ad ad

राजनीति


‘प्रचण्ड प्रधानमन्त्री भए चीनमा सीसँग विकास सहकार्य’

‘प्रचण्ड प्रधानमन्त्री भए चीनमा सीसँग विकास सहकार्य’

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १७:४२, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) को २० औँ महाधिवेशनबाट वर्तमान राष्ट्रपति सी चिनफिङ नै तेस्रो कार्यकालका लागि पुनः महासचिवमा चयन भएसँगै नेपालमा त्यसको कस्तो प्रभाव होला भन्ने बारेमा बहस हुन थालेको छ। नेपाललाई बुझेका विज्ञहरुले सीको नेतृत्वले निरन्तरता पाउनु नेपालका लागि अवसर भए पनि नेपालको सरकार पनि चीनसँग सहकार्य गर्न तयार रहेमा मात्र चीनको प्रगतिबाट नेपालले लाभ लिनसक्ने विश्लेषण गरेका हुन्। 

सीपीसीको महाधिवेशनबाट नेतृत्वमा चयन भएका नेताहरुमा राष्ट्रपति सी र विदेशमन्त्री वाङ यी मात्र नेपाल बुझेका नेताहरु भएको उनीहरुको भनाइ छ। 

नेपालसम्बन्धी जानकार राष्ट्रपति सीको तेस्रो कार्यकालमा नेपालका कम्युनिस्ट पार्टीहरु र सीपीसीबीचमा भाइचारा सम्बन्ध अझ बाक्लो हुनसक्ने बुझाइ नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीको छ।

कार्कीले चीन र भारतजस्ता छिमेकी मुलुकहरुमा नेपाल बुझेका नेताहरु आउँदा नेपालको विकासमा साझेदारी हुने उल्लेख गर्दै भने‐ ‘नेपाल आफैँले के सहयोग लिने र कसरी लिने भन्नेमा स्पष्ट हुनुपर्ने हुनुपर्दछ। सी नेपाल आउँदा कसैले रेल त कसैले जलविद्युत परियोजना माग्ने काम भयो। नेपालको प्राथमिकता के हो भन्ने नै स्पष्ट थिएन।’

यता चीनका लागि नेपाली पूर्व राजदूत टंक कार्कीको भने अलि फरक बुझाइ छ। कार्की भन्छन‐ ‘सीले सन् २०१९ अक्टोबरमा नेपाल भ्रमण गर्दा नेपालको समस्याहरु र विकासका प्राथमिकताका बारेमा ब्रिफिङ गरिएकोले उनी नेपालसम्बन्धी जानकार छन्, त्यसैले नेपालको विकासमा सीले थप साझेदारी हुने गरी बीआरआई परियोजनाहरुमा सहकार्य गर्न चाहन्छन्।’

उनी नेपालभित्रै समस्या रहेको जनाउँदै थप्छन, ‘त्यसैले सीको तेस्रो कार्यकालमा हामी नेपालीले चीन भनेर पश्चिमा जसरी तर्सिन जरुरी छैन। सहयोग लिन हामी तर्सिएर कतिपय योजनाहरु बन्न ढिलाइ भएका पनि छन्। यो चीनको भन्दा पनि हामीभित्रकै समस्या हो।’ 

चीनकै लागि अर्का नेपाली पूर्वराजदूत लीलमणि पौडेलले भने सीको निरन्तरता नेपालका लागि अवसर भएको ठहर गरेका छन्। उनी भन्छन्, ‘सन् २०१३ मा राष्ट्रपति निर्वाचित भएयता उहाँको नेपालका सबैजसो समकालीन शीर्ष नेतासँग भेटवार्ता भएका छन्। झण्डै आधादर्जन पटक उहाँ आफैँ नैपालका उच्च नेताहरुसँग वार्तामा सहभागी हुनुभएको छ। सीका दुई कार्यकालमा नेपाल र चीनबीच थुप्रै सन्धि, सम्झौता र समझदारी भएका छन। पछिल्लो दशकमा नेपालसँग यति धेरै घुलमिल हुने चीनका उच्चस्तरीय नेता उहाँ नै हो।’

सीबाहेक अरु कुनै नेतृत्व चयन भएको भए नेपाल बुझ्न अलि समय लाग्ने भएकोले सीको निरन्तरता नेपालको लागि अवसर भएको पौडेलले तर्क गरे। 

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक खड्ग केसी भने सीको तेस्रो कार्यकालमा चीन नेपालमा अहिलेसम्म देखिएभन्दा बढी संलग्न र सक्रिय हुन सक्ने आकलन गर्दछन्।

भन्छन्‐ ‘चीन नेपालमा जति आक्रमक रुपमा आउँछ, त्यति नै अरु विश्व शक्ति अर्थात् अमेरिका र भारत पनि सक्रिय हुने भएकोले नेपाल भूराजनीतिको रणभूमि बन्न सक्ने भएकोले नेपालले धेरै सुझबुझपूर्ण र सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्दछ।’

यता राजनीतिक विश्लेषक झलक सुवेदीको तर्क भने नेपाल सरकारको नेतृत्व कसले गर्दछ भन्नेतिर केन्द्रित छ।

सुवेदी नेपाल बुझेको चिनियाँ नेतृत्तको निरन्तरताले मात्र नेपालले फाइदा लिन नसक्ने तर्क गर्दै थप्छन्‐ ‘नेपालमा पनि त चीनसँग सहकार्य गर्न सक्ने सरकार हुनुपर्दछ नि। गठबन्धनबाट फेरि पनि नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो भने नेपालले चीनको सहयोग खासै लिन सक्दैन। तर नेकपा माओवादी केन्द्रका प्रचण्ड प्रधानमन्त्री भए भने चीनसँगका केही विकाससम्बन्धी परियोजनाहरु अघि बढन सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .