अमेरिकी पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सह-निर्देशक स्कट बिइल मंगलबार नेपाल भ्रमणमा आएका छन्।
उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका छन्। त्यसक्रममा सह-निर्देशक बिइलले सन् २०२३ सुरु भएलगत्तै पिसकोरका स्वयम्सेवक नेपाल आउने सचिव पौड्याललाई जानकारी दिए। कोरोना महामारीपछि अमेरिकी पिस कोर स्वयंसेवक नेपाल आउन पाएका छैनन्।
दुई दिन यहाँ सह–निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्ने नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ।
‘कोभिड–१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुताका फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ। कोरोना महामारी अघिसम्म नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।
पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो काम थालेको थियो। त्यसयता झन्डै ४ हजार पिसकोर स्वयंसेवक नेपाल आइसकेका छन्।
पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल रहेको दूतावासले जनाएको छ।
विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दै आएको दूतावासले जनाएको छ।
‘पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर–सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ’ अमेरिकी दूतावासले भनेको छ।
अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले सन् १९६१ मा पिस कोरको स्थापना गरेका थिए। त्यसयता २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा काम गरिसकेको दूतावासले जनाएको छ।
Shares
प्रतिक्रिया