२०५१ सालमा पहिलोपटक पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद भएका विष्णु पौडेल २०५६ सालको संसदीय चुनाव लड्न बुटवल झरेका थिए। तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए।
२०६४ सालको संविधानसभाको चुनावमा भने उनी बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालिन रुपन्देही ४ बाट विजयी भए। त्यसयता उनी निरन्तर सांसद छन्।
पहिलो संविधान सभामा उनले तत्कालिन नेकपा माओवादीका भक्ती पाण्डेलाई सामान्य मतान्तरले पराजित गरेका थिए । कांग्रेसका सूर्यप्रसाद प्रधान तेस्रो भए।
२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा विष्णुसँग चुनाव लड्न प्रधानमन्त्री समेत भइसकेका माओवादी नेता बाबुराम भट्राई आएका थिए। भट्राई गोरखा र रुपन्देही २ ठाउँबाट उम्मेद्वार बनेका थिए।
उक्त चुनावमा भटराईलाई तेस्रो स्थानमा धकेल्दै कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेपछि पौडेलको शाख चुलिएको थियो।
त्यसयता एमालेले बुटवललाई आफ्नो बलियो प्रभावक्षेत्र अर्थात गढ मान्न थालेको थियो। २०७४ सालको चुनावमा बामगठबन्धन हुँदा पौडेलले कांग्रेसका युवराज गिरीलाई २२ हजार बढिको फराकिलो मतान्तरले पराजित गरेका थिए।
यो ५ वर्षको बीचमा बुटवलमा एमाले र विष्णु पौडेलको प्रभाव कम्जोर हुँदै गएको थियो। त्यसको संकेत गत स्थानीय चुनावमासमेत देखियो। एमालेको गढ ठानिएको बुटवलको मेयरमा साढे ७ हजार मतान्तरसहित कांग्रेसका खेलराज पाण्डे विजयी भएका थिए। अधिकांस वडा कांग्रेसले जितेको थियो।
विशेष गरेर प्रदेशको स्थायी राजधानी दाङ तोकिँदा रोक्न नसकेको भन्दै एमाले नेता तथा सांसदहरुप्रति स्थानीय रुष्ठ थिए। त्यस्तै बालुवाटार जग्गा काण्डको चर्चा पनि पौडेल विरुद्धको चुनावी मसला बनेको थियो।
स्थानीय तहको नतिजाले विष्णु पौडेललाई बुटवलमा चुनाव जित्न कठिन ठानिएको थियो।
तर उम्मेद्वारी मनोनयन दर्तापछि भएको घट्नाक्रमले उनको पक्षमा सहज माहोल देखियो। ५ दलीय गठबन्धनको तर्फबाट पौडेलसँग चुनाव लड्न एकिकृत समाजवादीका राजु गुरुङ अघि सरे।
उनले गठबन्धन दलसँगै एमालेको पनि मत तान्ने दाबी गरेका थिए। तर बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै गुरुङको उम्मेद्वारी नै खारेज भयो।
यस्तै युवा र नयाँ पुस्ताका मतदातालाई आकर्षित गरेका डा. कमल भुसाल निकोलशको चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट लाभ लिएको भन्दै उम्मेद्वारी कायम भएन। गुरुङ र भुसालको उम्मेद्वारी खारेज भएपछि रुपन्देही क्षेत्र नम्बर २ मा एमालेले विष्णु पौडेलको जित सहज देखेको थियो।
गुरुङको उम्मेद्वारी खारेजीमा परेपछि कांग्रेस र माओवादी केन्द्रसहितको ५ दलिय गठबन्धनले राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेद्वार केशवबहादुर थापा मगरलाई समथर्न गर्यो।
तर उनलाई कम्जोर उम्मेद्वार ठानिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेलको केही साता अघिसम्म चर्चा कम थियो। बुटवलमा पौडेलको जित सहज भएको विश्लेषण भएपनि यहाँबाट चौथोपटक सांसद चुनिन भने निकै कठिन भयो।
मतदान भन्दा केही दिनअघि बुटवलमा स्वतन्त्र पार्टीका उम्मेद्वार गणेशको पक्षमा माहोल बढ्यो। मतदानको दिन भएका चर्चा परिचर्चाले पनि विष्णु पौडेल जोखिममा रहेको विश्लेषण गरिएको थियो।
मंसिर ६ गते मतगणना सुरु हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिन थाले। उनको अग्रता केही समयसम्म जारी रहयो। यसले एमालेलाई पनि झस्काएको थियो। गणना अघि बढ्दै गर्दा विष्णु झिनो मतले अघि देखिए। मतगणना नसकिदासम्म पनि पौडेलले जित्नेमा एमाले ढुक्क हुन सकेको थिएन।
शुक्रबार विहान मुचुल्का गरिएको संख्या भन्दा बढि बाक्सामा मत भेटिएको भन्दै गठबन्धन र स्वतन्त्र पार्टीका प्रतिनिधिले गणना बहिस्कार गरेर विरोध जनाए।
निर्वाचन अधिकृतको कार्यालय अघि उनीहरुले नाराबाजी पनि गरे । दिनभर गणना रोकिएको भएपनि निर्वाचन आयोगको निर्देशनपछि साँझबाट मतगणना अघि बढेको थियो। बेलुका पौडेलको पक्षमा अन्तिम नतिजा सार्वजनिक भयो।
यो पटकको चुनावमा एमालेका कतिपय केन्द्रीय पदाधिकारीहरु पराजित भए। तर रुपन्देही क्षेत्र नम्बर २ मा विष्णु पौडेलले कठिन तरिकाले भएपनि जित निकालेका छन्।
अन्तिम मत परिणामअनुसार पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत पाएका छन्।
Shares
प्रतिक्रिया