मौन अवधिमा पनि घरदैलमा गएर भोट मागिरहेपछि निर्वाचन आयोगले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका दुई नेतासँग स्पष्टीकरण सोधेको छ।
आयोगले बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका उम्मेदवार एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानसँग स्यष्टीकरण सोधेको हो।
त्यसैगरी आयोगले त्यही क्षेत्र ४ (२)का लागि प्रदेश सभा सदस्यका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई पनि स्पष्टीकरण सोधेको छ ।
निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
दुवै जनलाई एकै व्यहोराको पत्र लेख्दै आयोगले जवाफ दिन भनेको हो।
'तपाईंले निर्वाचन आचारसंहिताविपरीत हुने गरी मौन अवधिमा घरदैलो गरेकोबारे समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेखिएको छ', आयोगले भनेको छ, 'निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा 'निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने' व्यवस्था छ। आचारसंहिताको त्यही दफाको उपदफा (१) को खण्ड (ग) मा 'कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने' व्यवस्था छ।'
आयोगले आचारसंहिता मिचेकोबारे १२ घण्टाभित्र जवाफ मागेको हो। 'तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरीत हुने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही नहुनु पर्ने कारण के छ?', आयोगले भनेको छ, 'पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।'
Shares
प्रतिक्रिया