गत भदौ २० गते एकीकृत समाजवादीको गुल्मी जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको घोषणा एमालेले गर्यो। एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र अध्यक्ष दुवै एमालेमा प्रवेश गरेका थिए।
तर, एकीकृत समाजवादीले केही नेता एमालेमा जाँदैमा दुई पार्टी एक नहुने विज्ञप्ति जारी गर्यो। सो पार्टीले श्रीराम महतलाई जिल्ला अध्यक्ष छान्यो।
कात्तिक १६ गते माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, जिसस सदस्य दामोदर बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तिलक महत सहित ४१ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमै पार्टीमा स्वागत गरे।
अन्य पार्टीका नेताकार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेकाले हौसिरहेको एमाले गुल्मीलाई कात्तिक २० झड्का लाग्यो। एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य शेषकान्त गौतमले पत्रकार सम्मेलन गरेरै गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई समर्थन गर्ने बताए। जसले गुल्मी २ को राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो। गौतम एमालेबाट प्रतिनिधि सभा उम्मेदवारको दाबेदार थिए।
एमाले र गठबन्धनबीच एकअर्काका नेताकार्यकर्ता तान्ने क्रम यतिमै रोकिएन। कात्तिक २३ गते एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले माओवादी केन्द्रका जिल्ला सदस्य कमला घर्ती, रेसुङ्गा नगरकमिटी सह–सचिव कमला परियार, रेसुङ्गा नगरकमिटी सदस्य इन्दिरा मगर, वाईसीएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल एमालेमा प्रवेश गराए। त्यसअघि नै माओवादी केन्द्रका मुसिकोट नगर कमिटि अध्यक्ष एमाले प्रवेश गरेका थिए।
कात्तिक २४ गते फेरि गोणर्क विष्टको पालिकाबाट एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरे। समाजवादीले हरेक चुनावी कार्यक्रममा कार्यकर्ता भित्र्याई ‘एमालेमा भूकम्प’ गएको प्रचार गरिरहेको छ। तर, सो पार्टीले शेषकान्त गौतमबाहेक मत प्रभावित पार्ने ठूला नेता तान्न सकेको छैन।
निर्वाचन अभियान सुरु गरेसँगै एमालेका १२ सय संगठित कार्यकर्ता समाजावदीमा भित्राएको दाबी सो पार्टीले गरेको छ। एमालेले मुख्यगरी माओवादीका कार्यकर्ता भित्र्याउन बढी जोड दिएको छ।
यो क्षेत्र एमालेले जित्दै आएको चुनावी क्षेत्र हो। ०५६ यता ०६४ मा बाहेक गोकर्ण विष्ट उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। यहाँ एमालेको बलियो संगठन छ।
तर, यसपटकको चुनावको आयाम भने अलि फरक छ। मंसिर ४ को चुनावमा विष्टसँग एकीकृत समाजवादीकी झाँक्रीले स्पर्धा गर्दैछिन्। जो केही समय अघिसम्म एमालेमै थिइन्। उनलाई कांग्रेस, माओवादी सहितको गठबन्धनको साथ छ। एक्लै लड्दा एमाले बलियो रहे पनि गठबन्धनका कारण प्रतिस्पर्धा कडा देखिएको छ।
एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले गोकर्ण विष्ट जनताको सेवक भएकाले निर्वाचनमा कुनै अप्ठेरो नभएको बताए। एमालेले गुल्मी २ का लागि गरेका थुप्रै विकास निर्माणका काम नै जित्ने आधार भएको उनले बताए।
तर, एमाले छाडेका शेषकान्त गौतम भने झाँक्री सक्षम नेता भएको बताए।
‘झाँक्री कसैको छोरी, श्रीमती, बुहारी भएका कारणले नेता भएको होइन,’ गौतम भन्छन्, ‘गाउँमा पढे/हुर्केकी झांँक्रीलाई जिताएर पठाउनु सचेत मान्छेको दायित्व हो।’
गोकर्ण विष्टले जनतालाई भ्रमित पारेर चुनाव जितिरहेको उनको आरोप छ।
‘मेरा एक साथी थिए। गुल्मेली जनतालाई निरीह ठानेर, भ्रममा पारेर, २५ वर्ष सुविधाभोगी भएर बसे,’ गौतमले बिहीबार एक कार्यक्रममा भने, ‘साथी मन्त्री भए, अयोग्य भएर हटाइए। एक समय एमालेको काम छैन भन्दै हिँडे अहिले त्यही पार्टीबाट उम्मेदवार भएर आएका छन्।’
विष्ट विगतका काम देखाउँदै, झाँक्री असन्तुष्ट मत बटुल्दै
विष्ट र झाँक्री वडावडामा पुगिरहेका छन्। दुवैले सामाजिक सञ्जालमा आक्रामक प्रचार गरिरहेका छन्। विष्टले आफूले ल्याएको बजेट, पूर्वधार निर्माण, आदिको प्रचार गर्दैछन्।
झाँक्रीले गोकर्ण विष्टले ३ वटा निर्वाचन जित्दा पनि गुल्मीमा कुनै ठुलो काम गर्न नसकेको आरोप लगाएकी छन्। विष्टकै कारण गुल्मी २ पछि परेको झाँक्री पक्षबाट प्रचार भइरहेको छ।
गोकर्ण विष्टले आफ्नो प्रचारमा विकास निर्माण कार्य र मतदाताका सुखदुःखमा जोडिएको भन्दै भोट माग्ने गरेका छन्। विष्ट कात्तिक २३ गते झाँक्रीको गृहपालिका मदाने पुगेका थिए।
‘विष्टले पहिला आफूले गुल्मी २ को विकासको लागि थुप्रै आयोजना बजेटमा पारेको र नयाँ आयोजना ल्याउने आश्वासन दिए,’ कार्यक्रममा सहभागी गोकर्ण परियारले भने, ‘वृद्ध भत्ता बढाउने, एमालेको घोषणा पत्रमा उल्लेख भएका कुरा पुरा गर्ने र कसैलाई अप्ठेरो पर्दा सहयोग गर्ने भन्दै मत मागे।’
एमाले उम्मेदवार विष्टले चुनावी सभामा सामाजिक सुरक्षा भत्ताको विषयलाई प्राथमिकता दिने गरेका छन्।
‘वृद्ध भत्ता एमालेले सुरु गर्यो, अपांग–अशक्त भत्ता हामीले सुरु गर्यौँ,’ विष्ट भन्छन्, ‘गाउँका बुबाआमाले वर्षको ४८ हजार रुपैयाँ पाउनु हुन्छ। हामीले बजेटबाट ५ हजार वृद्ध भत्ता पुर्याउने तयारी गरेका थियौँ, सरकारबाट बाहिरिनु पर्यो।’
विष्टले रोजगारी दिने बताएका छन्।
‘हामीले बाटो बनाएका छौँ, बिजुली पुर्याएका छौँ, स्वास्थ्य चौकी बनाएका छौँ,’ मतदाता फकाउँदै विष्ट भन्छन्, ‘तर पैसा नहुँदा गाडी चढ्न नसके, बिजुलीको पैसा तिर्न नसके पूर्वधार बनाएको कुनै अर्थ हुँदैन। अब सबैले कमाउन सक्नेगरी एमालेले योजना ल्याउँछ।’
गुल्मीका उम्मेदवारले रोजगारी, अध्ययन, व्यवसाय गर्न सहरमा रहेका मतदाता भेट्न बुटवल, काठमाडौँमा समेत भेटघाट गरेका छन्। कात्तिक १९ गते रामकुमारी झाँक्रीले काठमाडौँमा आफ्ना क्षेत्रका मतदातासँग भेटघाट गरेकी थिइन्। त्यसअघि एमालेका विष्टले कीर्तिपुर, वनस्थली लगायतका ठाउँमा आफ्ना समर्थक भेलागरी भेटघाट गरेका थिए।
रामकुमारी झाँक्रीले दुई वटा प्रवृत्तिको लडाइँ भैरहेको बताइन्। काठमाडौंमा आफ्ना क्षेत्रका समर्थकसँग छलफलमा उनले अग्रमनको गठबन्धन प्रतिगमनविरुद्ध लडिरहेको बताइन्।
झाँक्री एमाले र विष्टप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएकी छन्।
‘गुल्मीमा ३० वर्षमा प्रतिस्पर्धा गर्नै नसक्नेगरी समाज भष्ट्रीकरण भएको छ। दबाब र प्रभावको राजनीतिले ग्रास रुट डेमोक्रेसीलाई नराम्रो असर पारिरहेको छ,’ झाँक्री भन्छिन्, ‘अग्रमन र प्रतिगमनको साँचो जनमत संग्रह हो यो चुनाव। जसमा अग्रमन पक्षधरले जित्नुपर्छ।’
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम महतले विष्टले ३० वर्षमा कुनै पनि राम्रो काम नगरेको भएकाले झाँक्रीले निर्वाचन जित्ने दाबी गरे।
‘हामी गाउँगाउँमा ५ वर्षमा गर्न सकिने स्पष्ट योजनाका साथ गएका छौं। अब युवालाई गाउँमै रोजगारी दिन सक्ने योजना बनाएका छौँ,’ अध्यक्ष महतले भने, ‘छोटो समय झाँक्री मन्त्री हुँदा रणनीतिक महत्वका काम भएका छन्। गुल्मी २ लाई समृद्ध बनाउने रणनीतिक सडक, पूर्वधारमा जोड दिने मतदातासँग बताउँदै आएका छौँ।’
एमाले जिल्ला अध्यक्ष काउछाले भने गुल्मी २ को सबै विकास विष्टले नै गरेको दाबी गरे।
‘विष्टबाहेक अरु पनि सांसद, मन्त्री भएका थिए। तर गुल्मी २ को लागि के गरे त?’ उनले भने, ‘गुल्मी २ को थप विकासका लागि विष्टले जित्नै पर्छ, जिताउँछौं।’
विष्टलाई विरासतको भर, झाँक्रीलाई गठबन्धन
गत स्थानीय तहको निर्वाचनमा गुल्मी २ मा एमाले सबैभन्दा बलियो देखिन्छ। वडागत मतको हिसाबले एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको थियो।
२ वटा पालिका अध्यक्ष जितेको माओवादीको वडामा भने १८४१ मत मात्रै छ। एकीकृत समाजवादीको २ नम्बर क्षेत्रभरिको मत ६५८ छ भने राप्रपाका् १०१।
एमाले उम्मेदवार विष्टले झाँक्रीका पार्टीको मत ६५८ मात्रै रहेकाले आफुले २५ हजार अन्तरले जित्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्। गोकर्ण विष्टले रामकुमारी झाँक्रीलाई टुरिष्ट उम्मेदवार भएको आरोप लगाउने गरेका छन्। विगतका निर्वाचनमा एमालेका उम्मेदारसँगै प्रचारमा गए पनि स्थानीयमाझ उनी नभिजेको आरोप छ।
सहरी विकासमन्त्रीबाट हटेसँगै प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा उनी आफ्नो क्षेत्रको गाउँगाउँ पुगेकी थिइन्।
एकीकृत समाजवादीले भने स्थानीय तहमा गठबन्धन हुँदा सबै वडामा आफ्ना उम्मेदवार नहुँदा मत कम देखिए पनि झाँक्रीले राम्रै मत ल्याएर विजय हुने दाबी गरेको छ।
‘एमाले उम्मेदवारले पेस गरेको तथ्यांक अहिलेको निर्वाचनमा मेल खाँदैन,’ जिल्ला अध्यक्ष महतले भने, ‘कांग्रेस, माओवादी, जनमोर्चाको मतले समाजवादीले सहजै जित निकाल्छ।’
उनले गठबन्धनको उम्मेदवार जिताउन कांग्रेस र माओवादी सक्रियरुपमा लागेकाले १० हजार मत अन्तरले जित्ने दाबी गरे।
‘अग्रगमन र प्रतिगमनमध्ये अग्रमगनले जित्ने, गठबन्धन दलहरुको मत, झाँक्री सरकारमा हुँदा छोटो समयमा गरेको विकास र एमालेसँगको असन्तुष्ट मतले हामी जित्छौँ,’ महतले विश्लेषण सुनाए।
विष्ट भने कांग्रेस र माओवादीले आफूलाई मत दिने बताउँछन्।
कांग्रेसको गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले गुल्मीका दुवै क्षेत्र गठबन्धनले जित्ने बताए।
‘गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसको राम्रो संगठन छ। माओवादी, समाजवादी र जनमोर्चाको पनि मत जोडिँदा उत्साहपूर्ण नतिजा आउँछ,’ पन्थीले भने, ‘गुल्मी २ मा कांग्रेसकै उम्मेदवार नभए पनि गठबन्धनको भावनाले हामी पूर्ण रुपमा लागेका छौँ।’
उनले गुल्मी २ मा विगतमा कांग्रेसले नजिते पनि संगठन बलियो हुँदा गठबन्धनको उम्मेदवार झाँक्रीलाई सहज हुने सुनाए।
‘२ मा हाम्रो बलियो संगठन छ। माओवादीको मत राम्रै छ,’ उनले भने, ‘गठबन्धनको उम्मेदवार गाउँगाउँमा पुग्नु भएको छ। झाँक्री बलियो उम्मेदवार हुँदा परिणम निकाल्न सहज हुन्छ।’
लगातार जित्दै आएको एमालेसँगै थुप्रै मतदाता रुष्ट छन्। उनीहरुले एमालेलाई गुल्मीको सत्ताबाट हटाउनु पर्ने उल्लेख गर्दै आएका छन्।
‘गोकर्ण विष्टलाई जसरी पनि हराउनु पर्छ भन्दै माओवादी र कांग्रेसको नेतृत्व खटिएको छ,’ समाजवादीका अर्का एक नेताले भने, ‘विष्टलाई हराउनु पर्छ भन्ने मनोविज्ञानको कारण गठबन्धनको भोट झाँक्रीलाई जाने सम्भावना छ। अहिले विष्टलाई हराउन नसके कहिल्यै सकिन्न भन्ने मत बढ्दो छ।’
एमाले जिताउने अभियानमा लागेका एक नेताले कडा प्रतिस्पर्धा हुने देखिए पनि विष्टले जित्ने दाबी गरेका छन्।
‘विष्टले गुल्मीको विकासमा आफूले सकेको गरेकै छन्। कसैलाई अप्ठेरो पर्दा व्यक्तिगत सहयोग पनि गर्छन्,’ उनले भने, ‘मतदातासँग नजिकको सम्बन्ध भएका कारण नै विष्ट जित्छन्।’
अध्यक्ष काउछाले गठबन्धनको उदेश्य एमाले हराउनुबाहेक केही नभएको र आफूहरुको उदेश्य कसैलाई हराउनेभन्दा विकास र समृद्धि हासिल गर्ने भएकाले एमालले जित्ने बताए।
गुल्मी २ मा यी दुईका अलावा राप्रपाबाट युवराज घिमिरे (हलो) र हाम्रो नेपाली पार्टी (लौरो)बाट रामलाल पाण्डे पनि उम्मेदवार छन्।
Shares
प्रतिक्रिया