा छन्।
त्यसैले यसपटक गठबन्धनका कारण थापाकै पक्षमा पल्लाभारी देखिए पनि उनलाई हुन सक्ने आन्तरिक असहयोग र खहरे खोला जस्ता मुद्दाले सजिलो भने छैन।
तर सांगठनिक रुपमा शक्तिशाली एमाले उम्मेदवारलाई पन्छाएर संसदमा पुग्ने मामिलामा थापा सिपालु सावित हुँदै आएका छन्। यस पटक ‘गगन थापा एन्ड टिम’ को रणनीतिक चतुर्याइँले कत्तिको काम गर्छ भन्ने निक्र्यौल हुन अझै केही समय पर्खिनुको विकल्प छैन। तथापि, यो क्षेत्रको चुनावी प्रतिस्पर्धा र परिणाम भने सदाझैँ रोचक हुने पक्कापक्की छ।
मतदाता र अंकगणित
चुनावी चर्चामा आइरहने यो क्षेत्र काठमाडौं महानगरपालिकाका ४ र बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा गाभेर बनाइएको छ।
जसमा काठमाडौं महानगरका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिएका छन्। निर्वाचन आयोगले १२ वडामा चुनाव सम्पन्न गर्न ३३ वटा मतदात केन्द्र निर्धारण गरेको छ।
निर्वाचन आयोगले दाबी–विरोध प्रयोजनका लागि सार्वजनिक गरेको मंसिर ३ गते १८ वर्ष पूरा हुनेको नामावलीअनुसार काठमाडौं–४ मा कुल मतदाताको संख्या ६९ हजार ३६७ छ।
आयोगको विवरणअनुसार काठमाडौं ४ अन्तर्गत सबैभन्दा बढी काठमाडौं महानगरपालिका–७ मा (१५ हजार १३९) र सबैभन्दा कम बूढानीलकण्ठ नगरपालिका–१ मा (२ हजार २३३) मतदाता छन्।
आयोगले सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिका–७ मा नौ र सबैभन्दा कम मतदाता रहेको बूढानीलकण्ठ नगरपालिका–१ मा एक मतदान केन्द्र तोकेको छ।
काठमाडौं–१ र ८ मा तीन–तीन, काठमाडौं–७ मा नौ, काठमाडौं–३० मा ५, बूढानीलकण्ठ–२, ८, १०, ११ र १३ मा दुई–दुई तथा बूढानीलकण्ठ–१, ९ र १२ मा एक–एक मतदात केन्द्र छन्।
काठमाडौंतर्फ केन्द्रअनुसार मतदाता
काठमाडौं १
मतदान केन्द्र | मतदाता संख्या |
नक्साल भगवती मन्दिर | १२९८ |
नन्दी केशर बाहल | १९३५ |
हिटीपोखरी नारायणी मन्दिर | ६२६ |
जम्मा | ३८५९ |
काठमाडौं ७
मतदान केन्द्र | मतदाता संख्या |
आइडिएल स्कुल मैजुबहाल | १८७६ |
गणेशथान चौर विनायक टोल | २३४४ |
पशुपति क्याम्पस चाबहिल | १९८१ |
पशुपति मित्र मावि चाबहिल | १७४२ |
बाल व्यवसायी मावि सिफल | ८७८ |
वडा कार्यालय मित्रपार्क | १७६० |
श्रम राष्ट्रिय मावि | १८८४ |
सामुदायिक भवन मैजुबहाल | १४०७ |
हिमालय मावि सिफल | १२६७ |
जम्मा | १५१३९ |
काठमाडौं ८
मतदान केन्द्र | मतदाता संख्या |
बागमती सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी | १२५९
|
वेद विद्याश्रम | ३०९२ |
शारदा उच्च मावि हरिजन टोल | १३९२ |
जम्मा | ४४८४ |
काठमाडौं ३०
मतदान केन्द्र | मतदाता संख्या |
चारखाल केन्द्र डिल्ली बजार | १७५४ |
नारायण चौर ज्ञानेश्वर | १६१५ |
मैतीदेवी मन्दिर, पश्चिम | १५५५ |
मैतीदेवी मन्दिर, पूर्व मयुरकुण्ड | १७४१ |
सहिद स्मारक मावि | १६८० |
जम्मा | ८३४५ |
बूढानीलकण्ठमा केन्द्रअनुसार मतदाता
बूढानीलकण्ठ १
मतदान केन्द्र | मतदाता संख्या |
जयभद्रकाली मावि, चपली | २२३३ |
बूढानीलकण्ठ २
मतदान केन्द्र | मतदाता संख्या |
उपस्वास्थ्य चौकी चपली | १३५८ |
साविक गाविस भवन चपली | २३४१ |
जम्मा | ३६९९ |
बूढानीलकण्ठ ८
मतदान केन्द्र | मतदाता संख्या |
जगन्नाथ मन्दिर परिसर | २९१९ |
महांकाल मावि | २०४० |
जम्मा | ४९५९ |
बूढानीलकण्ठ ९
मतदान केन्द्र | मतदाता संख्या |
शान्ति वाटिका छात्रावास मण्डिखाटार | ३८८७ |
बूढानीलकण्ठ १०
मतदान केन्द्र | मतदाता संख्या |
नेपाल चार्टर्ड स्कुल | ३७६९ |
बालउद्दार मावि कपन | ४६४७ |
जम्मा | ८४१६ |
बूढानीलकण्ठ ११
मतदान केन्द्र | मतदाता संख्या |
ग्रामशिक्षा मावि कपन | ३३७६ |
यज्ञमति मावि, पैँयाटार | १९०९ |
जम्मा | ५२८५ |
बूढानीलकण्ठ १२
मतदान केन्द्र | मतदाता संख्या |
उसु डोजो क्वान, फैका कपन | ५१२८ |
बूढानीलकण्ठ १३
मतदान केन्द्र | मतदाता संख्या |
जनउद्धार मावि चुनिखेल | १२१६ |
नैलिन मावि चुनिखेल | २७१७ |
जम्मा | ३९३३ |
Shares
प्रतिक्रिया