नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि बहुमत जुटाउने खेलले देश झन् अस्थिरतामा जाने जोखिम बढेको बताएका छन्।
झापा क्षेत्र नम्बर ५ मा भारी मतसहित विजयी भएपछि बधाई ग्रहण गर्न बिहीबार गृहजिल्ला पुगेका उनले यस्तो बताएका हुन्।
उनको यो चिन्ता यो निर्वाचनबाट कुनै पनि दलले बहुमत ल्याउन नसकेको तर्फ थियो।
'अब फेरि बहुमतका नाममा सांसदहरु को भाउ बढ्ने भयो। देशलाई कुन बाटोबाट कसरी लाने, कस्तो बनाउने भन्ने गम्भीर भएर सोच्न जरुरी छ', उनले भने, 'यो आवधिक निर्वाचनलाई रमाइलोका रुपमा नलिइ अघि बढ्नुपर्छ। हाम्रो एउटा मतले देशको भविष्य निर्धारण गर्छ भन्ने हो। तर मतदानको परिणामले त्यो गम्भीरता नभएको हो कि देखिएको छ। जनताको मनोभावना र जनताको समस्या सम्बोधन गर्न नसकेको हो कि भन्ने लागेको छ।'
ओलीले यस चुनावको असर पाँच वर्ष मात्रै होइन लामो समय जाने बताए। 'स्वभाविक रुपमा कुनै पनि पार्टीको बहुमतको सरकार नबन्ने भयो। मिलिजुली सरकारको कुरा हुने भयो। सरकार बनाउन अब लेनदेन र भागवण्डा हुने भयो', उनले भने, 'कसरी बहु्मत पुर्याउने भन्दा हरेक सांसदले आफ्नो भाउ बढाउँछन्। बजारमा आपूर्ति कम र माग बढी छ भने मूल्य त बढ्ने भयो। भवितव्यले संसदमा पुगेकाको पनि आफ्नो मूल्य राम्रै राख्ने भयो।'
उनले सरकार बनाएको एक महिनामा बहुमत जुटाउन नसके फेरि अर्को खेल हुने बताए। ' प्रमुख पार्टीले बहमुत पुर्याएन भने फेरि अर्को सरकारको खेल होला। सरकार बनाउनै गाह्रो बनाएपछि टिकाउनै गाह्रो हुने अवस्था आउने भयो', उनले भने, 'देश फेरि अस्थिरतातर्फ जाने खतरा यो परिणामले देखाएको छ।'
Shares
प्रतिक्रिया