यसपालिको तीन साता लामो स्थलगत रिपोर्टिङमा मलाई दुई वटा कुराले सोचमग्न बनाएको थियो। पहिलो– रवि लामिछानेको नेतृत्वमा रातारात खडा गरिएको नेपाल स्वतन्त्र पार्टीको चुनावी माहौल र अर्काे– मतदातामा दलहरुप्रतिको घोर निराशा।
स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा निर्वाचित हर्क साम्पाङले ल्याएको अनपेक्षित जनउभारबाट हौसिएका रविलगायतका धेरै मान्छेले यसपालि स्वतन्त्रबाट उम्मेदवारी दिन तँछाडमछाड गरेका थिए। कोही बालेनको लौरो चुनावचिन्ह खोसाखोस गर्न लागेका थिए भने रवि स्वंय चाहिँ ‘स्वतन्त्र’ शब्द नै राखी राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर निर्वाचन आयोगमा दर्ता गराई मैदानमा उत्रिएका थिए।
१७ कात्तिकको सखारै नेपालखबर टिम राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्र २ स्थित बेलचोकमा पुग्दा त्यहाँको वातावरण पुरै रविमय थियो। सबैले निर्धक्क ‘यसपालि घण्टी बजाउने’ उद्घोष गरिरहेका थिए। चोकमा किराना पसल चलाइरहेका नेपाली कांग्रेसका पुराना मतदाता तथा कांग्रेसका सक्रिय सदस्य कृष्णप्रसाद अधिकारी (६९), उनका धर्मपत्नी देउमाया (५९) र दुई जवान छोरीहरु खुलेरै घण्टीको प्रचारप्रसार गरिरहेक थिए।
कृष्णप्रसादलाई पार्टी कारबाहीको रत्तिभर डर थिएन। रविको क्रेज कतिसम्म देखिन्थ्यो भने त्यो चोकमा रविको विरोध गर्ने दलका कार्यकर्ताहरुलाई रविका समर्थक युवाहरुले लखेटिसकेका थिए।
रवि नेतृत्वको स्वतन्त्र पार्टी र उनको चुनावचिह्न घण्टीको क्रेज चितवनमा मात्र सीमित थिएन। चुनावी रिपोर्टिङका निम्ति भैरहवादेखि चितवनबाट हेटौँडा हुँदै मधेश प्रदेश छिचोल्दै प्रदेश नम्बर एकका निर्वाचन क्षेत्रहरु चहार्दा घण्टीको लहर आश्चर्यचकित पार्ने खालको देखिन्थ्यो। स्वतन्त्र पार्टीका तर्फबाट चुनावी मैदानमा मतदाताहरुले कहिल्यै नाम नसुनेका उम्मेदवारहरु थिए तर मतदाताहरु ‘यसपालि एउटा भोट घण्टीलाई दिने हो’ भन्दै बसिरहेका थिए। निर्धक्क यस्तो विचार प्रकट गर्नेमा महिला र युवाहरुको संख्या ठूलो थियो। गाउँभन्दा सहरी क्षेत्रमा यो लहर निकै देखिन्थ्यो।
वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको स्थलगत रिपोर्टिङको क्रममा पोखरा–भैरहवा–कपिलवस्तु–नवलपरासी–चितवन हुँदै काठमाडौँ आइपुग्दा मान्छेहरु आफ्ना उम्मेदवारलाई जिताउन सक्रियताका साथ लागेकाले त्यतिबेला मतदाताहरुमा एक खालको चहलपहल देखिन्थ्यो। तर यसपालि मतदाताहरुमा त्यस्तो सक्रियता देखिँदैनथ्यो। चोकचोक र चिया पसलमा बसेर गफ लडाउनेहरु पनि प्रमुख दल र शीर्ष नेताहरुका कारण देश बर्बाद भयो भन्दै सत्तोसराप गरिरहेको भेटिन्थे।
बरु धेरैको मुखमा काठमाडौँमा बालेन र धरानमा हर्कले स्वतन्त्रबाट जितेर पनि पहिलो कार्यकालमै देखिनेगरी काम गरे भन्दै प्रशंसा गरिरहेका हुन्थे। धेरै मान्छेहरु मौन थिए। बोले पनि ती निराशाका कुरा बढी निकाल्थे। यस्तो माहौल दलहरुका निम्ति पनि चिन्ताजनक थियो। झापा पुग्दा थाहा भयो, एमालेजस्तो वडास्तरसम्म संगठित चुस्त संगठनलाई समेत मतदाताको मनोविज्ञान बुझी आफ्नो अवस्थाको आकलन गर्न मतदाताको यस्तो मौनताले चिन्तित तुल्याएको रहेछ।
‘अरुबेला मतदाता र्याली र सभाहरुमा हिँडेका आधारमा माहौल पत्ता लाग्थ्यो तर यसपालि कोही निस्किएका छैनन्। सब चुप्प छन्,’ एमालेका एकजना चुनावी कमान्डर भन्दै थिए– ‘त्यसैले यसपालि कति सिटमा जितिन्छ भन्ने अवस्था नै रहेन।’
मतदाताको मुड
हामीले कुराकानी गरेका धेरैको भनाइमा यसपालिको निर्वाचनमा मतदाताहरुमा मतदान गर्ने उत्साह जागेको देखिएन। निर्वाचन आयोगले गरेको ‘७० प्रतिशत मतदान हुने’ प्रक्षेपण पुरा भएन। ०७० सालको निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो भने ७४ मा घटेर त्यो ६८.६७ प्रतिशतमा आइपुग्यो। गएको स्थानीय निर्वाचनमा यो अंक ६४ प्रतिशतमा झर्यो।
देशै पुरै ठप्प पारी मतदान गर्दा समेत मतदाताहरुमा निर्वाचनको उत्साह जगाउन नसक्नुमा दलहरुले जनताप्रति लिएको उपेक्षाभावलाई प्रमुख कारण मान्न सकिन्छ। प्रारम्भिक माहौल बुझ्दा यसपालि मतदाताहरुमा दलप्रति बढेको असन्तुष्टि पोख्ने थलो घण्टी हुने संकेत गरेको छ। यो प्रमुख दल र तिनका नेतृत्वका निम्ति शुभसंकेत होइन।
नेपालखबरले मतदान गरी फर्किएका देशभरिबाट छनौट गरिएका केही मतदाताको सामाजिक सञ्जालमा लेखिएका स्टाटस र कतिपयसँग प्रत्यक्ष गरिएका फोनवार्तालाई संश्लेषण गर्दा हामीले स्थलगत रिपोर्टिङका क्रममा महसुस भएको माहौल मतमा रुपान्तरित भएको संकेत देखिन्छ। हामीले देशका प्रमुख सहरमा खटिएका सञ्चारकर्मी र दलका स्थानीय नेताहरुसँग पनि कुराकानी गरेका थियौँ। उनीहरुका भनाइमा यसपालि रविको दलले समानुपातिकबाट अनपेक्षित परिणाम ल्याउने सम्भावना छ।
प्रत्यक्षमा आफ्नो आस्थाका दललाई मतदान गरे पनि समानुपातिकमा घण्टीमा मत गएकोले यसपालि ०६४ सालको निर्वाचनमा धेरैलाई स्तब्ध पार्नेगरी माओवादीले ल्याएझैँ अनपेक्षित परिणाम आउने सम्भावना बढेको दलका नेताहरुमाझ कानेखुसी विश्लेषण हुन थालेको छ।
मतदानको समयमा मतदाताको रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिकसहित १० बढी सिट ल्याएर चौथो राष्ट्रिय दल बन्यो भने आश्चर्य हुने छैन।
आफू बच्चा हुँदादेखि अहिलेसम्म लगातार एउटै दल र उम्मेदवारलाई मतदान गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गर्ने जमात सानो छैन। मतदान गरेर निस्किएका मतदाताहरुको मुड पढ्दा असन्तुष्टि बोकेको यत्रो ठूलो वर्गलाई रवि लगायतका स्वतन्त्र उम्मेदवारहरुले आकर्षित गर्न सफल भएको जस्तो देखिन्छ।
यदि भोलि मतगणना गर्दा साँच्चिकै रुझान बमोजिम घण्टीमा मतदान खसेको देखिए अहिलेको राजनीतिक समीकरण बक्ररेखामा प्रवेश गर्ने निश्चित छ।
Shares
प्रतिक्रिया