नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले नेपाली कांग्रेसको एउटा समूहका कारण मंसिर ४ को निर्वाचनमा आफूहरुले धक्का व्यहोर्नुपरेको बताएका छन्।
सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 'माथिबाट केही न केही निर्देशन गयो। शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ। अहिले ठ्याक्कै प्रमाण त छैन। तर घटनाहरुले त्यस्तो देखाउँछ', उनले भने, 'कांग्रेसको संस्थापन पक्षले मूलतः इमान्दारीसाथ भोट हाल्ने कोशिस गरेको देखिन्छ। तर समस्या के रहेछ भने कांग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन। मासबेस पार्टी हो। मासमा जाँदा मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो। तर कांग्रेसको एउटा पक्षले माओवादीलाई जानीबुझी भोट नहाल, बरु अरुअरुसँग हातेमालो गर भन्नेतर्फ गएको भन्ने घटनाले त्यस्तो देखाउँछ।'
उनले यो अवस्थामा वाम गठबन्धन भएर कम्युनिष्ठहरुको सरकार बन्छ वा अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ? भन्ने प्रश्न पनि यतिबेला आम जनमानसमा रहेको बताए। आचार्यले कांग्रेसको शेखर–गगन समूहले माओवादीलाई भोट नहाल्न तलसम्म नै निर्देशन दिएका कारण पनि आफ्नो पार्टी प्रत्यक्षमा खुम्चिएको दोहोर्याए।
'माओवादीले प्रत्यक्षमा नै ४० सिटमाथि जित्ने आँकलन गरिएको हो', उनले भने, 'तर पनि त्यसो भएन। नयाँ पार्टीहरुले पाएको जनमत बहकिने खालको छ। उत्तेजनामा मतदान गर्ने कुरा स्वभाविक हुन सक्दैन।'
उनले माओवादीमा पनि अलग अलग गुट भएकाले समस्या भएको बताए। उनले मधेश र सुदूरपश्चिममा आफ्नै र कांग्रेसका कारण पनि हार भएको बताए।
'माओवादीलाई भोट नहाल भन्ने कांग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम गर्यो भन्ने देखिन्छ। सबैभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेस हो। गरिब र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेस हो। त्यसो हुँदा सबभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेस हो। तर त्यहाँ आपसी मनमुटाव एकातिर। अर्कोतिर कांग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभावले त्यहाँको अवस्था कमजोर भएको हो', उनले भने, 'सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष त्यहाँ सरकार सञ्चालन गर्दा कति राम्रो कति नराम्रो गर्यो मसिनो गरी मैले बुझेको छैन। तर जनअपेक्षाअनुसार त्यहाँ काम हुन सकेन। परम्परागत नियमअनुसार त काम भयो। केही कामहरु हामीले शुरुवात गरिदिनुपर्थ्यो। त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको होला।'
Shares
प्रतिक्रिया