जनता समाजवादी पार्टी (जसपा) ले पनि आफूलाई प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतिकै पक्षमा उभ्याएको छ। आम निर्वाचन–०७९ का लागि जारी चुनाव घोषणापत्रमार्फत् उसले कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुपको वकालत गरेको हो।
प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप सङ्घमा वालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गरिनुपर्ने अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले शनिबार (१९ कार्तिक)मा जारी गरेको चुनाव घोषणापत्रमा उल्लेख छ।
जसपाले प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि वालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।
सङ्घीय संसद् र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने, कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने कुरापनि शनिबार जारी सो दलको घोषणापत्रमा उल्लेख गरिएको छ।
कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउने, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने कुरापनि उसले घोषणापत्रमा उल्लेख गरेको छ।
जसपाले कार्यक्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था हुने पनि जसपाको घोषणापत्रमा उल्लेख छ।
Shares
प्रतिक्रिया