नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन्।
उनले आइतवार थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्वासी बस्ती हटाउन अमानविय रुपमा जबरजस्ती गर्नु नहुने बताए।
सिंहले सरकारले सुकुम्वासीहरुको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै त्यसको आयोगको प्रतिवेदन आएपछि बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको पनि बताए।
नेता सिंहले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए।
उनले अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्वासीहरु दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए।
‘यसअगाडि पनि मैले भनेको छु, अमानवीय रुपमा हामी कसैले पनि सत्तामा छु भनेर जबरजस्ती गर्न मिल्दैन। भूमि आयोगको प्रतिवेदन आइसकेपछि भूमिहीनहरुलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ, त्यो कार्यक्रम लागू गराउन लाग्नेछु’, उनले भने, ‘तपाईहरुलाई थाहा छ, योभन्दा अगाडि पनि यहाँ डोजरहरु नल्याएको होइन। कहिले बागमती सर्वाधिकार सम्पन्नले ल्याउँछ, कहिले कसले ल्याउँछ। तर बसोवास उठाउने काममा कि सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुपर्यो । होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने त्यस्तो गर्न मिल्दैन।’
उनले समस्याको स्थायी समाधानका लागि नीति, कार्यक्रम बनाउनुपर्छ भन्नेमा जोड दिइरहेको बताए।
नेता सिंहले सुकुम्बासी बस्तीमै मंसिर ४ गतेको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने पनि बताए।
Shares
प्रतिक्रिया